कम्युनिष्टले संविधान र लोकतन्त्र सिध्याउन थाले : देउवा - Himal Post Himal Post
  • २ बैशाख २०८१, आईतवार
  •      Sun Apr 14 2024
Logo

कम्युनिष्टले संविधान र लोकतन्त्र सिध्याउन थाले : देउवा



अछाम :

नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको संस्थागत विकास गरी कसैले खोस्न नसक्ने लोकतन्त्र स्थापित गर्न नेपाली कांग्रेसले जित्नुको विकल्प नरहेको बताएका छन्।

कांग्रेसकै नेतृत्वमा प्राप्त भएको लोकतन्त्र बचाइराख्नका लागि पनि यस चुनावमा कांग्रेसले जित्नुको विकल्प नरहेको औँल्याउदै देउवाले जनता देशको मालिक भइराख्ने कि एकदलीय कम्युनिस्ट शासन लागु गर्न दिने भन्ने बारेमा जनताले गम्भीर भएर सोच्ने बेला आएको बताए।

नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ ले साँफेबगरमा र क्षेत्र नम्बर २ ले सदरमुका मंगलसेनमा शुक्रबार गरेको छुट्टाछट्टै चुनावी सभालाई सम्बोधन गर्दै देउवाले उक्त कुरा बताएका हुन्।

जनताको ठूलो त्याग र बलिदानीबाट प्राप्त भएको संविधान सभाबाट बनेको संविधान खारेज गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउँदै देउवाले कम्युनिस्टले जितेमा देशमा एक दलीय कम्युनिस्ट शासन लागु हुने र त्यसबाट संविधान र लोकतन्त्र खतरामा पर्ने बताए।

‘स्थायी लोकतन्त्र र स्थायी संविधान बनाउनका लागि कांग्रेसलाई मत दिएर जिताउनुहोस्’, सभापति देउवाले भने, ‘यदि कांग्रेसले चुनाव हारेमा जनताले पनि दुःख पाउँछन्, लोकतन्त्र पनि खतरामा पर्छ।’ कम्युनिस्ट शासन लागु भएका देशमा चुनाव पनि कहिलै नुहुने भन्दै देउवाले कुनै पनि हालतमा कम्युनिस्टले जित्न नहुने बताए।

‘कांग्रेसले जितेमा फेरि पनि म नै प्रधानमन्त्री हुँ’, देउवाले भने, ‘यति बेला भोट दिएर कांग्रेसलाई जिताउनुहोस् प्रधानमन्त्री भएपछि जे–जे विकास माग्नु हुन्छ सबै दिन तयार छु।’ कांग्रेसले जितेमा प्रधामन्त्रीलाई गाली गर्न पाउने अधिकार पनि जनतामा सुरक्षित हुने भन्दै देउवाले कम्युनिस्टले जिते भने तानाशाह लागु हुने आरोप समेत लगाए।