देउवालाई कांग्रेसको भन्दा खाँणको माया धेरै - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

देउवालाई कांग्रेसको भन्दा खाँणको माया धेरै



काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनलाई निलम्बन गर्न पार्टी सभापति शेरबहादुर देउवामाथि चर्को दवाव परेको छ । तर देउवा भने खाँणलाई बचाउन लागिपरेका छन् ।

देउवाकै कारण खाँण पार्टीको निलम्बनबाट तत्काल जोगिएका छन्। बुधबार साँझ बसेको पार्टी पदाधिकारी बैठकमा नक्कली शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई निलम्बन गर्ने विषयले प्रवेश पाएको थियो। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरू उनलाई निलम्बन गर्न प्रस्ताव गरेका थिए।

गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले लागेको प्रस्तावमा छलफल हुन नपाउँदै देउवा भने बैठकबाट हिंडेका थिए । बुधबार बसेको बैठकमा देउवा यो विषयमा बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा छलफल गर्ने भन्दै बैठकबाट उठेका थिए।

बिहीबारको बैठकपछि यो प्रकरणमा मुछिएका खाँणलाई निलम्बन नगर्ने निष्कर्षमा कांग्रेस पुगेको छ। बिहीबारको बैठकमा यसबारे छलफल भए पनि नेता खाँणलाई निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा भने निष्कर्षमा पुग्न सकेन। एक नेताका अनुसार पार्टीको भन्दा देउवालाई खाँणको माया भएको बताए ।

बैठकमा पार्टीको साख जोगाउन भएपनि तत्कालका लागि खाँणलाई निलम्बन गर्नुपर्ने माग उठेको थियो । यसैपनि पार्टीको साख खस्केको छ, खाँणलाई निलम्बन गर्दा कार्यकर्तामा राम्रो संदेश जाने नेताहरूले बताउँदा देउवाले वास्ता नै गरेनन् ।

सहमहामन्त्री जीवन परियारले खाँणका सम्बन्धमा छलफल भए पनि कुनै निष्कर्ष ननिकालेको बताए। खाँणमाथि लागेको आरोप प्रमाणित भइ नसकेकोले यसबारे कुनै निष्कर्ष नआएको उनको भनाइ छ।

‘पक्राउ पर्ने बित्तिकै कोही दोषी ठहर भएको हुँदैन, ऊ आरोपितमात्रै हो। बालकृष्ण खाँणको हकमा पनि त्यही कुरा हो,’ बैठकपछि परियारले भने,‘अनुसन्धान हुन्छ। त्यसपछि मुद्दा अदालतमा पुग्छ। अदालतले दिएको निर्णय सबैले मान्ने हो।’

कांग्रेस कहिल्यै पनि दोषीलाई उन्मुक्ति दिने पक्षमा नरहेको उनले बताए। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई बुधबार बिहान प्रहरीले मैजुबहालस्थित उनको निवासबाट पक्राउ गरेको थियो।

जिल्ला अदालत काठमाडौंले खाँणलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। कांग्रेस बैठकमा नीति महाधिवेशन, भातृ तथा शुभेच्छुक संस्थाहरूलाई पूर्णता दिने र केन्द्रीय कार्यसमिति बैठक बोलाउने विषयमा पनि छलफल भएको छ।