डरको खोपीबाट… - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

डरको खोपीबाट…



-हेमन्त गिरी

अँस्ती दिनभरी पानी पर्यो । हिंजो दिनभरी हावा चल्यो । आज मधुरो घाम लागेको छ । कोरोनाले लखेटेर टोकियो देखि झन्डै असी किलोमीटर परको गाऊँमा पुर्याइदिएको छ । डर मनमा यती छ कि खुर्सानीको खारले हल्का खोकी लागेपनि मन झसंग हुन्छ, एक पटक ‘छ्यूँ’ आयो भने ‘लौ सकियो भोली नै हो कि..’ सम्म सोंच्न भ्याइन्छ ।

यो डरको मात्रा मापन गर्ने कुनै इकाई नै छैन । आँखाले नदेखिने एउटा सानो किरोले हामी कथित ‘ठूला मानिस’ लाई यो हद सम्म डराउन देला भन्ने यस अघि मैले कहिलै कल्पना सम्म गरेको थिइन ।

कवि भन्छन धेरैले, कविता लेख्न सकिरहेको छैन । लेखक पनि भन्छन केहीले, आलेखहरू लेख्न पनि सकिरहेको छैन । रेडियोमा काम गर्थें पहिले, आवाज पनि ठीकठाक नै छ, प्रविधिक ज्ञान र उपकरणहरू पनि चाहिने जती छन, आफ्ना रचनामा दैनिक एउटा आवाज मात्र भरे पनि एक दुई महिनालाई काम पुग्छ, त्यो पनि गर्न सकिरहेको छैन ।

राती एउटा ‘साउथ इण्डियन फिल्म’ नहेरी निद्रा नलाग्ने भएको छु । त्यसैले पनि बिहान ढिलो उठिन्छ । रेस्टूरेन्ट आधा बन्द भएकोले काम पनि खासै छैन । उठ्ने बित्तिकै खाने काम हुन्छ,खाए पछि फेरि फिल्म अनि फिल्म हेरे पछि फेरि खाना । भन्नु पर्दा सुत्ने, खाने र फिल्म हेर्ने बाहेक अरु काम भएकै छैन भन्दा पनि हुन्छ । अँ साँच्ची, अलि अलि फेसबुक,इन्स्टाग्राम र टिकटक पनि चलाइन्छ । कोही अनलाइन आए लुँडो पनि खेलिन्छ !

यी दैनिकीहरूमा आफूलाई भुलाइरहँदा मेरो डर सतहमा त देखिन्न तर गहिराईको डरको मात्रा मैले मात्र मापन गर्न सक्छु । यी र यस्ता आफूलाई जबर्जस्ती ‘डाइभर्ट गर्ने’ दैनिकीहरूको प्रमुख कारण मेरो मनको डर नै हो भन्न मलाई कत्ती लाज छैन । फिल्म हेर्दा, लुँडो खेल्दा वा फेसबुक/टिकटक पोस्ट गर्दा म हाँसिरहेको छु, ठट्टा गरिरहेको छु, आफूलाई नडराएको देखाइरहेको छु तर म भित्र भित्र कती डराइरहेको छु, त्यो अभिव्यक्त गर्न सक्दिन । नडराएको भए भएको काम बिदा राखेर, ‘ऋण लागे लागोस्’ भनेर, आउने तलब पनि माया मारेर म कर्म स्थान भन्दा यती पर ‘क्वारेन्टाइन’मा आउने थिइन, उसै पनि जापानमा ‘लकडाउन’ छैन । डरकै कारण म यहाँ सम्म आएको हुँ । डरकै कारण म यस्तो दैनिकी बिताइरहेको छु । डर- एउटा सानो किरा संग । डर- एउटा अदृश्य किरा संग !

त्यसो त नदेखिने चिजहरूसंग नै मानिस बढी डराउँछ- भूतसंग डराउँछ, भविष्यसंग डराउँछ । अलि अलि कोमल मन रहेछ भने भगवानसंग पनि डराउँछ । तर मानिस बाबा-आमा संग डराउँदैन, साथी-छिमेकी संग डराउँदैन, ईमान-जमान संग डराउँदैन, नियम-कानूनसंग डराउँदैन र खास डराउनु पर्ने प्रकृति संग डराउँदैन । डराउनु पर्ने चिजहरू संग नडराउने र नडराउनु पर्ने चिजहरूसंग डराउने हुँदा प्रायः मानिसको जीवनशैली मेरो वर्तमान दैनिकी जस्तो बन्न पुगेको छ ।

