गठबन्धन तोडिएको दोष शेखर-गगन समूहमाथि थोपर्ने देउवा समूहको तयारी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

गठबन्धन तोडिएको दोष शेखर-गगन समूहमाथि थोपर्ने देउवा समूहको तयारी



गठबन्धन टुटेपछि नेपाली कांग्रेसमा बबण्डर मच्चिएको छ । सभापति शेरबहादुर देउवा रक्षात्मक बनिरहेका छन् भने उनी निकट नेताहरू सम्पूर्ण दोष इतर समूहलाई लगाउने तयारीमा लागेका छन् । पार्टीको अब बस्ने बैठकमा शेखर- गगन समूहकै कारण गठबन्धन टुटेको आरोप लगाउने तयारीमा देउवा समूह लागेको बुझिएको छ ।

सत्ता राजनीतिबाट बढारिनुपर्ने अवस्था आएपछि कांग्रेस सभापति देउवा रक्षात्मक अवस्थामा छन्। प्रधानमन्त्री नछाड्ने देउवाकै अडानले एमालेसहितका सात दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि संसद्को पहिलो दल प्रतिपक्षमा बस्ने परिस्थिति बनेको छ।

इतर समूहलाई दोष लगाउने देउवा समूहको तयारीबारे पार्टीका प्रवक्ता प्रकाशशरण महतले छनक दिइसकेका छन् । देउवानिकट नेता महतले इतर समूहका जिम्मेवार पदाधिकारीसहितका नेताले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउँदै गठबन्धन टुट्नुमा उनीहरू पनि जिम्मेवार रहेको बताए।

पार्टीको निर्णय कार्यान्वयन र निर्णायक भूमिका निभाउनुपर्ने पदाधिकारीले दोहोरो चरित्र देखाएको र यसबारे केन्द्रीय समितिमा छलफल हुने डा. महतको जिकिर छ। ‘आफूले केही भूमिका नखेल्ने र अरूलाई दोष लगाउनेभन्दा गैरजिम्मेवार के हुन्छ ? महामन्त्रीले कुरेर बसेँ भन्नुभयो। पार्टीको कामका लागि महामन्त्रीले पर्खिनुपर्छ ? केन्द्रीय कार्यसम्पादन समितिले पार्टीकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो,’ उनले भने, ‘यो नहुने अवस्थामा गठबन्धनको निरन्तरताका लागि विकल्प के भनेर कुरा राख्नुपथ्र्यो। उहाँहरूले जिम्मेवारी नै होइन भन्न मिल्छ ? प्रधानमन्त्री प्रचण्डलाई नै दिएको भए पनि पहिलो पार्टीले तेस्रो पार्टीलाई प्रधानमन्त्री दियो भनेर आलोचना हुने नै थियो। यो दोहोरो चरित्र भयो।’

यता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार, नेताहरू मीनेन्द्र रिजाल, नेता केसीलगायत काठमाडौंमा उपलब्ध पदाधिकारीसहितका नेताको बैठक बसेको थियो। इतरले नीति– अधिवेशनका लागि समेत दबाब दिने तयारी गरेको छ।

एक नेताका अनुसार इतरले सभापतिसँगै उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, आरजु राणा देउवालगायतलाई जिम्मेवार मानेको छ।

४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेश सभा दुवैमा पहिलो बनेको कांग्रेस देउवाको प्रधानमन्त्री बन्ने अडानका कारण अन्तिम अवस्थामा प्रमुख प्रतिपक्ष दल बन्नुपर्ने अवस्थापछि पार्टीभित्र तीव्र असन्तुष्टि छ। यसको जिम्मेवारी पार्टी सभापति देउवाले लिनुपर्ने आवाज पनि कांग्रेस असन्तुष्ट समूहले उठाएको छ।