मुलुक जटिलतातर्फ जानसक्ने देउवाको संकेत - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मुलुक जटिलतातर्फ जानसक्ने देउवाको संकेत



काठमाडौं– आज पाँचौं संविधान दिवस। मुलुकमा पहिलोपटक संविधानसभाबाट जनताले जनताका लागि संविधान बनाएको दिन।

संविधान दिवसका अवसरका कांग्रेसले सम्पूर्ण नेपालीमा शुभकामना दिदैं सहिष्णुताको सिधान्तबाट अघि बढ्नुपर्ने बताएको छ।

पछिल्ला दिनहरूमा नेकपा नेतृत्वको सरकारले संविधानको सफलताका लागि बाँकी कार्यभार पूरा गर्ने भन्दा पनि संविधानको भावना विपरीतका गतिविधि गरिरहेको अरोप कांग्रेसको छ ।

संविधान दिवसका अवसरमा कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा आज (शनिबार) जारी विज्ञप्तिमा यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिइएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको कार्यालयमा शक्ति केन्द्रित गर्ने कार्य, संविधानको भावना विपरीतका विधेयकहरू, प्रेस स्वतन्त्रता कुन्ठित गर्ने नियत र ब्यवहार, प्रदेश र स्थानीय सरकारहरूलाई अधिकार, कर्मचारी र बजेट बिनियोजनमा गरिएका विभेदहरू, संवैधानिक अंगहरूको गरिमा अन्त्य गर्ने ढंगले गरिएका ब्यवहारहरू, फरक विचार राख्ने या विरोध गर्नेप्रति जाइलाग्न प्रस्तुत असहिष्णु अभिव्यक्ति, नेकपा नेतृत्वको शासनका यस्ता कार्यले संविधानको सफलता होइन नवीन जटिलता तर्फ मुलुकलाई लैजान सक्दछ।’

संविधान दिवसका अवसरमा लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक ब्यवहारमा इमानदार बन्न देउवाले प्रधानमन्त्री एवं उनको नेतृत्वमा रहेको सरकारलाई अपील समेत गरेका छन।

मुलुकमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका आन्दोलनहरूमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहिदहरूको स्मरण र कदर गर्दै समर्पण र वलिदानको उच्च कदर गर्दै विज्ञप्तिमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन।

देउवाले कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा २०७२ साल असोज ३ गते संविधानसभाबाट पारित भई घोषणा भएको संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन।

संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको देउवाको दावी छ।

देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण देश कठिन र संवेदनशील परिस्थितिमा रहेको बताउँदै भनेका छन्, ‘उत्पन्न परिस्थितिले आम नागरिकको जीवन अत्यन्त कष्टकर र दयनीय बन्दै गएको छ । उच्च सर्तकता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न संविधान दिवसको अवसरमा म सबैलाई आग्रह गर्दछु ।’

मुलुकलाई अब आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास समेत देउवाले व्यक्त गरेका छन।

संविधानको सफलताका लागि यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी भएको र संविधानको अक्षर र भावना अनुरुपको ब्यवहार जरुरी भएको पनि उनले बताएका छन।

नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्रीहरू क्रमशः गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण भएको बताउँदै उनले भनेका छन, ‘अनि तिन तहको निर्वाचन गराएर मेरो नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयन गरेको हो।’

अनेक चुनौतीका बावजुद संविधानको सफलतासँग देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प आजको आवश्यकता रहेको देउवाको भनाइ छ।