दिल्लीको रेडलाइटमा भेटिएका नेपाली चेली « Himal Post | Online News Revolution
Logo

दिल्लीको रेडलाइटमा भेटिएका नेपाली चेली



देबेन्द्र केसी,

नयाँ दिल्ली। भन्छन दिल्ली `दिलवाला ‘ को शहर हो। दिलवाला त दिलदार हुनुपर्ने तर दिल्लीमा दिल अथवा मन कै कमी महसूस हुन्छ। `दिन दुई गुना र रात चौगुना ‘ रफ्तारमा गन्तव्य खोज्दै दौडिने दिल्लीलाई कसैको दुखमा आँशु खसाल्ने फुर्सद छैन। यो महानगरमा कतिपय सपनाहरुले नाम र दाम दुबै कमाएका छन् भने कतिपय सपनाहरु भाषमा कहिल्यै नउठ्ने गरि गडेका छन्। नयाँ दिल्ली नेपाली नागरिकहरुको सबै भन्दा सस्तो गन्तव्यको रुपमा पर्दछ। यहाँ बिभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको स्थिति “हाँस्दा हाँस्दै रुने र रुँदा रुँदै हाँस्ने ” को भएपनि “जिबी रोड” नामले कुख्यात रेडलाईट एरियामा धकेलिएका नेपाली चेलीहरुको स्थिति एकदमै दर्दनाक छ। कल्कलाउदो जवानीलाई जवानी मै मारेर जिबी रोडका कोठाहरुमा नारकिय जीबन बिताउन बाध्य नेपाली चेलीहरुको बेदना नजिकबाट नियाल्न यो पड्तिकार नातामा अंकल पर्ने एक समाजसेवीलाई साथी बनाएर जिबी रोडको नामले कुख्यात रेडलाईट एरिया स्थित ६४ नम्बर कोठामा पुग्यो।

मिसन जिबी रोड

नयाँ दिल्लीको मुटु क्नाट प्लेसबाट १५ मिनटको यात्रा पछि पहाड़गंजको कमला मार्केट पुग्यौ। कमला मार्केटका गल्लीहरु छिचोल्दै पड्तिकारको टोली अजमेरी गेटलाई बाईपास गर्दै पहाड़गंजको फ्लाई ओभरलाई दाँया बनाएर जिबी रोड पुग्यो। जिबी रोड अन्दाजी ३ किलोमीटर लामो छ। त्यसो त रेडलाईट एरियाको नामले कुख्यात यो रोडमा यौन ब्यापार बाहेक अरुपनि सामानको किनमेल हुँदो रहेछ। सामान्य सामान देखी मेसिनरी पार्टपुर्जा पनि पाईने हुनाले जिबी रोडमा जाने हरेकलाई यौनप्यास मेटाउन आउने रहेछन भन्ने भ्रम रहेन अब। अजमेरी गेट तिरबाट शुरु भयो हाम्रो “मिशन जिबी रोड “को यात्रा। ठुला ठुला भवनहरु। भवनको बाहिर सजाईएका नसप्रेका गमलाका फुलहरु। साना साना गल्लीहरु। दिउसै साँझ पर्ने बातावरण। ट्यापे, मुन्द्रे, जगल्टेहरुको ओहोरदोहोर। सोझा साझा केटाहरु देखेपछि देखिने उनिहरुको दूषित मनसाय। केहि अनहोनीको आशंका पनि पलाउँदै थियो मनमा। तर मन दह्रो थियो। हामीहरुपनि “देश गुनाको भेष “भनेझै ट्यापेपना शरिरमा झल्काउदै आबश्यकिय रिपोर्ट सामाग्रीको चाँजो पाँजो मिलाएर कोठा नम्बर ६४ मा जाने निधो गर्यौ। त्यसो त जिबी रोडमा कोठा नम्बर ६४ जस्ता अन्दाजी ५०० भन्दा बढि कोठा छन्। तर नेपाली चेलीहरु बढि परोसिने र यातना दिएर राख्ने गरेको खुफिया रिपोर्ट पाएको कारणले र अंकलको बिशेष आग्रहले पनि कोठा नम्बर ६४ जाने निधो भयो।

