देशमै केही गर्ने प्रतिबद्धता र संकल्प बोकेर स्वदेश फर्किए:खरेल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

देशमै केही गर्ने प्रतिबद्धता र संकल्प बोकेर स्वदेश फर्किए:खरेल



नवलपरासी, १५ मङ्सिर ।

झन्डै एक दशक अस्ट्रेलियामा रहेर पत्रकारितासहित विभिन्न पेसा व्यवसाय गर्दै आएका नवलपरासीका सरोज खरेल यति बेला चुनावी मैदानमा छन् । लक्ष्मीप्रसाद देवकोटाले भनेजस्तै, “विदेश आखिर सपना नै हो” । “विपना फेर्ने हो भने स्वदेश फेर्नुपर्छ” खरेललाई यस्तै लाग्यो र देशमै केही गर्ने प्रतिबद्धता र संकल्प बोकेर स्वदेश फर्किए ।

हाल उनी नयाँ शक्ति पार्टी नेपालबाट नवलपुर क्षेत्र नं. १ ( क) मा प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका छन् । आफ्नै देशमा केही गर्ने उदेश्यका साथ गैँडाकोटमा कपडा गार्मेन्ट सञ्चालक गर्दै आएका उनी देशको अवस्था विरक्तलाग्दो देखेपछि उनलाई लाग्यो, देश बदल्न त राजनीति बदल्नुपर्ने रहेछ । उनी भन्छन् मेरै उमेर समूहका ४० लाखभन्दा बढी युवायुवतीहरु शासकहरुको असक्षमताका कारण विदेशमा निर्वासित जीवन बाँचिरहेका छन् खरेल भन्छन्- अहिले त युवालाई निर्वासित गराउने असक्षम नेता र दलहरू नै त्यही ४० लाख युवा बेचेर भोट मागिरहेका छन् ।

राजनीति ट्र्याकभन्दा बाहिर छ, समृद्धि अनुकूलको राजनीतिलाई जिउँदो बनाउन युवा पनि राजनीतिमा जानै पर्ने उनको ठम्याई छ । बाहिर बसेर गाली गरेर मुलुक बन्दैन, राजनीतिक प्रक्रियाभित्रै समावेश भएर यहाँको फोहोर सफा गर्न सकिन्छ भन्ने लाग्यो उनी भन्छन्, यसकारण म पनि उम्मेदवार बनेर मैदानमा उत्रिएको छु । विदेशमा बसेर विभिन्न कामको अनुभव बोकेका उनले आफ्नो अनुभवलाई स्वदेशमा लागू गर्न चाहेको बताउँछन् । नेपालको विविधतालाई जोड्न सक्ने, भिजन भएका नेता भएको र वाम लोकतान्त्रकि राजनीतिक कार्यदिशा भएको अझ समृद्धिकै नेतृत्व गर्नुपर्छ भनेर स्थापित डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी मेरो रोजाईमा पर्‍यो, उनी भन्छन् म अत्यन्तै उत्साहका साथ चुनावी मैदानमा उत्रिएको छु । जनताको माया र विकल्पप्रतिको उत्कट चाहना र लगाव देखेर हौसिएको छु ।

तपाईँको उम्मेदवारी कसको विरुद्ध भन्ने प्रश्न भुइँमा झर्न नपाउँदै उनले भने,- मेरो उम्मेदवारी गरिबी, बेरोजगारी, पछौटेपन, भ्रष्टाचारविरुद्ध । कुनै दल वा उम्मेदवारविरुद्ध मेरो उम्मेदवारी होइन । गणतन्त्र ल्याउनको लागी आफ्नो पनि महत्त्वपूर्ण भूमिका रहेको बताउदैं उनले भने, एकात्मक राजतन्त्रात्मक व्यवस्थाविरुद्ध लडेर सङ्घीय गणतन्त्रको लागि त हामी लडिसकेका छौँ । अबको राजनीतिले युवाहरूको उद्यमशीलता जगाउनुपर्ने उनको तर्क छ । मतदाताहरुमा देश परिवर्तन भएन, नेताहरूले ढाँटे, बेरोजगारीको अन्त्य भएन, दुःखको दिन गएन भन्ने गुनासो छ, जब म डा.भट्टराईको नेतृत्वमा यो सब अवस्था बदल्न सक्छौँ भनेर मेरा योजनाहरू सुनाउँछु, मतदातामा नयाँ विश्वास र उत्साह बढेको पाउँछु ।

खरेल पुरानो पार्टीहरुमा रूपान्तरणको सम्भावना सकिएसँगै नयाँ पार्टीको औचित्य सुरु भएको तर्क गर्छन् । हुन त वहाँहरुको गठबन्धन बनेको छ, तर वहाँहरुको गठबन्धन माइनस टुमा माइनस टु जोडेको जस्तै हो, जसको नतिजा माइनस चार हुन्छ, उनको तर्क छ, उनीहरू रूपान्तरण भए त हामीले किन दुःख गर्नुपर्थ्यो र ?हिजोका आन्दोलनहरू राजनीतिक व्यवस्था फेर्नका लागि भएकोले पुरानो पुस्तालाई सम्मान गर्नुपर्ने उनको तर्क छ । पुराना पार्टीहरुमा पनि असल नेताहरू छन् र राजनीति बाहिर पनि प्रतिभा र क्षमताहरु छन्, उनी भन्छन्, यी सबैलाई जोडेर युग सुहाउँदो पार्टी बनाउनुपर्छ, नयाँ शक्तिले पनि धेरै मेहनत गर्नुपर्नेछ तर, यो तथ्यलाई स्वीकारेको हुनाले हामी अगाडि जान सक्छौँ भन्ने मेरो विश्वास हो ।

नयाँ शक्तिको पाँच ‘स’ ले पुँजीवाद र समाजवादको असफलताको समीक्षा गरेको र नेपाली मौलिकतामा वाम लोकतान्त्रिक नयाँ मोडेल विकास गरेको खरेलको बुझाई छ । जननिर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेन्डालाई ठुला पार्टीले छाडेकोले नयाँ शक्तिले यो मुद्दालाई प्राथमिकतामा राखेर उठान गर्नुपर्ने बताउँछन् ।

जबसम्म विकास, समृद्धि र प्रगतिका सवाललाई राजनीतिको मूलधारमा स्थापित गरिँदैन, देशलाई समृद्धिको दिशातिर लैजान सकिँदैन भन्ने कुरा अब स्वतः स्पष्ट हुन गएको छ, उनी भन्छन्, यसर्थ, विकास र समृद्धिको मुद्दालाई नै राजनीतिको केन्द्रीय विषय बनाएर नयाँ शक्ति पार्टीले यो देशलाई समुन्नत समाजवादको दिशातिर लैजाने लक्ष्य निर्धारण गरेको छ । यसका लागि युवा पुस्ताको भूमिका निर्णायक हुनेछ ।
आम नागरिकको अवस्था फेर्ने ध्येयका साथ राजनीतिमा लागेका खरेल आर्थिक विकास, समृद्धि र प्रगतिमार्फत् आम नागरिकको मुहारमा मुस्कान भर्ने सपना देखेर राजनीतिमा क्रियाशील छन् ।