टुन टुने मोबाईल ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

टुन टुने मोबाईल !



-दिपक घिमिरे

ल्याण्ड लाईन फोन हेर्न दुई घण्टाको उकालो चढेर खलङ्गा बजार आउनु पर्ने हामी जस्ता पहाड बासी हरुका लागि मोबाईल फोन कल्पना भन्दा माथी को कुरा थियो । लाउर बसेर आएका तोरीलाउरेहरु तार नहुने फोनको चर्चा गर्दा ट्वाँ पर्दै सुन्ने हामी आफै थियौ ।

ल्याण्ड लाईन फोन बाट जिबनमा पहिलो पटक हेल्लो भन्दा रिसिभर समातेका हात थरथर कापेका थिए अनि ओठ मुख सुकेर क्याप क्याप भएको थिए । खलङ्गा बजारका पिसिओ बाजेले म डराएको देखेर भनेको कुरा आज पनि याद छ । “ कट्टुमै मुत्लास ए केटा । किन यसरी कामेको ?”

त्यतीबेला फोनमा हेल्लो भनेर आएपछी गाउँ घरमा खुबै धाक लगाईयो । आफू भन्दा ठुला अनि साना सबैलाई फोन भन्ने जिनिस यस्तो र उस्तो भनेर खुब धाक लगाईयो । सायद त्यो बेला हाम्रो पाखाभरीमा फोनमा हेल्लो भनेर आएको भलादमी केटाकेटी मै मात्र थिए होला । अरु सबै मेरा कुरा सुन्ने भित्र परे ।

पिसिओ बाजेको नाति केटोले उतिबेला कर्डलेस बोक्न थाल्यो । म फेरि अचम्म पर्न थाले । माथी खलङ्गा बजारको दुई तले घरमा एन्टिना ठड्याएर हाम्रो गाउँ सम्म आएर मस्तले कुरा गर्न थालेपछी हामी केटाकेटी हरु उसको पछि लागेर चर्तिकला हेर्न थाल्यौ । त्यति बेला मेरो हैसियत गुम्यो । गाउभरी मलाई फोन कस्तो हुन्छ बड्डा भनेर सोध्ने केटाकेटीहरु अब उसको पछि लाग्न थाले अनि उसैलाई सोध्न थाले । उ सानका साथ भन्थ्यो “ तार नहुने फोन हो ।”

हामी अचम्म पर्थिम । अरे वा ! तारै छैन , आवाज काँ बाट आउच यार ? दशै बिदामा घर आउने लाउरेहरुले भनेपछी थाहा पाईयो , यो कर्डलेस रैछ । अझ यो भन्दा खतरा फोन त मोबाईल फोन हो भन्ने कुरा ।

जिबनमा एक पटक हेल्लो भन्दै उचालेको रिसिभरलाई फेरि उचालेर मस्तले गफिने सपना आखाभरी थिए । तर सपना अधुरै थिए । लोकल फोन गर्नको लागि मान्छे थिएनन । त्यो बेला आफ्नो जिल्ला भन्दा बाहिर फोन गर्न अलि धेरै पैसा लाग्थ्यो ।

उमेर गएको पत्तै नलाग्ने ! सोच्दा सोच्दै दस कक्षाको परीक्षा दिए । रिजल्ट आयो । गोरखापत्रमा नतिजा प्रकाशन हुने , त्यो पत्रीका गाउँ सम्म नआउने । अहिलेको जस्तो म्यासेज गरेर हेर्न पनि नमिल्ने । कि महिनौ कुरेर स्कुलमै हेर्ने कि आफ्ना अनि आफन्तलाई काठमान्डौ फोन गरेर सोध्ने ।

एस एल सीको रिजल्ट सोध्न खलङ्गा बजार उक्लिए । फेरि फोन गर्नु पर्ने भयो । यो पटक काठामण्डौ बस्ने ठुला बाको छोरालाई गरेर रिजल्ट हेर्दिन भन्नू पर्ने थियो । पिसिओमा यति भिड थियो कि कुरै नगरम । भित्र छिरेर फोन गर्ने हिम्मतै भएन ।

आफू सँगैका साथीहरु मस्तले फोनमा हास्दै गफ गरेका छन तर आफ्नो हालत बेग्लै छ । फोन हातमा लियोकी थुर थुर अनि हेल्लो भन्यो कि ओठ मुख सुख्खा ।

आफुले हेल्लो नभनी पिसिओ बाजेलाई सोध्न लगाए । दाईले आधा घण्टापछी खबर गर्ने समय मागेचन । बाजेले मलाई पिढिमा बसाले । यो पटक हेल्लो सम्म भन्न पाईन ।

पढाईमा तगडै थिए , पास भए । पास भए सँगै शहरको बसाई पक्का पक्की थियो । हास्सै नाच्दै घर फर्किए , आखामा काठमाण्डौका सपना झल्झल्ती बले ।

