देउवाले थाले ओलीसँग संवाद - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

देउवाले थाले ओलीसँग संवाद



काठमाडौं- सरकारले सदनको गतिरोध अन्त्य गर्न पहलकदमी लिएको छ । सभामुख अग्निप्रसाद सापकोटा तहबाट सदन खुलाउने प्रयास सफल नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सम्वाद थालेका हुन् ।

२३ भदौमा आह्वान भएको सदनमा त्यसयता एमालेले निरन्तर अवरोध गरिरहेको छ । माधव नेपालसहित १४ सांसदको कारवाहीसम्बन्धी सूचना टाँस गर्नुपर्ने र गैरसांसदलाई सदनमा उपस्थित गराउन नहुने र सभामुखले माफी माग्नुपर्ने एमालेको अडान छ ।

यो बीचमा सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएर सदन खुलाउने प्रयास गरेका थिए । तर माधव नेपाललाई संसदीय दल (नेकपा एकीकृत समाजवादी) को हैसियतमा बैठकमा बोलाएको भन्दै एमालेले बहिष्कार गरेको थियो ।

सभामुखको पहलबाट प्रतिपक्षीसँग सम्वाद नभएपछि प्रधानमन्त्री देउवाले आफ्नो प्रतिनिधि खटाएका छन् । देउवाले सरकारका प्रवक्तासमेत रहेका कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पुन: बालकोट पठाएका हुन् ।

संसद अधिवेशन आह्वान हुनुअघि पनि देउवाले कार्कीलाई बालकोट पठाएर प्रतिपक्षीसँग सहयोग गर्न आग्रह गरेका थिए । बिहीबार फेरि कानुनमन्त्री कार्की एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट गएका हुन् ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मन्त्री कार्कीले बालकोट पुगेर बिहीबार राती अध्यक्ष ओलीसँग भेटेको न्युज कारखानालाई बताए । भेटमा सदनको गतिरोध अन्त्य गरेर बजेट प्रतिस्थापन विधेयक पारित गर्न सघाउन कार्कीले आग्रह गरेका थिए । ओलीले भने आफूहरुको माग सम्बोधन नभएसम्म सहयोग गर्न नसकिने जवाफ दिएका छन् ।

एमालेको अवरोधका बीच सरकारले बजेट प्रतिस्थापन विधेयक संसदमा पेस गरिसकेको छ । विधेयकलाई अगाडि बढाउन ४ असोजमा संसद बैठक बोलाइएको छ ।