देउवा र ओलीको गालीगलौजको प्रतिस्पर्धा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

देउवा र ओलीको गालीगलौजको प्रतिस्पर्धा



काठमाडौं:

चुनावी प्रचारक्रममा कांग्रेस र वाम गठबन्धनका नेता एक-अर्काविरुद्ध खनिन थालेका छन् । जिल्ला दौडाहामा रहेका शीर्ष नेता नै ‘अशिष्ट शैली’ मा गालीगलौजमा उत्रिन थालेका हुन् । एकले-अर्कोलाई लोकतन्त्र मास्ने खेलमा लागेको, पश्चगमन ब्यूँताउन लागेको, सम्मान गर्न नजानेको जस्ता आरोपसहित नेता चुनावी अभियानमा होमिएका छन् ।

एमाले-माओवादीले पार्टी एकताको सैद्धान्तिक सहमति गरी चुनावी तालमेल गरेसँगै दुई धु्रवीय राजनीतिमा विभाजित वामपन्थी र लोकतान्त्रिक शक्तिबीच आरोप-प्रत्यारोप हुन थालेको हो । चुनावको मुखमा मतदातालाई प्रभावमा पार्न दलहरू हदैसम्मका आरोप-प्रत्यारोपमा उत्रिएको बुझाइ मनोविश्लेषकको छ ।

मनोविश्लेषक प्रोफेसर डा. शिशिर सुब्बा ५०÷६० वर्षअगाडिको जस्तो राजनीति अहिले नरहेको र मतदातालाई प्रभावित गर्न उत्तेजित भाषण गर्ने शैली विकास हुँदै गएको बताउँछन् । ‘अहिले आइडियोलोजी (विचार) कुरैमा सीमित छ, सर्वसाधारणलाई साथ लिन दलका नेताले जे पनि बोल्न थालेका छन्,’ उनले अन्नपूर्णसँग भने, ‘पढे-लेखेका, विद्वता भएका मान्छेको समूह सानो छ । धेरै मतदाता न्युट्रल छन्, उनीहरूलाई पक्षमा तानेर कसरी चुनाव जित्ने भन्नेमै छन्, सडकको डिमान्ड पनि त्यस्तै छ । त्यसैले नेता उत्तेजित शैली र छुद्र भाषामा सडक तताउन खोज्छन् ।’

‘अहिले आइडियोलोजी (विचार) कुरैमा सीमित छ, सर्वसाधारणलाई साथ लिन दलका नेताले जे पनि बोल्न थालेका छन् ।’ – डा. शिशिर सुब्बा, मनोविश्लेषक प्रोफेसर

भाषणमा मात्रै होइन, चुनावी घोषणापत्रमै पनि दलहरू एक-अर्को पार्टीविरुद्ध खनिएका छन् । कांग्रेसले वाम गठबन्धन मुलुकका लागि अनिष्ट भएको, कम्युनिस्टले अधिनायकवादी व्यवस्था ल्याई सर्वसत्तावाद लाद्न खोजेको जस्ता आरोप घोषणापत्रमै लगाएको छ । उता, वाम गठबन्धन (एमाले-माओवादी) ले पनि आफ्नो चुनावी घोषणापत्रमा कांग्रेसलाई यथास्थितिवादी, पश्चगामी शक्तिका रूपमा चिनाउन खोजेको छ ।

राजनीतिक विश्लेषक लोकराज बराल कांग्रेसले अहिले वाम गठबन्धनलाई सर्वसत्तावादी भनी लगाउँदै आएको आरोप ‘चुनावी अस्त्र’ र एमाले-माओवादीले लामो समयसम्म कांग्रेसविना शासन चलाउने भनी दिएको अभिव्यक्ति अतिशयोक्तिपूर्ण भएको बताउँछन् । ‘अहिले नेपालमा न कम्युनिस्टले सर्वसत्तावाद लाद्न सक्छन् न कांग्रेस नै पछाडि फर्केर जान सक्छ । यस्तो बेला कांग्रेसले वाम गठबन्धनलाई लगाउने आरोप चुनावी अस्त्र मात्र हो । एमाले-माओवादीले कांग्रेसलाई सरकारमा आउनै दिन्नौं भन्नु पनि अतिशयोक्ति हो,’ बरालले अन्नपूर्णसँग भने ।

