वाम एकता हुने संकेतले तनावमा देउवा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

वाम एकता हुने संकेतले तनावमा देउवा



काठमाडौं – नेपालका कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउन विभिन्न कम्युनिष्ट पार्टीका शिर्ष नेताहरु अहिले लागि पर्न थालेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि वाम एकता आवश्यक रहेको कुरा गरिरहेका छन् ।

शनिवार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले नेपालका कम्युनिष्ट पार्टीहरूलाई वामपन्थी एकतामा आउन आग्रह गरे । उक्त कार्यक्रममा उनले वामपन्थीहरू एक हुनुपर्नेमा जोड दिएका थिए । उनले भने – ‘वामपन्थी कोही हुनुहुन्छ भने गठबन्धन छाड्नुहोस्, वाम एकता गरौँ ।’

उनले मुलुकको आधारभूत मूल्य मान्यता राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, सुशासन र मुलुकको विकासका लागि सबै दल मिल्नुपर्ने उनको भनाई छ । सोही कार्यक्रममा माओवादीका नेता नारायणकाजी श्रेष्ठले पनि वामपन्थी शक्ति एकता भए मात्र मुलुकको स्वाधिनताको रक्षा हुने भन्दै सबैले एकताका लागि पहल लिनुपर्ने बताए । पार्टी एकता तत्काल नभए पनि मोर्चा वा गठबन्धन गर्नुपर्नेमा नेता श्रेष्ठको जोड थियो ।

नेकपा विभाजन र खारेजीपछि राजनीतिबाट निष्क्रिय रहेका वामदेव गौतम निरन्तर लागिपरेका छन् । कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याउने अभियानमा लागेका गौतमले एकपछि अर्का शिर्ष नेताहरुलाई भेट पनि गरिरहेका छन् । वाम एकताको बिषयलाई लिएर उनले एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, यही पार्टीका सम्मानीत नेता झलनाथ खनाल र माओवादीका नेता श्रेष्ठलाई पनि भेट गरेका थिए ।

वामदेवले कम्युनिस्ट पार्टीहरुलाई एकता गराउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र ओलीलाई नजिक बनाउन खोजिरहेका छन् । दुवैलाई नजिक्याउन मध्यस्थकर्ता बनेका बामदेव आफ्नो अभियानलाई निरन्तरता दिएका छन् । आउँदो प्रतिनिधि सभा र संघको चुनाव नहुँदै एकता गराउने उनको सोच छ ।

२०७४ को स्थानीय चुनावमा बनेको गठबन्धन प्रतिनिधि सभा र संघको चुनावसम्म पनि टिक्न सकेको थिएन । प्रचण्ड ओलीसँग मिल्न जाँदा नेपाली कांग्रेसलाई झड्का लागेको थियो । यदि अहिले पनि कम्युनिस्ट पार्टीहरु एक हुने अवस्थामा पुगेमा फेरि कांग्रेस सभापति शेरबहादुर देउवालाई ठुलो झड्का लाग्ने देखिन्छ ।