देउवाको प्रस्ताव: भाग मिलाएर खाउँ, बेकारको आन्दोलन किन चाहियो ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

देउवाको प्रस्ताव: भाग मिलाएर खाउँ, बेकारको आन्दोलन किन चाहियो ?



काठमाडौं- ‘४५ मा ३८ भयो, अब सात बाँकी छ, चैत्रमा साबित्री गुरुङको ठाउँ खालि भएपछि अख्तियारको त्यो सिट र प्रेम राईलाई हाजिर गराउँदा गणेश जोशीले बीचैमा राजीनामा दिए भने रिक्त हुने अर्को एक सिटमध्येबाट पनि भाग आउँछ । ती सबैमा बाँडौँ, तर आन्दोलनचाहिँ नगरौँ !’

अघिल्लो सोमबार, जब नेपाली कांग्रेसले विघटनविरुद्ध देशभरि प्रदर्शन र सभा गर्दै थियो, त्यसको अघिल्लो दिन (आइतबार) विहान बूढानीलकण्ठमा खाना खान बोलाइँदा सभापति शेरबहादुर देउवाले दिएको अफर हो यो । पाहुना थिए, महामन्त्री डा.शशांक कोइराला, मीनेन्द्र रिजालसहित । अफर थियो, विभिन्न संवैधानिक आयोगका नियुक्तिबारे । यही सन्देश रामचन्द्र पौडेल र कृष्ण सिटौलाकहाँ पु-याउने जिम्मा थियो, मीनेन्द्र रिजाललाई । तर, सिटौलाबाट जवाफ आयो, ‘केपी ओलीको उधारोमा नपरौँ, आन्दोलन नै गरौँ !’

यसरी नेपाली कांग्रेस संसद विघटनविरुद्ध सडकमै छ । तर, शीर्ष नेतृत्वमा अझै पनि मिल्न नसकेको कुरा हो ठूलाठालू, विदेशी, अदालत र भएभरका सरकारी संयन्त्रले सुन्ने गरी शहरका सडक तताउने कि गाउँ र वडा पसेर बूढाबूढीका सामु कालो झण्डा देखाउने ? यसैकारण देउवाको वर्चस्व रहेको नेविसंघ र तरुण दल सडकमा त्यति देखिएका छैनन् ।

खाना खान बोलाइएका नेतासँग देउवाले भने, ‘रामचन्द्रजीले कुरा बुझ्नुभएको छैन । खालि मलाई तल झार्न पपुलर कुरा समातेर बस्नुभएको छ । संसदको पुनर्स्थापना पपुलर इश्यु हो भन्ठान्नु भएको छ । तर, त्यसले नेपाली कांग्रेसलाई फाइदा गर्छ कि गर्दैन भन्ने कुरातिर जानुभएन । मैले ओलीको कदम ठीक कहिल्यै भनेको छैन । तर, संसद पुनर्स्थापनाको मुद्दालाई अभियानको पक्षमा लैजाने पक्षमा पनि छैन । किनभने, कांग्रेसलाई त्यसले फाइदा गर्दैन ।’

उनले दुई मुद्दामा ओलीले कांग्रेसलाई कर्नरमा पारेको सुनाए– ‘एउटा राष्ट्रियताको र अर्को विकासको मुद्दा । त्यसमाथि जब प्रचण्डसँग केपीजी जोडिए, तब त्यो मित्रता धेरै वर्षसम्म कायम रहने भयो । अहिले पार्टी फुटेको बेला त्यो मित्रता बाँकी रहेन’, देउवाले भने, ‘यो बीचबाट नेपाली कांग्रेस अगाडि आउने मौका हो । रामचन्द्रजीलाई कांग्रेसको माया त लाग्छ, तर मेरो रिसले त्यो कुरा मान्नु हुन्न !’

अनि, यही टोली अलग्गै बस्यो, रामचन्द्रसँग । उनको कुरा थियो ‘संसदको पुनर्स्थापना हुनुपर्छ । नभए केपीले लोकतन्त्र खाइदिन्छन् । ओलीले संघीयता, संविधान सबै खत्तम बनाउँछन् ।’ उनले राष्ट्रपति र प्रधानमन्त्री एक ठाउँमा हुनुहुँदैन भन्ने कुरा पहिलादेखि आफूहरुले भन्दै आएको स्मरण गराउँदै अहिले ठीक विपरितको परिस्थिति हुनु खतराको विषय भएको औंल्याएको जनआस्थाले लेखेको छ ।

‘अब यी दुई (प्रधानमन्त्री र राष्ट्रपति) मिलेर संविधान र लोकतन्त्र नै खत्तम पार्छन्’ उनले भने, ‘ओलीसँग लड्न राजासँग भन्दा कठिन हुन्छ । किनभने, राजासँग पार्टी थिएन, योसँग पार्टी छ । शेरबहादुरले केही गलत काम गरेका कारण ओलीसँग मिल्न चाहेका हुन् । हामीले त के गलत ग-यौँ र ओलीको भुलभुलैयामा लाग्नलाई ?’