आन्दोलन गर्न पैसा छैन भनेपछि विवादमा तानिए देउवा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

आन्दोलन गर्न पैसा छैन भनेपछि विवादमा तानिए देउवा



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवादास्पद अभिव्यक्ति दिएका छन् । नेपाल मगर संघ गण्डकी प्रदेशको सम्मेलनमा पोखरा पुगेका देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको बताएपछि अहिले उनी आलोचनाको शिकार बनेका छन् ।

देउवाले आन्दोअलाका लागि पैसा चाहिने भनेपछि अहिलेसम्म कांग्रेसले गरेका ठुला आन्दोलन पनि पैसाकै बलमा गरिएको अर्थ लागेको छ । त्यतिमात्र होइन पैसा नभए देशमा कसैले आन्दोलन गर्न नसक्ने अर्थ समेत उनको अभिव्यक्तिले लागेको चर्चा भैरहेको छ ।

उनले पोखरामा आन्दोलन गर्न आफूसँग पैसा नभएकाले अदालतको आदेश कुरिरहेको बताएका थिए ।

सभापति देउवाले भनेका छन्, ‘हामीसँग पैसा पनि छैन । जबरजस्ती आन्दोलनमा बोलाउन पनि सक्दैनौं, ‘क्रियाशील लिने बेलामा मारामार हुन्छ, भोलि आन्दोलनमा क्रियाशील मात्र आऊ न भन्यो भने कोही आउँदैनन् ।’

उनको यो अभिव्यक्तिले छुट्टै बहस सुरू हुने पक्का छ । सँगै उनीपनि आलोचनाको केन्द्रमा आउने निश्चित भएको छ । कतिपय सामाजिक संजाल प्रयोगकर्ताले उनको आलोचना सुरू गरिसकेका छन् ।

सर्वोच्च अदालतको आदेश नै अहिलेको समस्या समाधानको निकास हुने भन्दै देउवाले भने, ‘हठात् प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुवीकरणमा लगे, संसद् पुन:स्थापनाको पक्ष/विपक्षमा बाँडिनु गलत हो, यसको निकास अदालतले दिन्छ।’

उनले अदालतबाट आउने फैसला स्वीकार गर्ने र संसद् पुन:स्थापना भए सदनमा र नभए चुनावमा जाने बताएका छन् ।

आक्रोशित देखिएका देउवाले विवादमा आउनेगरी दिएको यस्तो अभिव्यक्तिले कांग्रेस पार्टीभित्रै तरङ्ग देखिएको छ ।