‘कांग्रेसले वाम गठबन्धनलाई लगाउने आरोप चुनावी अस्त्र मात्र हो । एमाले-माओवादीले कांग्रेसलाई सरकारमा आउनै दिन्नौं भन्नु पनि अतिशयोक्ति हो ।’- लोकराज बराल, राजनीतिक विश्लेषक

नेपालमा मात्र नभई विश्वमै चुनावी प्रचारका बेला दलहरू आरोप-प्रत्यारोपमा उत्रने र उत्तेजित हुने गरेको विश्लेषक बराल बताउँछन् । ‘भारतमा मोदी र राहुल गान्धीको आरोप-प्रत्यारोप र अमेरिकाको चुनावमा हिलारी क्लिटन्न र डोनाल्ड ट्रम्पबीचको आरोप-प्रत्यारोप देखिएकै हो,’ उनले भने, ‘अहिले चुनावका बेला जहाँत्यहीँ यस्तै आरोप चल्छ । नेपालमा पनि चलिरहेको छ ।’

नेपालका राजनीतिक दल भने चुनावका क्रममा बनाउनै पर्ने एजेन्डाभन्दा बाहिर रहेर अहिले सन्दर्भहीन आरोपमा उत्रेको बरालको बुझाइ छ । उनका अनुसार कांग्रेसले विगतमा खेलेको भूमिकाको प्रस्टताका लागि जनताबीच एजेन्डा लैजान सकेको छैन भने वाम गठबन्धनले आफ्ना कार्यक्रम र नीति जनतालाई बुझाउन सकिरहेको छैन । ‘मुल मुद्दा छायामा छन्, सहायक मुद्दामा दलहरू बहसमा उत्रेका छन्,’ उनी भन्छन् ।

प्रधानमन्त्रीको बोली
– कम्युनिस्टले जिते विदेशी लगानी भित्रिँदैन । विदेशीले कांग्रेसलाई मात्र पत्याउँछन् । अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने निर्णय गर्ने बेला आएको छ । (पोखरा÷स्याङ्जा)
– वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा परेको छ । कम्युनिस्टहरू अहिलेको संविधान च्यातेर तानाशाही, राष्ट्रपतीय संविधान बनाउन खोज्दै छन् । हामीले अधिकार माग्न पनि पाउँदैनौं । (दाङ, मलंगवा)
– कम्युनिस्ट शासन आए मुलुकबाट समावेशिता औपचारिक रूपमै अन्त्य भएर जान्छ । जनताका सबै अधिकार खोसिन्छन् । (झापा)
– वामपन्थी हत्या-हिंसा मच्चाउने शक्ति हुन् । उनीहरूसँग देशको विकास गर्ने होइन, बिगार्ने र भत्काउने कामको मात्र अनुभव छ । (तेह्रथुम)

ओलीको बोली :
– वामपन्थीको सरकार बनेपछि लोकतन्त्र जोगिन्छ, कांग्रेसी शासन मासिन्छ । कांग्रेसले लोकतन्त्र भनेको आफूले जित्नुलाई मात्र बुझेको छ । अरूले जित्यो भने उसले अधिनायकवाद देख्छ । (झापा, चन्द्रगढी)
– १९९७ सालमा राणाविरुद्ध लडेका गणेशमान सिंहले आँसु खसाल्दै पार्टी छाड्नुपर्‍यो । कांग्रेसको अहिले कन्तविजोग छ । इमानसँग जम्काभेटसमेत नभएको नेतृत्व अहिले कांग्रेसमा छ । (काठमाडौं, बानेश्वर)
– म भर्खर डडेलधुराको विकास हेरेर फर्किएँ, उहिल्यै बनाएको एउटा खण्डहर सडकबाहेक केही छैन । अनि झापामा आएर विकास भएन भन्ने ? (झापा)
– कांग्रेस पहिला कम्युनिस्ट आए भने बूढाबूढीलाई मार्छन्, खानसमेत दिँदैनन् भनेर भ्रमको खेती गर्थ्यो । अहिले पनि अधिनायकवाद आउँछ, रुन पनि पाइँदैन भनेर हिँड्दै छ । ठीकै हो, कांग्रेसको जस्तो रुने होइन, हामी जनतालाई हाँस्ने दिन ल्याउन सरकार बनाउँदै छौं । (सबैजसो सभामा)

अन्नपुर्ण पोष्टमा रामकृष्ण अधिकारी लेख्छन