म झरी मन पराउने मानिस, अँस्ती दिनभर झरी पर्दा बाहिर निस्किन सकिन । हिंजो गज्जबको हावा चल्यो, नजिकैका ‘विण्ड मिल’ हरू हेर्न जान सकिन । आज मन्द घाम लागेको छ, पार्कमा गएर टहलिन डर लागिरहेकोले बिस्ताराबाटै यो गन्थन लेखिरहेछु । एउटा सानो, अदृश्य किराले ‘मै हुँ’ भन्ने लेखक, कवि, संचारकर्मी नामको अलिकती साधन श्रोत र घमण्ड पनि भएको व्यक्तिलाई यसरी हातगोडा बाँधेर बिस्तारामा लडाइदिएको छ, अरु बेला गर्न सक्ने र जानेका कामहरू पनि गर्न नसक्ने गरी मानसिक त्रासमा सुताइदिएको छ भने सोंच्नूस् त मानिस कति निरीह प्राणी रहेछ ! हाम्रो ज्यानसंग जोडिएकोले हामी सानो किराको सामू यती लाचार भयौं नि हगि ? यही बेला हो सोंच्ने- हामीले अन्य कती ज्यानहरूलाई जानाजान क्षति पुर्याइरहेका हुन्छौं ? कती मनहरूलाई जानाजान चोट पुर्याइरहेका हुन्छौं ? कती जीवनहरूलाई जिउँदै मरे तुल्य बनाइरहेका हुन्छौं ?

-आफू धनी बन्ने ध्याउन्नमा एउटा गरीब व्यक्तिको पसीनाको कमाइमा आँखा लगाउँदा हामीले उसको पुरै परिवारमा ‘कोरोना फैलाइरहेका’ हुन्छौं ।

-एउटा सक्षम र होनहार व्यक्तिलाई उसको क्षमता अनुसारको काम र सम्मान नदिंदा हामीले कैयौं भविष्य र समाजको संरचना माथि नै ‘कोरोना फैलाइरहेका’ हुन्छौं ।

-गलत नेताहरूलाई बारम्बार चुन्दा, गलत दलहरूलाई बारम्बार भोट हाल्दा हामीले पुरै देश र व्यवस्था भरी नै ‘कोरोना फैलाइरहेका’ हुन्छौं ।

-आफन्त वा आफ्नो दलको मानिस भएकै कारण भ्रष्टहरूलाई संरक्षण दिंदा हामीले देशको भविष्य मानिएको युवा पुस्ता तथा बालबालिका माथि ‘कोरोना फैलाइरहेका’ हुन्छौं ।

-क्षणिक आर्थिक लाभको लागि गलत सूचना, समाचार र सन्देश सम्प्रेषण गर्दा हामीले राज्यको ‘स्नायु प्रणाली’ माथि नै ‘कोरोना फैलाइरहेका’ हुन्छौं ।

-धर्म, राजनीति र जातीयतालाई व्यापार र लाभका विषय बनाउँदा हामीले देशको सभ्यता र संस्कृतिमाथि नै ‘कोरोना फैलाइरहेका’ हुन्छौं ।

मैले यसरी लेखिरहँदा विद्वान लेखकहरूले फ्याट्ट भनिदिनुहोला- कस्तो अतिरंजना गरेको यो केटो लेखकले ? कस्तो बहकिएको यो काँचो लेखक ? कहाँ कहाँ पुर्याएको कुरोलाई कुलो झैं डोर्याएर ?

खासमा समाज पछाडी पर्नुमा विद्वानहरूको मुख्य हात हुन्छ । विद्वानहरूले आफ्ना लेख,रचना र अभिव्यक्ति मार्फत समथर जमिनलाई ठाउँको ठाउँ ठड्याइदिने ल्याकत राख्छन तर उनीहरू अधिकांशले त्यो ल्याकत समाज हीतको लागि प्रयोग गर्दैनन, व्यक्तिहितको लागि प्रयोग गर्छन ।

आत्मरती र अभिमानमा नेपालका विद्वानहरू संसारकै विद्वानलाई माथ खुवाउने खालका छन तर समाज उत्थानको लागि उनीहरूको सर्टिफिकेट माखा धपाउन पनि काम नलागेको देखिन्छ । हो, जब विद्वानले आफ्नो ज्ञानको पोको समाज र देशको लागि फुकाउँदैन, त्यो विद्वानले नजानिंदो तरिकाले हाम्रो ‘सिक्ने सिस्टम’ माथि नै कोरोना फैलाउँछ । जब ‘सिक्ने सिस्टम’ नै विद्वान दिमागले ह्याक गरिदिन्छ, देशको ‘सफ्टवेयर’ फेल भइदिन्छ । ‘हार्डवेयर’ मा हामी संग सागरमाथा र लुम्बिनी नभएका कहाँ हुन र ?