केही समयपछी काठमाण्डौ गए । दाईको रुममा बस्ने ब्यबस्था मिल्यो । काठमाण्डौ शहर हेर्दा लाग्छ रहर भन्या जस्तै भयो । दुई चार जनाको हातमा मोबाईल फोन , बिलिङ सिस्टम वाला पिसिओ । वा रे काठमाण्डौ ।

जिबनमा पहिलो पटक मोबाईल देख्न मात्र होईन , छुन पनि पाए । मोटोरोला कम्पनिको बत्ती बल्ने वाला मोबाईल फोन । कसैले फोन गर्‍यो भने टुन टुन गर्दै घण्टि बज्ने । क्या मजाको जिनिस , हेरीरहु लाग्ने कसम ।

छोए , हेरे , अनि एक पटक उठाईदिए पनि । दाईको साथीले गरेको फोन मौकामा चौका हान्दै भन्दिए “ हेल्लो !”

यो पटक कोठामा एक्लै थिए , हात पनि कापेनन , ओठ मुख पनि सुकेन । बोलिरहन मन थियो तर दाईको साथी के बोल्थे , भरे कल गर्न लगाउ भन्दै फोन काटिदिए ।

एक दिन दाईको फोन गोजिमा हालेर काठमाण्डौ शहर घुम्न निस्किए । कुपण्डोल बाट निस्केर रत्नपार्क सम्म पुगे तर अहँ ! एक कल फोन आएन । आएको भए सान झार्दै भन्थे “ हल्लो ! ”

रत्नपार्कबाट फर्किदा पाटन जाने बसमा बसे , बस खाली थियो । बस भित्रै आलार्म सेट गरे । गोजिमा हालेर बसे । एकछिन पछु टुन टुन गर्दै बज्यो , स्नोज गर्दै भने “ हल्लो !”

अगाडि बसेका केटीहरुले हेरे , पछाडी बसेका केटाहरुले हेरे । गाडीको खलासी ट्वाँ पर्दै हेर्‍यो । गुरु जि चकित परे । म सान झार्दै गमक्क परे । बस भित्र सबै भन्दा भलादमी मै थिए , हातमा मोटोरोला फोन भएको बरिष्ठ ।

एकै छिन पछि फेरि आलार्म टोन बज्यो , टुन टुन गर्दै । मैले झटपट उठाउदै भने “ गाडीमा छु , झरेर कल गर्छु ।”

यो बेला पनि सबै चकित परे , म गमक्क परेर बसे । बस भित्र सबै यात्रु मध्य मै सँग मात्र थियो मोबाईल फोन ।

दिनभरी सान झारेर कोठामा आएसी दाईको गाली खाइयो । इमर्जेन्सी काम परेको बेला मोबाईल नभेटिदा दाइ रिसले आगो भएका रैछन , झण्डै कुटिनन ।

बत्ती बल्ने मोटोरोला फोन बेचेर दाईले नोकियाको एफ एम वाला मोबाईल किने । यो बेला म कति अचम्म परे हुला ? गाउँ घरमा पाँच किलोको कोर्टिना रेडियो दलिनमा झुण्डायर बस्ने अबस्थामा गोजामा बोक्न मिल्ने रेडियो सहितको मोबाईल मैले कल्पना गरेको सपना भन्दा माथी थियो । ओल्टाई पल्टाई हेरे , हेर्दै चुम्न मन लाग्ने सानो चिटिक्क परेको नोकिया-१२०० मोडेल ।

भित्र गेम पनी थियो । मलाई मन पर्ने गेम स्नेक गेम । एफ एम लगायो अनि गेम खेल्दै बस्यो । जिबनमा एउटा ठूलो धोको यस्तै एफ एम वाला मोबाईल किन्ने रह्यो । सपनामा पनि मोबाईल बोकेर काठमाण्डौ शहर घुमेको देख्न थाले ।

टुनटुने मोबाईल हातमा बोकेर चोकमा निस्कनु मात्र पर्छ , हेर्नेहरु खुसुक्क हेर्दै सुटुक्क भन्थे “ हेर्तो ! खत्रा मोबाईल बोक्या छ ।”

छुट्टै सान । मोबाईलमा टुन टुन घण्टि बिहान आलार्म बज्दा बज्थ्यो होला तर बोक्न मै इज्जत । दाइ सँग मागेर हिडियो भने सबैभन्दा धनी मै छु भन्ने भ्रम । साच्चै भ्रममा बाच्नुको पनि छुट्टै मजा । दुनियाले जे सोचुन , आफुलाई आफै स्ट्याण्डर्ड लागे भैगो । हातमा मोबाईल बोकेर हिडदा ठ्याक्कै त्यस्तै लाग्ने ।

गाउमा ल्याण्डलाईन फोन राम्रो सँग नदेखेको मेरा लागि टुन टुने मोबाईलको महत्व अलग्गै थियो । आँखा भरी जिबनमा एउटा यस्तै टुन टुने मोबाईल किन्ने सपना सजाउदै निदाउथे अनि बिहान उठदा भगवान सँग माग्थे “ पिलिच भग्वान ! एउटा मोबाईल गोजामा हाल्ने हैसियत बनाईदेउ !”