बैठकमा देउवाले प्रचण्ड-नेपाललाई बोल्नै दिएनन्- एक्लै प्रस्ताव ल्याए, एक्लै निर्णय गरे - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बैठकमा देउवाले प्रचण्ड-नेपाललाई बोल्नै दिएनन्- एक्लै प्रस्ताव ल्याए, एक्लै निर्णय गरे



काठमाडौं- निर्वाचनको मितिबारे छलफल गर्न बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नेताहरुलाई बोलाएको बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्नै दिएनन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मितिमा सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्डलाई बोल्नै नदिएर चुनावको मिति प्रस्ताव गरेका हुन् ।

बुधबार दिउँसो बालुवाटारमा भएको बैठकमा प्रचण्ड र माधव कुमार नेपालको धारणा आफूलाई थाहा भएको भन्दै देउवाले एकलौटी प्रस्ताव पेश गरेका थिए । प्रधानमन्त्री देउवाको प्रस्ताव अनुसार मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्न सत्तारुढ गठबन्धन तयार भएको छ।

बैठकको सुरुमै गठबन्धनमा आवद्ध माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राख्ने धारणा आफूलाई थाहा भएको बताए पछि अन्य नेताहरू मुखामुख गरेका थिए ।
प्रचण्ड र नेपालले चुनावको मितिका सम्बन्धमा राख्दै आएका धारणाका बारेमा आफू जानकार भएको प्रधानमन्त्री देउवाले बताउँदै मिति प्रस्ताव गरेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा विषय प्रवेश गर्दै देउवाले प्रचण्ड र नेपालको कुरा आफैलाई थाहा भएको बह्न्दै बोल्नै दिएनन् ।

‘यो बैठक चुनावको मितिका बारेमा छलफल गर्न बोलाइएको हो। माधव र प्रचण्डले ल्याउने प्रस्ताव र गर्ने कुराको बारेमा म जानकार छु, चुनाव मंसिर मै हुन्छ। मंसिरमै गरौं, देउवाले बैठकको सुरुवातमै भनेका थिए ।

त्यसपछि देउवाले चुनावको मिति घोषणा गरेर निर्वाचन आयोगलाई जिम्मा दिन प्रस्ताव गरेका थिए । प्रचण्ड र नेपाल भने प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल फागुनसम्म रहेकाले निर्वाचन पनि फागुनमै गर्नुपर्ने प्रस्ताव गर्ने तयारीमा थिए ।

२०७४ साल मंसिरमा निर्वाचन भए पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले फागुनमा शपथ दिएकाले निर्वाचन पनि फागुनमै गर्नुपर्ने उनीहरुको तर्क थियो। गठबन्धनको बैठकमा प्रचण्ड र नेपालले सोही प्रस्ताव अघि सार्ने तयारी गरेका थिए ।

तर, प्रचण्ड र नेपाललाई बोल्नै नदिएर देउवाले एकाएक मंसिरमै निर्वाचन गर्ने घोषणा गरे त्यसपछि प्रचण्ड र नेपाल चुपचाप लागे। बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्रीले प्रचण्ड र नेपालबाट निर्वाचन फागुनमा गर्ने प्रस्ताव आउने बुझेरै उनीहरूलाई बोल्न नदिएका हुन् ।

प्रधानमन्त्रीले मंसिरमा निर्वाचन गर्ने उद्घोष गरेपछि प्रचण्ड नेपाल अप्ठ्यारोमा मात्रै परेनन्, उनीहरुले फागुनमा निर्वाचन गर्ने प्रस्ताव समेत राख्‍न पाएनन । बैठकमा देउवाले मंसिरमा निर्वाचनको मिति घोषणा गर्ने र प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको विषय पनि आयोगले नै टुंगो लगाउने बताएका थिए।

प्रधानमन्त्री देउवाको प्रस्तावपछि बैठकमा उपस्थित सबै नेताहरु मंसिरमा चुनाव गर्न सहमत भए। त्यसपछि बिहीबार बस्‍ने मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते चुनाव घोषणा गर्नेगरी बैठक सकिएको थियो।

यस्तै बैठकमा पाँच दलीय गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जाने सहमति समेत भएको बताइएको छ।