न दसैँ आउँछ, न तिहार आउँछ प्रदेशमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

न दसैँ आउँछ, न तिहार आउँछ प्रदेशमा



दिलिप भुसाल

हो,प्रदेशमा न दसैँ आउँछ, न तिहार आउँछ, केवल गाउँ-घरको याद झलझलै आउँछ। नेपालमा दसैँको चहलपहल सुरु भएसँगै प्रदेशमा परदेशीको मनमा सन्नाटा छाउँछ। साथीभाइले घर जाँदै गरेको फोटोमा travelling टु नेपाल लेख्दा कुन चाहिँ परदेशीको मन रुन्न होला र ? आफ्ना आफन्तसँग टिका थाप्ने अनि आशीर्वाद लिने मन कसलाई हुँदैन र ? तर के गर्नु मनले सोचे जस्तो कहाँ हुन्छ र ? मन नहुँदा नहुँदै पनि दसैँ जस्तो चाडपर्वमा आफ्ना प्रियजनबाट टाढा बस्न बाध्य हुन्छ परदेशी।

प्रदेश धेरैको रहर होइन, बाध्यता हो। कोही कामले, कोही पढाइले अनि कोही उपचार गर्न देश बाहिर पुग्छन्। धेरै नपाली कामको सिलसिलामा भारत, खाडी मुलुक अनि अहिलेको नयाँ गन्तव्य कोरिया पुगेका छन्। त्यसैगरी पढाइको सिलसिलामा छिमेकी देश चिन,भारतदेखि युरोपियन देशसम्म पुग्छन् नेपाली विद्यार्थी। चाहे कामको लागि होस्, चाहे पढाइ लागि होस, दसैँ जस्तो चाडमा घरबाट टाढा हुँदा सबैको मन रुन्छ, बा-आमाको साथमा नहुँदा दसैँ दसैँ बन्दैन, रूहाउने दशा बन्छ। अनि परदेशीको मनले भन्छ नआइदिएको भए पनि हुन्थ्यो नि दसैँ, तिहार।

विगत ७ महिनादेखि भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचारको लागी आएका रुपन्देहीका विनोद न्यौपानेको यसपालिको दसैँ खल्लो हुने भयो। घरबाट टाढा भए पछि अनि ज्यानमा सन्चो नभएपछि उनलाई दसैँ किन आयो होला भन्ने भएको छ। २ सन्तानका पिता न्यौपाने सरकारी जागिरे थिए, ठुलै रोग लागेपछि घरबाट टाढा हुनुपर्दा मन त खल्लो हुने नै भयो अझ दसैँजस्ता चाडपर्वमा झन् धेरै पिडा हुने रहेछ। “टिकाको भोलि पल्ट किमो छ, कमसेकम आफ्नै देशमा यस्तै अस्पताल भैदिएको भए, आफन्त त भेट्न आउँथे, यो बिरानो मुलुकमा सारै शून्य हुँदो रहेछ”, उनले भने । उनी जस्तै धेरै नेपालीको दसैँ यसपालि दिल्लीका प्रमुख अस्पतालमा बित्ने छ। “राजीव गान्धी जस्ता दिल्लीका प्रमुख अस्पतालले दैनिक नेपाली बिरामीबाट १० करोड कमाउँछ”, भन्छन् विगत १७ वर्ष देखि दिल्लीमा ट्राभल्स एण्ड टुर चलाएर बसेका पाल्पाका विष्णु केसी।

विगत ७ वर्षदेखि भारतको गुरुग्रामा होटलमा काम गर्दै आएका दाङका रविन मुडेलले दसैँमा टिका नलगाएको पनि ५ साल भयो। उनीसँगै सो होटेलमा काम गर्ने १८ नेपालीको अवस्था पनि उस्तै हो। दसैँमा टिका नलगाएपनी खसी काटेर रमाइलो गर्ने हो भन्छन उनी। नेपालमा जस्तो रमाइको त कहाँ हुन्छ र यहाँ, तर पनि साथीभाइसँग दुख, सुख साटासाट गर्ने हो भन्छन् उनी।

नेपाली सिए विद्यार्थीको थलो दिल्लीको लक्ष्मीनगरमा बस्ने अधिकांश सिए विद्यार्थीको पिडा पनि उस्तै छ। तिहार लगत्तै परिक्षा छ, हामीलाई त के दसैँ के तिहार भन्छन आफ्नो अन्तिम लेवलको तयारीमा जुटेका स्याङ्जाका पर्सुराम भण्डारी। नेपाली विद्यार्थीहरूको समूह हातेमालो नेपाली विद्यार्थी समूहले भोलि पशुपतिनाथ मन्दिरका पुजारीको हातबाट टिका लगाइदिने कार्यक्रम राखेको छ।

चाहे भारत होस् चाहे दुबई कतार पीडा सबैको उस्तै हो । भारतमा त दसैँको दिन छुट्टी हुन्छ अरू देशमा त छुट्टी पनि हुँदैन। धेरै नेपाली युवाको गन्तव्य अस्ट्रेलियामा पनि दसैँ सुनसान हुन्छ। साथीभाइसँग भेटघाट त हुन्छ तर पनि मन खुसी हुँदैन भन्छिन् काठमाडौंकी मनीषा श्रेष्ठ। उनीदेखि धेरै टाढा दुबईमा बस्ने पाल्पा घर भएका नवलपरासीका प्रकाश बस्यालको पिडा पनि उस्तै छ। दिनभरि काम गर्‍यो, साँझ हल्का रमाइलो गर्‍यो, अरू कुनै तयारी छैन भन्छन् उनी।

दसैँको दिन घरमा फोन गर्छु, फोनबाटै आमाको आशीर्वाद लिन्छु, यसरी नि अहिलेको दसैँ मनाउने हो, उनी भन्छन् ।