देउवा छोडेर निधिलाई विश्वप्रकाशको साथ, देउवा समूह थप तनावमा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

देउवा छोडेर निधिलाई विश्वप्रकाशको साथ, देउवा समूह थप तनावमा



काठमाडौँ- नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले शेरबहादुर देउवाको लाईन छाडेर निधि क्याम्पबाट महामन्त्रीको उम्मेद्वारी दिएका छन् । बीपी जयन्तीको अवसर पारेर बिहीबार महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका शर्माले लामो समय देउवा समूहमा रहेर काम गरेका थिए ।

कांग्रेसमा प्यानल बदल्ने नेताहरू बढ्न थालेका छन् । केही दिनअघि मात्रै उम्मेदवारी घोषणा गरेका युवा नेता गगन थापाले पनि कृष्ण सिटौलाको प्यानल छाडेर रामचन्द्र पौडेलको क्याम्पबाट उम्मेद्वारी दिएका थिए । उनले उम्मेद्वारी घोषणा गरेको केहिदिनमै शर्माले पनि सोहि पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। शर्माको उम्मेदवारी घोषणाले प्रधानमन्त्री शेरबहादुर देउवा र उनको समूहमा सबैभन्दा बढी हलचल निम्त्याएको छ ।

शर्माले संस्थापन समूह छाडेर जाँदा देउवा समूह तनावमा देखिएको छ । देउवा आफैं सभापतिको प्रतिस्पर्धामा छन् । आफ्नो नेतृत्वमा टिम बनाउने गृहकार्य चलिरहेका बेला त्यही टिमका शर्माले उनलाई नपर्खी महामन्त्रीको उम्मेदवारी घोषणा गरेपछि देउवा थप तनावमा परेका छन् ।

शर्माले संस्थापन पक्षबाट महामन्त्री पाउने सम्भावना न्यून थियो । पार्टीमा दुई जना महामन्त्री हुने व्यवस्था छ । त्यसमा देउवाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण र सहमहामन्त्री प्रकाशरण महतमध्येबाट ल्याउने पक्का भैसकेको छ । त्यतिमात्र होइन देउवा प्यानलबाटै यीबाहेक नेतामा एनपी सावद र रमेश लेखक पनि महामन्त्रीका दाबेदार हुन् । उनीहरूको व्यवस्थापन गर्ने अर्को कठिन चुनौती देउवासामु भैरहेको बेला शर्माको उम्मेदवारीले तनावको स्थिति बनेको छ ।

थापा र शर्माको घोषणाले ७५ वर्ष उमेर कटेका पहिलो र ६५ देखि ७२ वर्ष तलका दोस्रो पुस्ताका नेतालाई नेतृत्वको मैदान छाडेर आफ्नो उमेर समूहको पुस्ताले १५ औं महाधिवेशनबाट मात्रै नेतृत्वमा दाबी गर्ने सन्देश दिएका छन् ।

देउवाले सहमहामन्त्री बनाउने तयारी गरेकै बेला गत सोमबार शर्माले सभापति देउवालाई भेटेर महामन्त्रीमा उम्मेदवारी दिने जानकारी गराएका थिए । त्यतिबेला देउवाले शर्मालाई अहिले घोषणा नगर्नुस भनेका थिए । कांग्रेसमा अहिले नेता ब्यबस्थापन मुख्य चुनौती भएकै बेला शर्माको उम्मेदवारी देउवाको लागि अर्को झट्का हो ।

शर्मा क्याम्पस इकाइको अध्यक्षदेखि सिँढी चढ्दै २०५७ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष भए । दुई वर्षभन्दा एक दिन पनि बढी–घटी नेतृत्वमा नरहेका उनले गुरु घिमिरे र गगन थापालाई संघको जिम्मेवारी सुम्पेर कांग्रेसको राजनीतिमा होमिएका थिए ।

दुईवटा संसदीय निर्वाचन हारेका उनी पार्टीमा १३ औं महाधिवेशनमा पहिलोपल्ट केन्द्रीय सदस्य भएका हुन् । सिटौला बाहिरिएपछि २०७४ पुस २५ मा देउवाले शर्मालाई पार्टी प्रवक्ताको जिम्मेवारीमा ल्याएका थिए । उनी प्रवक्ता भएका बेला पार्टीभित्र देउवाको तीव्र आलोचना भइरहेको थियो । २०७४ को निर्वाचनमा पार्टीले स्थानीय, प्रदेश र प्रतिनिधिसभाका तीनै तहका निर्वाचनमा पराजय व्यहोरेको थियो । त्यसलाई लिएर पार्टीभित्र विशेषदेखि अर्ली महाधिवेशनका कुरा चर्किएका थिए । निर्वाचनमा पराजयको जिम्मेवारी सभापतिले लिनुपर्ने भन्दै संस्थापनइतर पक्ष देउवामाथि खनिएको थियो । मिडियासँग खरो बोल्ने, कतिपय अवस्थामा आफ्ना निर्णय र अभिव्यक्तिले विवादमा तानिने देउवाको बचाउमा शर्माले ठूलो भूमिका खेलिदिए ।

महामन्त्रीको उम्मेदवारी घोषणा गर्नेबारे उनले वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइरालालाई जानकारी गराएका थिए । सभापतिका सबै प्रतिस्पर्धी आकांक्षीहरूलाई जानकारी गराएर उम्मेदवार घोषणा गरे पनि शर्माको निकटता सभापति देउवापछि उपसभापति निधिप्रति छ ।

शर्माले भने कुन टिमबाट लड्ने भन्ने कुरा आफूले तय गरिनसकेको दाबी गरेका छन् । तर शर्माले सबैसंग छलफल गर्दा निधिकै समूहबाट लड्दा उनलाई फाइदा हुने भएकाले अन्त्यमा यस्तो निर्णयमा पुगेको बताइन्छ ।