देखेको विश्व र नेपाल लोकार्पित, पुस्तक भावी पुस्तालाई समेत उपयोगी छः कोइराला - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

देखेको विश्व र नेपाल लोकार्पित, पुस्तक भावी पुस्तालाई समेत उपयोगी छः कोइराला



 हिमाल पोस्ट /काठमाडौं,पुस २९ 

विश्वयात्रीद्वय नवराज भट्टराई ‘कोऽहम्’ र नारायणप्रसाद भट्टराई ‘सोऽहम्’ ले लेखेको भारत, भुटान र म्यानमार देश यात्रामा आधारित संस्मरण ‘देखेको विश्व र नेपाल’ काठमाडौँमा लोकार्पण भएको छ ।

उनीहरूको उक्त चौथो सृजनालाई विश्व दर्शन अभियान, नेपालको चौंथो वार्षिकोत्सवको अवसरमा साहित्यकार एवं पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले लोकार्पण गर्नुभएको हो । लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले भन्नुभयो– ‘पुस्तक सरल र सटिक शैलीमा विविध विषयमा लेखिएको छ । यो हामीलाई मात्र नभई भावी पुस्तालाई समेत उपयोगी छ ।’ नेपाललाई चिनाउन लेखक यात्रीद्वयले अवैतनिक पर्यटन राजदूतको भूमिका खेलिरहेको चर्चा गर्नुहुँदै उहाँले थप यात्राका लागि शुभकामना समेत दिनुभयो ।

पुस्तक कतै संस्मरण, कतै आख्यान त कतै पत्रकारिता शैलीमा विविध विषयसहित आएको छ भन्नुहुँदै योग तथा प्राकृतिक चिकित्सक हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ ले नेपालको राष्ट्रिय एकता मजबुत बनाउन यात्रीद्वयले विश्वयात्रा गरिरहेको विचार व्यक्त गर्नुभयो । भारत, भुटान र म्यानमारमा रहेका नेपालीहरूले आफ्नो भाषा र संस्कृतिको जगेर्नामा खेलेको प्रशंसनीय भूमिका पुस्तकमा चित्रण भएको बताउनुहुँदै राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक तीर्थप्रसाद भट्टराईले यात्री तथा विश्व दर्शन अभियान, नेपालले गरिरहेका कामहरू स¥हानीय रहेको प्रस्ट पार्नुभयो । कार्यक्रममा हाँस्य कलाकार श्रीकृष्ण सिम्खडा, भोजपुरे सेवा समाज, काठमाडौँका अध्यक्ष पासाङ्दोर्ची शेर्पा लगायतका वक्ताहरूले पुस्तक गुणस्तरीय र सबैलाई मार्गदर्शन गर्ने खालको रहेको बताउनुभयो । उक्त पुस्तकमा यात्रीद्वय कोऽहम् र सोऽहम् ले यात्रा गरेका स्थलको परिचय, रोचक एवं अविस्मरणीय घट्नाहरू र प्रत्येक जसो संस्मरणमा नेपालको विकासक्रमलाई दाँजेको बताउँदै यात्रा तथा पुस्तकका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

आवरणसहित ३१६ पृष्ठमा विश्व दर्शन अभियान, नेपाल संस्थाले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य व्यक्तिगत रु. ३०० र संस्थागत ६०० रहेको छ । यसअघि पनि सोही संस्थाले यात्रीद्वयद्वारा लिखित यात्रा दैनिकी ‘नेपाल भ्रमणका ७३० दिन’ र विचार सँगालो ‘विश्व–दृष्टि’ प्रकाशन तथा सबै जिल्लाको वृत्तचित्र ‘नेपाल दर्शन’ उत्पादन गरिसकेको छ । लोकार्पण कार्यक्रममा भारतबाट आउनुभएका असमिया भाषी गायक लोहित गोगोईले नेपाल–भारत सम्बन्ध र विश्वबन्धुत्वको सन्देश समेटिएका कविता नेपालीमै सुनाउनुभयो । विश्व दर्शन अभियान कोषका सल्लाहकार शङ्कर उपाध्यायले सहभागीहरूलाई केहीबेर ध्यानका लागि धारणा गराउनुभएको थियो ।