संकटमा देउवा: ओलीसंग मिलेको बहुमत सदस्यको निष्कर्ष - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

संकटमा देउवा: ओलीसंग मिलेको बहुमत सदस्यको निष्कर्ष



काठमाडौं- नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको भूमिकाको विषयमा गम्भीर शंका उत्पन्न भएको छ । देउवाको अभिव्यक्ति र व्यवहारले ओलीको असंवैधानिक कदमलाई सघाएको निष्कर्ष देउवा इत्तर समूहले गरेको छ ।

महामन्त्री शशांक कोइरालाको महराजगञ्जस्थित निवासमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको बैठकमा देउवाको भूमिकाबारे समिक्षा भएको नेताहरुले बताएका छन् । बैठकले असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याएर मात्रै अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

देउवाका पछिल्ला अभिव्यक्ति र व्यवहारकै कारण कांग्रेसको बहुमत समुहले यस्तो निष्कर्ष निकालेको हो। सभापति देउवाले शनिबार बुढानिलकण्ठमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्तिको चर्चा गर्दै नेता पौडेलले सभापतिका कारण कांग्रेसमाथि प्रश्न तेर्सिएको बताए ।

महाराजगञ्जस्थित कोइराला निवासमा दिउसो साढे २ बजे भेला भएका नेताहरुबीच ४ घण्टा छलफल भएको थियो । छलफलमा वरिष्ठ नेता पौडेलले सभपातिको भूमिकामाथि प्रश्न उठाएका थिए ।

नागरिक समाजका अगुवाहरुले वक्तव्य नै जारी गरेर कांग्रेसको नेतृत्वलाई ढुलमुले भनेको भन्दै नेता पौडेलले असंवैधानिक कदमविरुद्ध कांग्रेसलाई खरो उतार्न जरुरी रहेको बताए ।

त्यसका लागि सभापति देउवाको अभिव्यक्ति र कार्यशैली सच्चिनुपर्ने पौडेलको भनाइ छ । ‘सभापतिजीको भनाईले असंवैधानिक कदमलाई बल पुर्याएको छ । निर्वाचनका लागि तयार छ भन्नुको अर्थ असंवैधानिक कदम नसच्याउने भन्ने बुझिन्छ । नागरिक समाजले समेत कांग्रेस केपी ओलीकै पक्षमा छ भन्न थालेको छ । के हाम्रो धारणा यही हो ?’ बैठकमा पौडेलले भने ।

उनले सभापतिको व्यक्तिगत चाहनाका लागि पार्टीले लोकतन्त्र बिर्सन नसक्ने उल्लेख गरे । असंवैधानिक कदमविरुद्ध आन्दोलन घोषणा गरेपनि सभापति देउवाको भूमिका आन्दोलनको भावना विपरीत रहेको पौडेलको दावी थियो । बैठकमा सहभागि अन्य नेताहरुले पनि सभापतिको भूमिकाले पार्टीलाई बेफाइदा हुने चर्चा गरेका थिए ।

महामन्त्री डा. शशांक कोइरालाले आन्दोलनप्रति जनताको सकरात्मक उत्साह देखिएको भन्दै पार्टीभित्र साझा धारणा बनाउनुपर्ने बताए । बैठकमा पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारको अलोकतान्त्रिक कदमविरुद्ध पार्टीले खुट्टा नकमाई आन्दोलन गर्नुपर्ने बताए । सभापति देउवाले व्यक्तिगत स्वार्थका लागि पार्टीको महाधिवेशनमा पनि विलम्व गरेको सिंहको आरोप थियो ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्व महामन्त्री सिंहसहित नेता डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा.मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, दिलबहादुर घर्ती, जीवन परियार लगायत उपस्थित थिए । बैठकमा सबैजसो नेताहरुले आन्दोलनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा पार्टीको बटमलाइन नै संसद पुनर्स्थापना हुनुपर्ने विषयमा बैठकमा छलफल भएको बताए । सभापति देउवाले शनिबार बुढानिलकण्ठमा आयोजित विरोध सभामा निर्वाचनमा जान कांग्रेस तयार रहेको बताएका थिए ।