देउवाको बालहठले सबैभन्दा ठूलो दलले सबथोक गुमायो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

देउवाको बालहठले सबैभन्दा ठूलो दलले सबथोक गुमायो



काठमाडौं । सभापति शेरबहादुर देउवाको सत्ता मोहका कारण संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सबथोक गुमाएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने भएपछि कांग्रेस प्रतिपक्षी बेञ्चमा रहने भएको हो ।

प्रचण्डसँग गरेको सहमति पूरा गर्न देउवा तयार नहुँदा कांग्रेसले संघीय सरकार र प्रदेश सरकार बनाउने अवस्था आएको हो ।

सत्ता समीकरण फेरबदल भएसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र उपसभामुखलगायतको सबै पद कांग्रेसले गुमाउने अवस्था बनेको छ ।

माओवादी र एमाले एक ठाउँमा हुने बित्तिकै सुदूरपश्चिम बाहेक सबै प्रदेशमा कांग्रेस प्रतिपक्षी बनेको छ । सुदूरपश्चिममा भने नागरिक उन्मुक्ति पार्टी निर्णायक भएकाले त्यहाँ कसको सरकार बन्छ भन्ने टुङ्गो छैन ।

कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच पहिलो कार्यकालमा प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति भएको थियो । तर, अन्तिम समयमा देउवाले प्रधानमन्त्री नछोड्ने भएपछि माओवादी एमालेसँग सहकार्य गर्न पुगेको हो ।

गठबन्धनको बैठकमा देउवाले बारम्बार ‘साथीहरूले प्रधानमन्त्री नछोड्न दबाब दिएका छन्’ भन्दै प्रधानमन्त्री दाबी गरिरहेका थिए । तर, कांग्रेसको परम्परा हेर्दा र देउवाको निर्णय गर्ने परिपाटी हेर्दा देउवा एक्लैले निर्णय गरेपछि त्यो निर्णय कांग्रेसको निर्णय हुने गरेको छ ।

यदि, देउवाले प्रधानमन्त्री छोडेर गठबन्धन जोगाउन निर्णय गरेको भए सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने अवस्था आउने थिएन । तर, देउवा अन्तिम अवस्थामा लोभिएका कारण कांग्रेसले सबथोक गुमाएको छ ।