केहि नेतालाई १० बुँदेको नाममा ओलीले झुलाए: झाँक्री - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

केहि नेतालाई १० बुँदेको नाममा ओलीले झुलाए: झाँक्री



बुटवल- नेकपा (एकिकृत समाजवादी) केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीले १० बुँदे कार्यान्वयनको नाममा नेतालाई झुलाएको बताएकी छन् । शुक्रबार पार्टीको लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले यस्तो बताएकी हुन् ।

१० बुँदे सम्झौताको कोर्स करेक्सन भत्काएर ओलीले मुलुकमा राजनीतिक अस्थिरता र द्वन्द्व निम्त्याउन खोजेको उनले दाबी गरिन् । ‘ओलीले १० बुँदेको कोर्स करेक्सन भत्काउने र विदेशी हस्तक्षेप भित्र्याएर मुलुकलाई तहसनहस पार्न खोजेका छन् । १० बुँदे कार्यान्वयनको नाममा ओलीले नेताहरूलाई अल्मल्याएका छन्,’ झाक्रीले भनिन् ।

यस्तै एकिकृत समाजवादी पार्टी एमाले विभाजन भएर नभई एमालेबाट विद्रोह गरेर निर्माण भएको स्पष्ट पार्दै प्रतिगमनकारीको योजनालाई ध्वस्त बनाउन उनले कार्यकर्ताहरूलाई निर्देशन दिइन् । उनले माधव नेपाल पक्षमा रहेका तर एमालेमा लागेका तेस्रो धारका नेताहरूलाई लक्षित गर्दै अरूले बनाएको दरबारमा बस्नेहरूले कठिन यात्रा तय गर्न नसकेको टिप्पणी गरिन् ।

‘आफैंले बनाएको दरबारमा बस्न हामीले कठिन यात्रा तय गरेका छौं,’ उनले भनिन्, ‘अरूले बनाइदिएको दरबारमा बस्नेले कठिन यात्रा तय गर्न सकेनन् ।’ एमालेका केही नेताहरूले आफुलाई चुनौतीरहित दाबी गरेको भन्दै भाँक्रीले ती नेतालाई त्यस्ता सपना नदेख्न आग्रह गरिन् । एकिकृत समाजवादीले केन्द्रीय कमिटीमा अनिवार्य ४० प्रतिशत युवाहरू राख्ने व्यवस्था गर्दै पार्टीलाई नवजवानहरूको पार्टी बनाइने र आगामी आम निर्वाचनमा पनि बहुमत ल्याइने उनले बताइन् ।

एमालेका नेताहरूले विद्रोहमा सहभागी हुन चाहने कार्यकर्तालाई राजनीतिक भविष्य र व्यक्तिगत भविष्यको ग्यारेन्टी बाँड्दै हिँडेको आरोप लगाउँदै भ्रममा नपर्न कार्यकर्ताहरूलाई आग्रह गरिन् । क्रान्तिकारी इतिहास बोकेका कार्यकर्ताहरूले चिन्ह होइन विचार रोज्ने उनको तर्क छ । पार्टी केन्द्रीय कमिटीकै अर्का सदस्य मेटमणि चौधरीले अहिले पार्टीको आकार सानोजस्तो देखिए पनि ५, ६ महिनाभित्र वास्तविक आकार देख्न सकिने बताए । उनले जनप्रतिनिधिहरू आवरणमा आफुहरूतिर नदेखिए पनि जनताको अपार समर्थन एकिकृत समाजवादीलाई रहेको दाबी गरे ।