त्यसो त, डरको चरण सकिएपछि हिम्मतको चरण आउँछ । हामी केही दिनमा नै हिम्मतको चरणमा प्रवेश गर्ने पनि छौं । तर त्यती बेला सम्म हामी हाम्रा हालका मान्यताहरू बाट ‘आइसोलेटेड’ हुन जरुरी छ । ‘एनी हाऊ पैसा कमाउ, वा एनी हाउ भाइरल होउ’ भन्ने मान्यता बाट माथि उठ्न जरुरी छ । ‘मलाई जत्ती आफ्नो ज्यानको माया लाग्छ, त्यत्ति माया उसलाई पनि आफ्नो ज्यानको लाग्छ’ भन्ने भावनाको विकास गर्न जरुरी छ । ‘चोट पर्दा मलाई जत्ती पीडा हुन्छ, उसलाई चोट पुर्याउँदा पनि उत्तिकै पीडा हुन्छ’ भन्ने सत्यबोध गर्न जरुरी छ । मानिस भई मानिसको काम आउन जरुरी छ । मानिस भई मानिसलाई जितेर पुग्नु कहिं छैन, आफू भन्दा सक्षम व्यक्तिलाई ठाउँ र अवसर छोडिदिनु जरुरी छ । देश,धर्म,जात,सिमाना सबै मानिसले बनाएका हुन,प्रकृतिको नियममा बसी मानवता नै एक मात्र धर्म भनी स्विकार्न जरुरी छ ।

आज सम्म हामी जुन मान्यताहरूमा बाँच्यौं, ती मान्यताहरू अधिकांश पाखन्ड रहेछन भनेर स्विकार्न जरुरी छ । यो कोरोनाको क्वारेन्टाइन हैन, यो सभ्यताकै क्वारेन्टाइन हो, यो क्वारेन्टाइनबाट बाहिर निस्किंदा हाम्रा सोंचहरूमा ‘फुल्ली सेनिटाइज्ड’ भएर निस्किनु जरुरी छ । नत्र साना साना किराहरूले फेरि पनि पटक पटक लुक्न बाध्य बनाइरहनेछन । पटक पटक लुक्ने गरी आफूलाई कमजोर नबनाउने प्रयास गर्न जरुरी छ । त्यसको लागि हरेक दोश्रो मानिस भन्दा आफू ‘ठूलो मानिस’ हुँ भन्ने रोगको निदान पहिले गर्नु छ ।

यो रोगको निदान तब हुन्छ जब हामीलाई डराउन दिइरहेको किराको ‘साइज’ अनुभूत हुन्छ । प्रियजन, हाम्रो साइज ‘कोभिड’ किराको भन्दा धेरै सानो छ पृथ्वीमा । अहंकार त्यागौं, पहिलो कदम यही हुनेछ घर बाहिर निस्किन सक्ने बन्नको लागि । नत्र अहिले कोभिड आए झैं भोली नै अर्को किरो आउनेछ हामीलाई हाम्रो अहंकारको कोठा भित्र सधैको लागि थुन्नलाई । हेक्का राखौं ।

‘साइज’

जब ठूलो मानिस बन्ने सवाल आउँछ
तिमी तिमी हौ
म म हुँ
तिमी आफ्नो भर्याङ चढ्छौ
म मेरो गोरेटो हिंड्छु !

जब धनी मनिस बन्ने सवाल आउँछ
तिमी तिमी हौ
म म हुँ
तिमी आफ्नो महल ठड्याउँछौ
म मेरो मन्दिर लिप्छु

जब विद्वान मानिस बन्ने सवाल आउँछ
तिमी तिमी हौ
म म हुँ
तिमी आफ्नो शब्दकोष लेख्छौ
म मेरो वर्णमाला पढ्छु !

तर मानिस,
जब बाँच्ने सवाल आउँछ
तिमी र म उही हौं, उस्तै हौं !
मृत्युका डरहरूलाई पढ आँखामा
बाँच्ने रहरहरूलाई छाम छातीमा
नाप आकार र आयामहरू
यहाँ हरेक वस्तु
‘साइज-साइज’का बनाउने कम्पनीहरूले पनि
कफन र कात्रोको ‘साइज’ बराबर बनाएका छन !

प्रिय मानिस,
तिमी र म
एकै पटक,एउटै डरले,उस्तै ठाउँमा
लुक्नुका कारणहरू खोज !
हामी साह्रै कमजोर जीव हौं सृष्टिका !
यो गुप्तबासमा
मेरो अहंकार तिमीलाई उपहार भयो,
लैजाऊ… !!

✍️हेमन्त गिरी, टोकियो