देउवाले मनोमानी गर्न थालेपछि कांग्रेसमा फेरि विवाद - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

देउवाले मनोमानी गर्न थालेपछि कांग्रेसमा फेरि विवाद



काठमाडौँ- नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले आफ्ना गुटका व्यक्तिहरूलाई मात्रै केन्द्रीय सदस्यमा मनोनित गरेपछि विवाद सुरू भएको छ । देउवा इतर समूहका नेताहरूले यसको चर्को विरोध गरेका छन् ।

यस्तै कांग्रेस नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले महाधिवेशनबाट निर्वाचित भइसकेपछि निष्पक्षरुपमा प्रस्तुत हुने प्रयास नगरेको आरोप लगाएका छन् । नेता केसीले केन्द्रीय सदस्य मनोनयन गर्ने क्रममा देउवाले आफूलाई सहयोग गर्नेहरूलाई मात्रै मनोनयन गरेको भन्दै पार्टीमा साझा सभापतिको रुपमा निष्पक्ष व्यवहार गर्न नसकेको टिप्पणी गरेका छन् ।

दुई चरणमा केन्द्रीय सदस्य मनोनयन गर्दा पनि जिम्मेवार साथीहरू छुटाएको उनको आरोप छ । देउवाले सहयोगी सिवाय कसैलाई मनोनीत नगरेको भन्दै नेता केसीले अहिले जो मनोनीत भएका छन्, उनीहरूबारे आफ्नो आपत्ति नभएको तर अहिलेसम्म मनोनीत भइसक्नुपर्ने नेताहरूलाई छुटाउने नियत देखिएको बताएका छन् ।

त्यतिमात्रै होइन उनले देउवा आफैँ गुटबन्दी गर्न उद्धत देखिएको बताए । पार्टीमा ४० प्रतिशत लिएर आएको पक्षका नेताहरूलाई देउवाले सन्तुलन गर्न नसकेको उंले बताएका छन् । देउवाको यस्तो हर्कतले पार्टीमा समस्या ल्याउने उनको भनाई छ।

पदाधिकारीमै पराजित हुने नेताहरू मनोनीत भइसकेका छन्, तर पदाधिकारीमै पराजित भएका महेश आचार्य, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी जस्ता नेताहरू छुटाएर पाखा लगाउन खोजिएको उनले बताए ।

देउवाले शनिबार र आइतबार गरी १३ जनलाई मनोनीत गरेका छन् । देउवाले शनिबार रामचन्द्र पौडेल कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशसरण महत, सुजाता कोइराला, नारायण खड्का, उमा रेग्मी र मीन विश्वकर्मालाई मनोनीत गरेका थिए भने आइतबार कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई मनोनीत गरेका छन् ।