बालुवाटारमा देउवाले उठाए स्वास्थ सामग्रीमा भएको भ्रष्टाचार काण्ड - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बालुवाटारमा देउवाले उठाए स्वास्थ सामग्रीमा भएको भ्रष्टाचार काण्ड



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले विज्ञहरूसहित मंगलबार सर्वपक्षीय छलफल गरेका छन्।

प्रधानमन्त्री ओलीले छलफलमा बोल्दै संकटको बेलामा आफ्नै पार्टीका नेताहरू गैर जिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै असन्तुष्टि जनाएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरूले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भिर ढंगले नलिएको गुनासो गरे।

उनले आफ्नै पार्टीका नेताहरू मुलुकको संकटप्रति लापरवाह, जनताप्रति उदाशिन हुनै स्वार्थका पछाडि कुदेको टिप्पणी गरे।

सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रिय समिति बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जाहेर गरे।

प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण बढ्न थालेपछि सम्बन्धित विषय विज्ञहरुसँग छलफल गरिरहेका छन्। सम्बन्धित विषयका विज्ञहरुसँगको छलफलमा विपक्षी दलका नेताहरु पनि सहभागी थिए।

आजको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी थिए।

प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवाले ७ बुंदे सुझाव र माग प्रस्तुत गरेका थिए।

यस्ता छन् देउवाका ७ सुझाव:

(१) हालसम्मका कमजोरी र प्रगतिको गहिरो समिक्षा गरियोस्। स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कारवाही गरियोस्।

(२) नेपाली कांग्रेसले विगत देखिनै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न बिषय सम्बोधन गरेर युद्धस्तरमा कार्य गर्न बिशेष ध्यानाकर्षण होस्:

  • आरडीटी परिक्षण स्थायी रुपले अन्त्य।
  • सम्पूर्ण रुपले पीसिआर परीक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परीक्षण तत्काल प्रारम्भ गर्ने गरी आवश्यक बन्दोबस्त।
  • स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध। अत्यावश्यक पर्ने औषधि आयातमा तदारुकता। आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध।
  • मापदण्ड अनुरुप क्वारेन्टाइनहरूको यथाशीघ्र ब्यवस्थापन।
  • विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्दार गरी क्वारेन्टाइन र परीक्षण पश्चात् घर पुर्‍याउने ब्यवस्था।
  • नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सिमा नाका सिल।
  • सुरक्षाका लागि मास्क लगाउने अनिवार्यता संगै चेतनामूलक अभियानमा आम संचारका माध्यमको व्यापक प्रयोग।

(३) परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न विज्ञहरूसंग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस्।

(४) विभिन्न दल, संघसंस्था र आम संचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस्।

(५) उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस्।

(६) विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस्।

(७) बर्ग, क्षेत्र र परिस्थिति हेरि राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गरियोस्।