चितवन, बारा र तनहुँमा आज उम्मेदवारी दर्ता, हरेक दललाई फरक-फरक समय - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

चितवन, बारा र तनहुँमा आज उम्मेदवारी दर्ता, हरेक दललाई फरक-फरक समय



काठमाडौं- आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज सोमबार उम्मेदवारी दर्ता हुँदैछ ।

चितवन क्षेत्र नम्बर-२, तनहुँ–१ र बारा–२ हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी दर्ता, चैत २२ गते उजुरीमाथि छानबिन र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन गरिने निर्वाचन आयोगले जनाएको छ । २०७९ वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुनेछ ।

यसैबीच, तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ताका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ । उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन जिल्लामा रहेका राजनीतिक दलको समन्वयमा छुट्टाछुट्टै समय निर्धारण गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज आइतवार आयोजना गरेको सरोकारवालासँगको छलफलका क्रममा उम्मेदवारी दर्ता गर्न आउँदा सबै दललाई समय निर्धारण गरिएको छ ।

एकै पटक सबै दल आउँदा भिडभाड हुने र उम्मेदवारी दर्ता कार्यक्रम अस्तव्यस्त हुने भएकाले दलको समन्वयमा समय निर्धारण गरिएको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए ।

नेपाली कांग्रेसलाई बिहान १२ बजे, नेकपा एमालेलाई ११ बजे, नेकपा (माओवादी केन्द्र) लाई दिउँसो २ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई दिउँसो १ बजे र नेकपा (एकीकृत समाजवादी) लाई साढे १ बजेको समय निर्धारण गरिएको छ ।

अन्य राजनीतिक दललाई पनि सहमतिमै समय निर्धारण गरेर उम्मेदवारी दर्ताका लागि व्यवस्था मिलाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।