हामी किन डाहा गर्छौँ ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

हामी किन डाहा गर्छौँ ?



-दीपक घिमिरे

शीर्षक अलि कडा दिएपछि नेपाली परिवेशको डाहा संस्कारलाई कथा जस्तो बनाउन मन लाग्यो।शीर्षक मात्र पढ्नेहरुले मलाई ज्यादै तुच्छ भाषामा गाली पनि गर्न सक्छन भन्ने डरले पहिला अलिकति उदाहरण मिसाउँछु । नत्र “डाहा गर्ने तै होलास्, हामी हैनौ” भनेर पन्छिने युवा जमात ठुलै छ ।

रुकुमबाट बिस वर्ष अघि दाङ झरेपछि दाङमा युवा व्यबसायी बनेर चिनिएको एउटा नाम हो रूपक थापा।

सुरुवाती चरणमा निक्कै परिश्रम गरेर सफलता चुमेका रूपकको प्रगति देखेर धेरैले डाहा गर्थे।म सँग धेरैले भन्थे “रुकुमेली भएर कहाँ पुगिसक्यो, हामी चैँ अझै उस्तै!, हैन कसरी कमाउँछ यार त्यस्ले? चल्ला काटेर पनि करोडपति भयो यार त्यो!“

यस्तै यस्तै डाहाले भरिएका टिप्पणी रूपक दाइको जीवनसँग गाँसेर सुनाईन्थे।
मेहनत र काम प्रतिको लगनशीलतालाई नहेरी ठाउँको आधारमा डाहा गर्ने समाज दाङमा मात्र होइन, नेपालै भरी व्याप्त छ।पाल्पा र अर्घाखाँचीबाट आएर बुटवल कब्जा गरे, प्युठानबाट आएर देउखुरी कब्जा गरे भन्ने मानसिकता बोकेका मानिस समाजमा व्याप्त छन्।

आफ्नो थातथलो छाडेर बसाईसराई गरी प्रगति गर्नेहरूमाथि पुराना बासिन्दाले डाहा गर्ने उदाहरण कुनै नौलो होइन।

फलानाले यस्तो गर्‍यो, फलानाले उस्तो गर्‍यो भन्दै बस्नेहरू कर्ममा विश्वास गर्दैनन्।बरु अरूको प्रगतिमा जलेरै बस्छन्।आफ्नो ठाउँले उसलाई प्रगतिको बाटोमा लगेकोमा गर्व गर्दैनौ, उसका खुट्टा तान्न लालायित हुन्छौ।उसलाई कङ्गाल बनाएर आफ्नै ठाउँ फर्काउन तिर ध्यान केन्द्रित गर्दछौ।

यहाँ अर्को उदाहरण पेस गर्दछु ।

बेग्लै देश, बेग्लै धर्म संस्कृति, बेग्लै महादेश अनि बेग्लै रङका मानिसले अमेरिकामा प्रगति गर्दा अमेरिकाका मूलवासीहरू गर्वले छाती फुलाउँछन् अनि भन्छन् “हाम्रो ठाउँमा आएर यस्तो प्रगति गरेकोमा हामीलाई खुसी लाग्छ।कुनै सहयोग चाहिए भन्नू।“

उनीहरू अरुदेशबाट आउनेहरूको प्रगतिमा डाहा गर्दैनन् र खुट्टा तानेर पछार्ने तिर पनि लाग्दैनन् बरु सहयोग गरेर अझ माथि उठाउन मद्दत गर्दछन्।

हाम्रै दाङबाट करिब चार वर्ष अघि अमेरिका आएका पवन केसी (सन्तोष) निक्कै महँगो गाडी चढछन । एक दिन मैले सोधेँ “तपाईँलाई डर लाग्दैन, यति महँगो गाडी चढ्न?गोरेहरूले डाहा गरेर लुटलान या पिटलान।“

उहाँले हाँस्दै भन्नूभो “डाहा रे ? गर्व गर्छन, हाम्रो ठाउँमा आएर प्रगति गर्दा खुसी छौ भन्छन्।“
बस्दै जाँदा र गोरेहरूसँग सङ्गत हुँदै गर्दा थाहा भयो कि साँच्चै डाहा गर्ने संस्कार हामी दक्षिण एसियाका बासिन्दामा मात्रै सीमित छ होला।भारतीय, बङ्गलादेशी, पाकिस्तानी अनि नेपालीहरूमा डाहाको संस्कार धेरै भएको मैले अनुभव गरें।

दशौँ वर्ष कुखुराको मलमुत्र खेलाएर प्रगति गरेका रूपकलाई गाडी चढेको मात्र देख्ने तर दुख नदेख्नेहरूले कसरी पछार्न सकिन्छ भन्दै सोच पाल्दै बस्छन्।तर आएको अर्को महिनाबाट नेपालमा करोडौँ पर्ने गाडी चढ्ने पवनलाई कसरी पछार्ने होइन, अझ महँगो कसरी चढाउन सकिन्छ भन्ने सोच राख्दछन्।

