डेंगुको महामारी फैलिने चेतावनी - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

डेंगुको महामारी फैलिने चेतावनी



बुटवल, २७ असोज । रूपन्देहीमा डेंगुको महामारी फैलिन सक्ने भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयले सजग रहन चेतावनी दिएको छ । पछिल्लो सातायता संक्रमण दर निकै उच्च भएको भन्दै छ वर्षअघिको जस्तै महामारी फैलिनसक्ने जनस्वास्थ्य कार्यालयले अनुमान गरेको छ ।
६ वर्षअघि रुपन्देहीमा ३ सय जनालाई डेंगु ज्वरोको संक्रमण भएको थियो भने चार जनाले ज्यान गुमाएका थिए ।

यो वर्षको पछिल्लो साता मात्रै डेंगु संक्रमणका बिरामी बढेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीमा अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने ४१ जनामा डेंगुको संक्रमण देखिएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार पुस महिनासम्म नै लामखुट्टे सक्रिय हुने भएकाले रुपन्देही उच्च जोखिममा रहेको छ ।

‘यो तथ्यांक रुपन्देहीका अस्पतालमा उपचारमा आउनेको मात्रै हो’ जनस्वास्थ्य कार्यालय भेक्ट्रल कन्ट्रोल निरीक्षक केदार शाहले भने–‘पछिल्ला दिनहरुमा संक्रमणको दर निकै बढेको छ ।’

०६८ सालयता रुपन्देहीमा ठूलो महामारी देखिएको थिएन । ०६८ सालमा चितवनपछि सबैभन्दा बढी संक्रमण रुपन्देहीमा भएको थियो । छ वर्षको अन्तरालमा झण्डै दश जनाले ज्यान गुमाएका छन् भने करिब एक हजार जनामा संक्रमण देखिएको छ ।

रुपन्देहीका बुटवल उपमहानगर र सैनामैना क्षेत्र बढी जोखिममा छन् । सिद्धार्थनगर, तिलोत्तमा, लुम्बिनी नगर क्षेत्रमा समेत डेंगुका बिरामी भेटिएका छन् ।
सरकारी तथा निजी अस्पतालमा दैनिक तीन जनामा संक्रमण देखिएकाले डेंगु फैलाउने लामखुट्टे नष्ट गर्ने अभियान शुरु गरिएको छ ।

खोज र नष्ट गर अभियान नगर क्षेत्रबाट शुरु भएको जिल्ला जनस्वास्थ्य प्रमुख केयरसिंह गोदारले बताए । ‘स्वयमसेविकाहरुलाई परिचालन गरेर डेंगु र त्यसका लार्भा–फूल नष्ट गर्ने अभियान शुरु भएको छ’–उनले भने ।

डेंगुको उपचार विधि नभएकाले लामखुट्टेबाटै बच्ने उपाय अपनाउनुपर्ने भन्दै जनस्वास्थ्यले नगरपालिकाहरुसँग समन्वय गरेर लार्भा नष्ट गर्ने अभियान थालेको हो । बुटवलमा टोल–टोलमा नष्ट गर्ने अभियान शुरु हुने नगर प्रमुख शिवराज सुवेदीले बताए ।

रुपन्देहीमा एक सातासम्म घरदैलो अभियान चलाइएको छ । प्रत्येक घरमा पुगेर सफा पानी जम्ने भाडा र स्थलहरु नष्ट गरिने छ । डेंगुको संक्रमण बढेपछि रगतको अभावसमेत शुरु भएको छ । लुम्बिनी अञ्चल अस्पताल, युनिभर्सल मेडिकल कलेज, बुटवल हस्पिटललगायतका स्वास्थ्य संस्थामा डेंगुका बिरामी उपचारमा रहेका छन् । कतिपयलाई काठमाण्डौं पठाइएको लुम्बिनी अञ्चल अस्पतालले जनाएको छ ।