रेड लाईटको कालो कहानी

“सर बढिया माल मिलेगा मेरे साथ चलो” गेटमै हात समायो एउटा दलालले। कुरो बुझ्दा प्रति ग्राहक १०० रुपैया मिल्दो रहेछ त्यो दलाललाई। मैले मोलभाव र सुबिधाको बारेमा केरकार पारेँ ।” सर यहाँ पर सबसे निचे वाला फ्लोरमेँ २५० मे, बिच वाले में ५०० रूपये में और टफ फ्लोर में १००० रुपये मे आप ऐस कर सकते हैं” मैले अझै केरकार गर्न खोज्दै थिए “आप पत्रकार हैं क्या ” दलाल बिच्कियो। अंकलले थम्थमाएर माल (केटी ) देखाउन आग्रह गरे। ” चलो सर उपर रिसेप्सन में बढिया नेपाली माल मिलेगा ” दलाल बड्बडाउदै उक्लियो हामी लाग्यौ पछि पछि उसैको। ओहो ! नामको रिसेप्सनमा एउटी मोटी अधबैसे आईमाई उपरखुट्टी लगाएर बसेकि थिई। अन्य ग्राहकहरु मोलभाव गर्दै थिए। ओठ निचोर्दा दुध निस्कने जस्ला कल्कलाउदा केटीहरुलाई भारतीय काल्दाईहरुले स्तनमा हात छिराउदै मोलभाव गरिरहेका थिए।

ओभर मेकअप, दिनभरि ग्राहक सन्तुष्ट पारेर थाकेको शरिरले कुटिल मुस्कान दिदै ग्राहकका गोप्य अंग छाम्दै थिए नेपाली चेलीहरु। अहो ! यो के तमाशा हो ? यि चेलीहरुलाई भनेझै भा होला त यो सबै गरेर ? ” जल्दी जल्दी पसंद करो *** नहि होता क्या ” ? अधबैसेले शासन लगाई अस्लिल बोली सड्गै। दलालले भने जस्तो २५० मा एकपटक, ५०० मा ३/४ घण्टा त १००० तिरेपछि रातभरि मस्ती गर्न पाईने रहेछ त्यो पनि बीयरको चुस्की सँगै। हामी बाबु छोराले एउटी गुल्मी घर बताउने कमला (नाम परिवर्तन) लाई छान्यौ ५०० मा र केहि घण्टा मस्ती गर्ने सर्तमा र लाग्यौ बाबु छोरा उपल्लो कोठामा।

पापी पेटको लागि सरिर बेच्ने रहर या बाध्यता

माथी कोठामा सिगरेट, बियरको दुर्गन्ध र अस्त ब्यस्त थियो। म प्रेस भएर आउने निउमा बाथरुममा छिरेँ। मेरी बास्सै! कन्डमहरुको भारी नै बनाएर राखेको घाँसको जस्तै। एकदुई कन्डमहरु एत्रतत्र छरिएका। मनमनै सोचेँ मान्छेलाई स्वस्थ रहन सेक्सको आवश्यकता छ त्यो पनि सुरक्षित लोग्ने, स्वास्नी बिच मात्रै। तर यहाँ भएको बिखण्डनकारी सेक्सले कस्को भलो गर्छ? भलो हुने र मोटाउने तिनै दलालहरु त होलान। तर जल्ले शरीर बेच्छ तेल्लाई के मिल्छ ? बेस्याको ट्याग ?

नेपाली चेलीहरुको बेस्यालयको बास रहर र बाध्यता दुबै 

अंकलले कमलालाई सम्झाई सक्नु भएको थियो हामीहरु रिपोर्टिंगको लागि आएको भनेर। बरु मेरो सरिर लुछ्नुस तर मलाई केहि नसोध्नुस कमला रुन थालिन।

केहि समयको प्रयास पछि कमला केहि खुलिन”दाई यहाँ त जबरदस्ती ल्याएर बेचेका नेपाली केटीहरु पनि छन र आफै राजी खुसी आएका नेपाली केटीहरु पनि छन।” कमलाले खुलासा गरे अनुरुप नेपालीहरु बाध्यताले मात्र नभई स्वईच्छाले पनि बेस्यालयमा यौवन बेचिरहेका छन् यद्यपि यो संख्या निकै कम छ।

