पुन: सभापति लड्ने देउवाको तयारी: नेताहरू भन्छन- 'कुन मुखले सभापति लड्ने ?' - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पुन: सभापति लड्ने देउवाको तयारी: नेताहरू भन्छन- ‘कुन मुखले सभापति लड्ने ?’



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पुनः सभापतिको उम्मेदवार बन्ने भएका छन्।

नेपाली काङ्ग्रेसका एक जना केन्द्रीय सदस्यका अनुसार देउवाले आफू सभापतिमा लड्ने तयारी गरिरहेका छन् ।

सभापति उठ्ने औपचारिक जानकारी सार्वजनिक नगरेपनि उनले आन्तरिक तयारी गरिरहेको स्रोतले बताएको छ । त्यतिमात्र होइन आफू निकट केहि नेतालाई देउवाले सभापति जित्न के के गर्नुपर्छ तयार हुनुस भन्ने निर्देशन दिइसकेका छन् ।

देउवाले महाधिवेशनको सभापतिको उम्मेदवार घोषणा नगरेपनि आफू निकटका नेताहरुलाई अहिले देखि नै तयारीमा जुट्न भनिसकेका छन् ।

देउवा निकट केन्द्रीय सदस्य एनपी साउदले पनि एक पत्रिकासँग सभापतिमा पुन: देउवा नै आउने र त्यसको तयारी चलिरहेको स्वीकार गरेका छन् ।

“१४ औं महाधिवेशनमा पार्टी सभापतिले पुनः सोही पदमा उम्मेदवारी दिनुहुन्छ” उनले भनेका छन् ।

साउदले भनेका छन्, “अहिले उम्मेदवार सार्वजनिक गर्ने बेला भइसकेको छैन। सभापतिले फेरि पनि त्यहि पदमा उम्मेदवारी दिने हामीहरुसँग बताउनुभएको छ।”

पार्टीमा दोश्रो पुस्ता वा फरक सभापति हुनुपर्ने माग चर्किएको बेला उनले नै सभापतिको लागि तयारी गर्नु काङ्ग्रेसमा थप विवादको सृजना गर्नुसरह भएको एक नेताले बताए । उनले भने “पार्टीकै तल्लो तहबाट नयाँ सभापति खोजिरहेका बेला देउवा नै आउनु भनेको राम्रो संदेश भने होइन यसले पार्टीलाई थप समस्यामा पार्न सक्छ ।”

त्यतिमात्र होइन नेपाली काङ्ग्रेसमा देउवाको कार्यकाल एकदमै कमजोर बनेको छ । चुनाव देखि प्रतिपक्षको भूमिकामा देउवाले केहिपनि गर्न नसकेको आरोप लागिरहेको बेला उनले उम्मेदवार दिन खोज्नु भनेको पार्टीलाई थप समस्यामा पार्ने अवसर बन्ने नेताहरूको बुझाई छ ।

नेपाली काङ्ग्रेस अहिले निकै कमजोर बनिसकेको र यसको सबै जिम्मेवारी देउवाकै भएकोले पुन: देउवा नै सभापति बन्नु निकै घातक हुने कार्यकर्ताहरूको बुझाई छ ।

भातृ संगठन देखि माथिल्लो तहसम्म नै भताभुङ्ग बनेको काङ्ग्रेसलाई एक बनाउनुको सट्टा देउवाले नै गुट च्यापेर फेरी सभापति लड्छु भन्नु लोक हसाउने काम मात्र भएको नेताहरू बताउँछन ।

नेपाली काङ्ग्रेसकै नेता र कार्यकर्ता देउवालाई यहि परिस्थितिमा सभापति स्वीकार्न नसकिने बताउँछन् । “देउवाजीले पार्टीका लागि के त्यस्तो काम गर्नुभो ? कुन मुखले सभापति बन्छु भन्दै हिड्ने ? उनीहरूको प्रश्न छ ।