डेंगु संक्रमणमा भेटियो अनौठो तथ्य - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

डेंगु संक्रमणमा भेटियो अनौठो तथ्य



काठमाडौँ । देशभर डेंगुको संक्रमणले महामारीको रुप धारण गरिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार साउन १ गतेदेखि भदौ २४ गतेसम्ममात्रै ५ हजार ९५ जना डेंगु संक्रमणका नयाँ बिरामी थपिएका छन् ।

मछ्छरको टोकाइबाट सर्ने डेङ्गुको संक्रमण बढिरहेका बेला अर्को अनौठो तथ्य फेला परेको छ । प्राय तराई र पहाडमा मात्र देखिने डेंगु हिमाली जिल्ला मनाङमा समेत पुगेको छ ।

हालसम्म देशका ६१ जिल्लामा डेंगु फैलिसकेको छ भने अझै धेरै जिल्लामा फैलिने क्रम जारी छ । महाशाखाले जनाएअनुसार सबैभन्दा धेरै डेंगुका बिरामी प्रदेश नं. ३ मा भेटिएका छन् । प्रदेश नं. ३ मा ३ हजार १ सय २६ जनामा डेङ्गुको संक्रमण देखिएको हो ।

यस्तै सबै भन्दा पहिला प्रदेश नं. १ मा डेङ्गुको संक्रमण फैलिएको थियो जहान साउनदेखि अहिलेसम्म ८ सय ३१ जना नयाँ बिरामी थपिएका छन् । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको संक्रमण गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा समेत पुगेको महाशाखाले जनाएको छ ।

प्रदेश नं. २ मा ३९, गण्डकी प्रदेशमा ९७२, प्रदेश नं. ५ मा ९७ ,कर्णाली प्रदेशमा ३ र सदूरपश्चिम प्रदेशमा २९ जनामा डेङ्गुको संक्रमण फैलिएको छ । अहिलेसम्म ६ जनाको मृत्यू भईसकेको छ । मृत्यू हुनेको संख्या पनि प्रदेश नं. ३ मा सबै भन्दा धेरै छ । यस प्रदेशमा ४ जना र अन्य प्रदेशमा २ जना गरी अहिले सम्म ६ जनाको निधन भएको महाशाखाले जनाएको छ ।

तथ्याङकअनुसार हालसम्म ८ हजार भन्दा धेरै मानिसमा डेंगुको संक्रमण फैलिसकेको छ। उपचारमा संलग्न चिकित्सकदेखि मन्त्रीसम्मलाई डेंगुको संक्रमण भैसकेको छ ।