कमलालाई दाङको केटाले बिहे गरेर ल्याई बेस्यालयमा बेचेको रहेछ। दाई ! ” मामाघर दाङमा पर्छ। मामाघर मै बसेर स्कूल पढ्दै थिए एउटा केटा स्कूलमा दिनदिनै आउथ्यो। अरु केटीहरुसँग मेरै कुरा गर्दथ्यो रे। कपडा ल्याई दिन्थ्यो खुब माया देखायो। घरमा पनि ममी बित्नुभएको थियो। बाबाले अर्को बिहे गरेर बुटवलमा बस्नुहुन्थ्यो। मामाले पनि राम्रो केटा पाए गए हुन्छ भन्ने। मामाघरमा घाँडो भएझै लाग्यो र बिहे गरेँ उसैसँग ” बोल्दा बोल्दै कमलाका आँशु टिल्पिलाए । नाम, ठेगाना सोधिनौ? भन्ने प्रश्नमा कमलाले नाम सन्दिप कुँवर भएको र ठेगाना तिमी जस्तै घर न घाटको हो भनेको बताईन। कमलालाई दुई दिन भालुवाङ राखेर दिल्ली ल्याएको रहेछ। दिल्लीको कोठामा राखेर अहिले आउछु भनेर गएको सन्दिप नामको दलाल अहिलेसम्म फर्केको छैन्। तबदेखि अहिलेसम्म सयौले उनको शरिर लुछिसकेका छन्। “पहिला पहिला त यस्तो गलत काम भनेर मानिन। यो साहुनीले दिनु यातना दिई।” तातो चिम्टाले डामेका पेटका डामहरु देखाउदै कमला रुन थालिन। करिब २०० सेक्स वर्करहरु रहेको ६४ नम्बरमा २० नेपाली सेक्स वर्करहरु स्वईच्छाले शरिर बेच्दा रहेछन्। उनिहरु मोबाइल सहित सुबिधा सम्पन्न फ्ल्याटमा बस्दा रहेछन्। उनिहरुलाई आवश्यकता अनुसार बेश्यालय बाहिर जाने छुट पनि रहेछ।

ईच्छाले शरिर बेच्नेका समस्या पनि दयनीय

बेश्यालयमा आफै आएर शरिर बेच्ने नेपाली चेलीहरुका समस्या पनि चाङका चाङ छन्। ” दिनभरि रंगरसमा लट्पटिएर साँझ पैसा माग्दा उल्टै घोप्टो पारेर चुट्छन कोहि ग्राहकहरु। दिनभरि कमाएको पैसामा पनि दलाल, पुलिसले हिस्सा माग्छन्। उतिखेर साथीको लहैलहैमा पैसा पनि हुन्छ ऐस पनि हुन्छ भनेर बेश्यालय छिरियो अहिले उदेक लागेर आउछ। अन्त कतै जागिर माग्न गए “बेस्या” शब्द ले दुत्कार्छन।”  खोटाड्ग घर बताउने एक राई थरकि युवतीले भनिन्। कतिपय ईच्छाधारी सेक्स वर्करले बिहे गरेर बच्चा पनि जन्माएका छन् तर पिरलो छ कतै बेस्याको कलंक नलागोस।

ग्राहक अधिकांश नेपाली, सरुवा रोग लाग्ने र लुटिने त्रास उत्तिकै 

जिबी रोड जाने ग्राहकहरु भारतीय नै बढि भएपनि कोठा नम्बर ६४ जाने अधिकांश ग्राहकहरु नेपाली नागरिकहरु थिए। सोझा साझा नेपालीहरुलाई कहिले दलाल र कहिले पुलिसले लुट्नु लुट्दा रहेछन्। अनि कोठामा गएपछि सेक्स वर्करहरुले कन्डम लगाउन आग्रह गरेपनि “मजा नै आउदैन ” भन्दै आनाकानी गर्ने रहेछन्। घरपरिवारबाट लामो समय टाढिएर बसेका नेपाली युवाहरु केटी देख्ने बितिक्कै बाघ झै झम्टिदा रहेछन्। अधिकांश रक्सीको नसामा भेट्टिने नेपाली युवाहरुले एकछिनको रमाईलोको लागि जिन्दगी दाउमा लगाएको भेटियो।

लिगल कोठा ईलिगल धन्दा !