छिमेकमा प्रगति गर्नेहरूको डाहाबाट सुरु हुने डाहा प्रवृत्ति परदेशसम्म आइपुग्दा व्याप्तै देखिन्छ।

“फलानाले कसरी त्यति महँगो गाडी चढ्छ?“भनुन् या “उसले त यती कमाउँछ रे!“भनुन्, दुवै भनाईमा डाहा भेटिन्छ परदेश तिर।तर “फलानाले यति महँगो गाडी चढ्छ, हामी नेपालीको इज्जत बढाको छ!“ भन्दै खुसी भएका कसैलाई देख्न सकिन्न।

अरूको प्रगतिमा डाहा गर्ने संस्कार भएर नै होला, परदेशमा पनि धेरै मान्छे मिल्न सकेका हुदैनन। सहोदर नाता पर्ने हुन या मित्रताको साइनो होस, एकले अर्काको कुरा तेस्रो व्यक्तिसँग काटेरै समय कटाउँछन्।डाहा गरेर आफ्नैको प्रगतिमा खुट्टा तान्नुको साटो हौसला दिएर अझ नजिक हुन किन खोज्दैनौ हामीहरू?

उ भन्दा अझ माथि पुग्ने लोभले गर्दा नै होला मान्छे कहिले सन्तुष्ट हुन सक्दैन।अरूको डाहा गरेर बस्दैमा माथि पुगिन्छ भन्ने सोच राख्नु गलत भइदिन्छ। डाहाको साटो सल्लाह गरेर अगाडी बढ्न सक्ने हो भने सायद हरेकले प्रगतिको पाइला चाल्ने थिए।

नेपाली समाजमा व्याप्त डाहा प्रवृत्तिले हैरान परेको म यतिबेला परदेशमापनि उस्तै डाहा गर्ने नेपाली, भारतीय अनि पाकिस्तानी देखेर हुक्क परेको छु।तर अरूको प्रगतिमा खुसी हुने पश्चिमा संस्कार देखेर खुसी पनि छु।

जन्मठाउँ छाडेर अर्को जिल्लामा गै व्यबसाय गर्न नेपालमा निक्कै कठिन छ।जसले जतिसुकै ठुला कुरा गरेपनी स्थानीय युवा, राजनीतिज्ञ, ब्याबसायीलाई चारो नहाल्दा सम्म अर्को जिल्लामा गएर सुरक्षित भएर व्यबसाय गर्न सक्दैनन्।दाङमा रुकुमबाट आएको भनेर हेपिने रुकुमेली समाज मैले देखेको छु।तर महादेशनै फरक, जीवनशैली नै फरक भएको ठाउँमा आएर ढुक्क सँग व्यबसाय गरेका हाम्रै नेपाली, भारतीय अनि पाकिस्तानीलाई यहाँ “म आदिवासी, म धर्तीपुत्र अनि हामी मूलवासी“ भन्नेहरूबाट हेपिन परेको इतिहास छैन।

सायद डाहा भन्ने संस्कार हुँदैनथ्यो भने हाम्रै देशमा पनि अर्को जिल्लामा गएर ढुक्कसँग व्यबसाय, जागिर गर्न सक्थे।मुन्द्रेहरूका धम्की, जातिवादी र पहिचानवादीको राजनीति गर्ने राजनीतिज्ञहरूबाट डराउनु पर्ने अवस्था आउदनथ्यो।कमाएको सम्पत्ति देखाउन डराउनु पर्ने अवस्था छ नेपालमा।छिमेकीले डाहा गर्लान्, राजनैतिक दलले चन्दा माग्ला या टोले गुण्डाले हप्ता असुली गर्लान् भन्ने डर व्याबसायीहरुलाई सधैँ हुन्छ।सबै डाहा कै कारण हो ।

डाहा नगर्ने समाजमा व्यबसाय गर्दा र डाहा गर्ने समाजमा व्यबसाय गर्दा आकाश जमिनको फरक भएको अमेरिकामा व्यबसाय गर्ने पवन केसी (सन्तोष) ले बताउनु हुन्छ।“नेपालमा यति कमाउँछु भन्न पनि डर लाग्थ्यो, यहाँ गर्व लाग्छ।यो भन्दा ठुलो फरक के होला आफै सोच्नुस्।“

अरूको प्रगतिमा डाहा होइन, आहा भन्दै गर्व गर्ने नेपाली समाज कहिले निर्माण होला?यहाँ मैले हामी नेपाली मात्र डाहा गर्छौ भन्न खोजेको चैँ पक्कै होइन।हामी दक्षिण एसियामा बसोबास गर्ने सबै डाहा गर्ने संस्कारमा हुर्केका हौ सायद।अब अरूको प्रगतिमा रमाउन सिकौँ ।