देउवाको अमेरिका भ्रमण नरोके माओवादी सरकारबाट बाहिरिने - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

देउवाको अमेरिका भ्रमण नरोके माओवादी सरकारबाट बाहिरिने



काठमाडौ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण नरोके सरकारबाट बाहिरिने तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवा यही असार दोस्रो साता अमेरिका जाने तयारीमा जुटेको बेला सत्तारुढ दल माओवादी केन्द्रले भने प्रधानमन्त्रीको अमेरिका भ्रमण रोक्नेगरि तयारी थालेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अध्यक्ष दाहालले प्रधानमन्त्री देउवालाई अमेरिकाको भ्रमण रोक्न आग्रह गर्ने तयारी भएको सुझाव दिए । यदि आफूहरुको आग्रह प्रधानमन्त्री देउवाले बेवास्ता गरे सरकारबाट बाहिरिनेसम्मको तयारी रहेको गुरुङको चेतावनी छ । अहिले प्रधानमन्त्री देउवाले अमेरिकाको भ्रमण गर्नु उपयुक्त नहुने माओवादीको निश्कर्ष छ ।

संसद्बाट अमेरिकी सहयोग परियोजना एमसीसी पास भएपछि नेपालमा अमेरिकी अधिकारीहरुको उच्चस्तरीय भ्रमण भैरहेका छन् । यही अवस्थामा प्रधानमन्त्री देउवा पनि अमेरिका जाने तयारीमा छन् । उनको भ्रमणको तयारीमा दुवै देशले आवश्यक गृहकार्य थालिसकेका छन् । तर, नेपालमा भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मात्रै नभएर सत्तारुढ दलले नै प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे प्रश्न उठाउन थालेका छन्

प्रधानमन्त्री देउवाको भ्रमणको तयारी परराष्ट्र मन्त्रालय र अमेरिकी ‘डिपार्टमेन्ट अफ स्टेट’ (विदेश मन्त्रालय)ले नभएर रक्षा मन्त्रालयको तहमा अर्थात् अमेरिकी डिपार्टमेन्ट अफ डिफेन्स र नेपालको पनि रक्षा मन्त्रालयबाट भैरहेको भनेर एमाले सांसद प्रदिप ज्ञवालीले आवाज उठाएका थिए । ज्ञवालीले यसबारेमा सरकारले जवाफ दिनुपर्ने मागसमेत गरेका थिए । अमेरिकी सेनाका प्रशान्त क्षेत्रका प्रमुख चाल्र्स ए। फ्लिन नेपालको भ्रमण गरेका थिए भने प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाँदैछन् ।