पसल सिलबन्दीमा मन्त्री-मन्त्रीविच चर्काचर्की - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पसल सिलबन्दीमा मन्त्री-मन्त्रीविच चर्काचर्की



भदौ २४, काठमाडौं-

बजार अनुगमनका क्रममा सिलबन्दी गरिएका पसलको अनुसन्धानमा अर्थ मन्त्रालयका प्रतिनिधि माग गर्न पुगेका आपूर्तिमन्त्री र अर्थमन्त्रीबीच शुक्रबार चर्काचर्की भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
कारबाही सुरु गर्ने क्रममा अर्थका प्रतिनिधि नभएकाले अहिले प्रतिनिधि पठाउन नमिल्ने अडान अर्थका अधिकारीले राखेपछि चर्काचर्की भएको थियो ।
पसलको सिल खोलेर अनुसन्धान अघि बढाउन व्यवसायीले माग गरेपछि चाँडै सिल खोल्ने दबाब आपूर्तिमाथि परेको छ ।

अर्थका अधिकारीका अनुसार साढे १ बजे अर्थमन्त्रीको कार्यकक्ष पुगेका आपूर्तिमन्त्री शिवकुमार मण्डलले पसलको सिलखोल्न र प्रारम्भिक अनुसन्धानमा सघाउन अर्थमन्त्रीलाई प्रतिनिधि पठाइदिन भनेका थिए ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोधेपछि राजस्वसचिव शिशिरकुमार ढुंगानाले सिललगाउने बेलामा अर्थका प्रतिनिधिलाई नबोलाइएकाले अहिले प्रतिनिधि पठाउन नमिल्ने तर्क गरेका थिए ।

प्रतिनिधि पठाउन नमिल्ने बताएपछि
उनले न्यून बिजकीकरणको शंका लागेका कागजपत्र अर्थमा पठाइदिए राजस्व अनुसन्धान विभागले अनुसन्धान गरी कारबाही गर्ने बताएका थिए । सिल खोल्ने प्रयोजनका लागि अर्थका प्रतिनिधि पठाउन नमिल्ने बताएपछि माओवादी-केन्द्रको कोटामा मन्त्री बनेका मण्डल च्याँठ्ठिन थालिहाले । ‘म बजार अनुगमनमा अर्थ मन्त्रालयले असहयोग गर्‍यो भनेर पत्रकार सम्मेलन गर्दिन्छु’, त्यही उपस्थित एक उपसचिवले मन्त्रीलाई उद्धृत गर्दै भने ।

भद्र कार्की पनि झोक्किए
मण्डल ‘च्याठ्ठिन’ थालेपछि भद्र स्वभावका कार्की पनि अलि झोक्किएका थिए । उनले पसलमा सिलबन्दी गर्दै हिँड्ने काम मन्त्रीको होइन, विभागलाई अह्राउन पर्नेमा मन्त्री गएर के स्टन्ट गर्न खोजेको भनेका थिए ।

दाहाललाई झपारे मन्त्रीले
ती उपसचिवका अनुसार कार्कीले आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहाललाई सिलबन्दी गर्न मन्त्रीलाई किन लगेको भन्दै झपारे । ‘मन्त्रीलाई यस्ता कुरा थाहा नहुन सक्छ, जान्छु भने पनि जानुहुन्न भन्नुपर्नेमा तपाईंहरू मन्त्रीलाई अघि लाएर बजार अनुगमनमा जाने’, कार्कीलाई उद्धृत गर्दै ती उपसचिवले भने । कार्कीले बोल्न थालेपछि मन्त्री मण्डल पनि शान्त भए । उनले फेरि पनि अर्थको प्रतिनिधि माग गरेका थिए, अर्थका अधिकारीले मिल्दैन भने ।

बजार अनुगमनका क्रममा आपूर्ति मन्त्रालय गम्भीरताभन्दा स्टन्ट गर्न खोजेको देखिएको आरोप अर्थका अधिकारीको छ ।