खाँण, आरजु र मन्जु जोगाउन देउवा सक्रिय, युवा नेता भनिएका पनि चुइक्क बोल्दैनन् - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

खाँण, आरजु र मन्जु जोगाउन देउवा सक्रिय, युवा नेता भनिएका पनि चुइक्क बोल्दैनन्



नक्कली भुटानी शरणार्थी  बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा नेपाली कांग्रेसका हाइप्रोफ़ाइल नेताहरू जोडिएपछि अनुसन्धान प्राभावित पार्ने प्रयास भैरहेको खुलेको छ । रायमाझी फरार भएपछि यसमा अन्य नेताहरूको पनि संलग्नता खुल्दै गएको छ ।

नक्कली शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललगायतले कांग्रेस नेताहरू बालकृष्ण खाँण, उनकी श्रीमती मञ्जु खाण र सभापति शेरबहादुर देउवापत्नी आरजु राणाको नाममा करोडौँ रकम दिएको बयान दिएका छन् । भने यसको अडियो समेत बाहिरिएको छ ।

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको परिवार नै मुछिएपछि यसको अनुसन्धान प्रभावित हुने देखिएको हो । पछिल्लो प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति देउवाको भेटलाई यसै अर्थमा हेरिएको छ ।

यो घटनाबारे कांग्रेस अहिलेसम्म मौन बसेको छ । कांग्रेसका कुनैपनि नेताहरूले मुख खोलेका छैनन् । सामाजिक सञ्जालमा एमालेका सचिवलाई पक्राउ पूर्जी जारी गर्दा उनीहरूलाई छुट दिइएको र बचाउन खोजिएको आक्रोश पोखिएको छ । एमाले अध्यक्ष ओलीले पनि जोडिएका कोहीलाई बाटोमै हत्कडी लगाउने कसैलाई उन्मुक्ति दिने प्रपन्च भएको सार्वजनिक रूपमै बोलेका छन् । 

कांग्रेसका हाइप्रोफ़ाइल नेताहरू जोडिएपनि उनीहरूमाथि प्रहरीले पक्राउ पुर्जी जारी भने गरिसकेको छैन र बयानका लागि पनि बोलाएको छैन । एमाले सचिव मुछिएकोबारे चर्को बोलेका कांग्रेस नेताहरू कांग्रेसकै नेताहरू मुछिएपछि तै चुप मै चुप बनेका छन् । एमाले नेताको बारेमा चर्का तर्क गरेका नेता पनि मुखबाट शरणार्थी प्रकरण उच्चारण गर्न छोडेका छन् ।

इतिहासकै गम्भीर काण्ड र त्यसमा आफ्ना नेता जोडिएपछि कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने थियो । युवा नेताहरूले यसबारे आवाज उठाउनुपर्ने थियो । त्यो त परे जवस बरू उनीहरू आयोग गठन गर्ने भन्दै विषयान्तर गर्न लागिपरेका छन् ।

कांग्रेस नेतृत्वले नक्कली भुटानी शरणार्थी प्रकरणका मुछिएका नेताहरूको संरक्षणको प्रयास गरिरहेको केही नेताहरूले बताउँछन् । सभापति देउवा अनुसन्धान प्रभावित पार्न लागिपरेको कांग्रेस वृत्तमा चर्चा छ । घटनालाई सामसुम पार्न सभापति देउवा नै सक्रिय भएको कांग्रेस नेताहरूले बताउने गरेका छन् ।

यसमा संलग्नलाई पार्टीबाट कारबाही गर्नु त परको कुरा यसरी खुलेआम अपराधि बचाउने खेलमा पार्टी नेतृत्व लागेपछि कार्यकर्ता तहमा थप नैरास्यता देखिएको छ । यसैपनि कांग्रेसको गिरेको साख उठाउने यो मौकामा कांग्रेसले आफ्नै खुट्टामा बन्चरो हानेको चर्चा छ ।