सुदूरपश्चिममा डेङ्गुले प्रकोपको रुप लिँदै - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सुदूरपश्चिममा डेङ्गुले प्रकोपको रुप लिँदै



कैलाली- पछिल्लो समय देशभर समस्या बनेको डेङ्गु सङ्क्रमणले सुदूरपश्चिम प्रदेशमा पनि प्रकोपको रुप लिंदै गएको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाबाहेक आठ वटा जिल्लामा डेङ्गुका बिरामी भेटिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बाजुराबाहेक अन्य जिल्लामा गरी ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको बताइएको छ । सबैभन्दा बढी कैलालीमा २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

डेङ्गु नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्न यहाँका १५ वटा स्थानीयतहलाई चालू आर्थिक वर्षमा सङ्घीय सरकारले बजेट उपलब्ध गराएको छ । सुदूरपश्चिम प्रदेशमा रहेको ८८ वटा स्थानीय तहमध्ये पहाडी जिल्लामा समेत डेङ्गुको सङ्क्रमण देखिएपछि सर्तकता अपनाउनका लागि स्थानीय तह अग्रसर भएका छन् ।

डेङ्गु सङ्क्रमण गराउने लामखुट्टेका लार्भा नष्ट अभियानका लागि स्थानीय तहलाई एक लाखदेखि दुई लाखसम्म रकम दिएको बताइएको छ। धनगढी उपमहानगरपालिका र भीमदत्त नगरपालिकालाई रु दुई÷दुई लाख दिइएको छ ।

लार्भा नष्ट गर्न शनिबारदेखि कञ्चनपुरको वेदकोट र कैलालीको टीकापुर नगरपालिकाले अभियान नै शुरु गरेका छन् । यसअघि कैलालीको लम्कीचुहा नगरपालिका, गौरीगङ्गा नगरपालिका, जानकी गाउँपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रभावित क्षेत्रको पहिचान गरी लार्भा नष्ट गरिसकेको छ ।