जिबी रोडमा सन्चालित कोठाहरु सरकारबाट स्वीकृत भएर सरकारबाट गाईड लाईन जारी गरेको भएपनि काम भने गैरकानूनी हुने गर्छ। ईच्छा बिपरित यौन कार्य गराउनु, पैसा दिएर दूरदराजका गरिब तर राम्रा केटीहरुको मोलमोलाई गर्नु, शारिरीक तथा मानसिक रूपमा सेक्स वर्करलाई प्रताड़ित गर्नु, उमेरै नपुगेकी १२१३  बर्षकी केटीलाई औषधी खुवाएर छिट्टै जवानी परोसन तयार गराउनु अनि ग्राहकहरुसँग लुटपाट, बदशुलकी र जबरदस्ती यी काम मनपरी हुन्छ बेश्यालयमा। कोठाहरुमा कानुन चल्ने भनेको कोठा मालिकको हो। उनिहरु स्वतंत्र छन मनपरि गर्न। कहिलेकाही उजुरी आएर पुलिस गएपनि पैसा खाएर कोठा मालिक र दलालकै पक्षमा बोल्ने जनगुनासो आईरहन्छ।

के भन्छन त बेचिएका चेली रेस्क्यु गर्ने सँस्था ?

नयाँ दिल्लीमा बेचिएका नेपाली चेलीहरुको रेस्क्यु गर्दै आईरहेका सँस्थाहरु हेल्प नेपाली मिसन, प्रवासी नेपाली मित्र मन्च र नवगठित सँस्था नेपाली देशभक्त आवाजले बिभिन्न ठाँउबाट नयाँ दिल्ली तथा तेस्रो मुलुकमा बेचिन लागेका कयौ चेलीहरुको उद्धार गरेको छ। माईती नेपालले बोर्डरमा कडा निगरानी थालेपछि पछिल्लो पटक चेलिबेटी बेचबिखनका घटनामा निकै कमि आएको छ। “हामीहरुले बेच्ने नियतले दिल्ली ल्याएका चेलीहरुको उद्धार गरेर सकुसल घर फर्काएका छौ तर जिबी रोड भित्रका पिडितको उद्धारका लागि दुताबास तथा स्थानीय प्रशासनको समन्वय हुन जरुरी छ”  नेपाली देशभक्त आवाजका संस्थापक अध्यक्ष बाबु रोकाले भने। बिभिन्न चरणहरुमा हेल्प नेपाली मिसनले पनि बेचिएका या बेचिन लागेका चेलीहरुको रेस्क्यु गरेर दुताबास पुर्याएको थियो। अन्य राजनीतिक संगठनहरु र दुताबासले पनि हातेमालो गरेर चेली बेटी बेचबिखनको बिरुद्ध आवाज उठाउनु पर्ने देखिन्छ।

मलाई जिबी रोडको यात्राले सोचमा डुवायो। दिल्लीको चकाचौंधमा भासिएका ति सपनाहरु सँगै गुजिल्टिएका ब्याथाका पोकाहरु अनि ति अबोधको छातिमा लागेको दाग कसरी पखालिन्छ? कमला त यो घटनाकी प्रतिनिधि पात्र हुन्। हजारौ चेलीहरु छन भारतका महानगरहरुमा जस्ले नरकको जीबन जिउन बाध्य छन्। के छ यसको समाधान? अनि जन्म दिने बाबु आमालाई पन्छाएर कथित प्रेमीसँग आकाशमा उड्ने सपना देख्ने ति चेली पनि कठघरामा आउनु पर्दैन ? दोष केवल सिस्टमको मात्र हैन, दोष हाम्रो सोच र समझको पनि हो। घरपरिवारलाई मामको जोहो गर्न भारतका महानगरहरुमा भाषिने नेपाली युवाहरुको बेश्यालयप्रतिको आकर्षक किन? यि सबै  पक्ष जागरुक भए मात्र नेपालीहरुको शिर ठाडो हुन्छ। तसर्थ एक गलत कदम चाल्नु अघि सयौं बार अवश्य सोचौ।

(स्थलगत रिपोर्ट)