वर्षामा भत्केका सडक उस्तै - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

वर्षामा भत्केका सडक उस्तै



दाङ: दाङ जिल्लाभित्रका पहाडी सडकखण्डहरू पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् ।
जिल्लाको पश्चिम क्षेत्रमा रहेको बबई गाउँपालिकाको विकट वडामा रहेको मलै जलजलामा वर्षाले भत्काएको सडक सञ्चालनका लागि दशंै अघिदेखि नै बाटोको माटो हटाउन डोजर प्रयोग गरेतापनि अझै सञ्चालनमा आउन नसकेको जिल्ला समन्वय समिति दाङका सदस्य एवम् स्थानीयवासी जगत बस्नेतले बताए ।

बबई नदीमा अझै पानीको सतह नघटेका कारण बाटो सुचारु भएतापनि यातायात भने सञ्चालनमा आउन केही समय लाग्ने बस्नेतले बताए । दशैंअघि नै त्यहाँसम्मको यात्रा सहज गराउने उद्देश्यले काम थालेपनि अत्यधिक मात्रामा सडकमा पहिरो गएका कारण काममा ढिलाई भएको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए ।

यता जिल्लाको पहाडी क्षेत्रमा पर्ने तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १९ मा रहेको ऐतिहासिक एवम् धार्मिक पर्यटकीयस्थल छिल्लीकोट जाने सडकमा समेत पहिरो खसेका कारण अझै बाटो अवरुद्व रहेको स्थानीयवासी परविर पुनले बताए ।

सडकको पहिरो हटाउन सडक डिभिजन कार्यालय दाङले पूर्ण एण्ड जुद्व निर्माण सेवालाई ठेक्का दिएपनि उक्त निर्माण कम्पनीले पहिरो हटाउन आलटाल गरिरहेको वडा नम्बर १९का अध्यक्ष रामबहादुर योगीले बताए ।

दशैंमा उक्त स्थानमा तिर्थालु भक्तजनहरूको घूइँचो लाग्ने भएका कारण दशैंअघि नै सडक सञ्चालनका लागि निर्माण कम्पनीले जिम्मा लिएपनि हालसम्म काम सुरु नगरेको स्थानीय परविर पुनले बताए । उता देउखुरी क्षेत्रको राजपुर गाउँपालिकाको सिक्टासम्मको सडक सहजरूपमा यातायात सञ्चालन गर्न सकेतापनि सिक्टादेखि पश्चिम क्षेत्रमा तत्कालका लागि काम चलाउन सडक निर्माण गरिएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए ।
गाउँपालिकाले ५ लाखको लागतमा डोजर प्रयोग गरेर सडकको पहिरो हटाएको थियो । तिहारलगत्तै गाउँपालिकाका सबै वडाहरूमा सडक सञ्चालन हुने अध्यक्ष केसीले बताए ।
यता राप्ती गाउँपालिका पहाडी क्षेत्रमा रहेका वडामा भने सडक सञ्चालनमा आएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिएका छन् ।

फोरलेन सडकको काम सुरु

तुलसीपुर आगमनको द्वारका रूपमा रहेको हात्तिखौवा तुलसीपुर फोरलेन सडकको निर्माण कार्य सुरु भएको छ । सुरुवात गरेको लामो समयसम्म पनि निर्माण पूरा हुन नसकेको सडक निर्माण कार्य तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको सक्रियतामा सुरु भएको होे ।

गौरी पार्वती निर्माण सेवा काठमाडांैका रामकुमार थापाले ठेक्का लिएता पनि उनले स्थानीय ठेकेदार पदम शर्माले जिम्मेवारी दिएर काममा लगाएका थिए ।
स्थानीय ठेकेदार शर्माले काम गर्न नसकेपछि निर्माण कार्य अवरुद्ध भएको थियो ।