चन्द्र भण्डारीको नजरमा धनेन्द्र कार्की: 'सारै दयालु नेता, जनताको दुःखको साथी' - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

चन्द्र भण्डारीको नजरमा धनेन्द्र कार्की: ‘सारै दयालु नेता, जनताको दुःखको साथी’



नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेस महासमिति सदस्य तथा गुल्मी क्षेत्र नम्बर १ (क)का प्रदेशसभा उम्मेदवार धनेन्द्र कार्की निकै दयालु नेता भएको भन्दै प्रशंसा गरेका छन् ।

भण्डारीले पार्टीका लागि निरन्तर खटेका धनेन्द्र निकै दयालु, जनताको दुःख देख्न नसक्ने जनताको नेता भएको बताएका थिए । धनेन्द्र पछिल्लो ५ वर्ष जनताको मझमै रहेर काम गरिरहेको भन्दै उनलाई जिताउन आग्रह गरे । धनेन्द्र एउटा क्षेत्रको मात्रै नेता नभएर गुल्मीकै नेता भएको बताए ।

भण्डारीले एमाले उम्मेद्वारहरू चुनावको बेला मात्रै गाउँ आएर जनतालाई प्रलोभन बाँड्ने गरेको भन्दै मुलुकलाई दुरावस्थामा पर्‍याउने, जनताले दिएको झण्डै दुई तिहाइको मत सदुपयोग गर्न नसक्ने, पार्टी फुटाउने,संविधान लत्याउने र संसद गिराउने नेता र एमाले पार्टीलाई भोट हालेर फेरि गल्ती गर्न नहुने बताए ।

बाम लोकतान्त्रीक गठबन्धन निर्वाचन परिचालन समितिले बुटवलमा आयोजना गरेको उम्मेदवार परिचय तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् । तराई र प्रदेश टुक्र्याउन लागेको बेला आफूले अखण्ड लुम्बिनी अभियानको नेतृत्व गरेर आन्दोलनमा उत्रिएको बताए ।

लुम्बिनीलाई अखण्ड बनाउन बुटवलमा आफुले बृहत आन्दोलनको नेतृत्व गरेको भन्दै नेता भण्डारीले प्रदेश राजधानीसँग पद साट्नेहरूलाई भोट नहाल्न अपील गरे ।

भण्डारीले पार्टीको रसिद भन्दा माथि देश सम्झेर चुनाव जिताउन आग्रह गर्दै आउँदो चुनावमा आफूले जिते गुल्मी जिल्लालाई नमूना जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले सिद्धबाबाको सुरुङ बनाउँछु भनेर पटकपटक गफ गर्नेहरूले चुनाव जितेको भन्दै उनीहरूलाई कतिपटक चुनाव जिताएपछि काम गर्ने हुन् भन्दै प्रश्न गरे ।

भण्डारीले भने, ‘पटकपटक गफ गर्नेलाई अझै कतिपटक जिताउनु पर्ने, भोट माग्न अझै पनि लाजै नलाग्ने । हामीले जिताएका नेताहरू देशका लागि नेतान्नै थिएनन् । ओलीले दुई तिहाई दिएर पनि जोगाउन सकेनन् । पार्टी जोगाउन सकेनन् । अनि अब किन भोट दिने ।’

उनले मुलुकलाई असल मार्गमा लैजान धेरै केहि गर्नु नपर्ने भन्दै मंसिर ४ गते गठबन्धनलाई भोट मात्रै हालिदिए पनि मुलुक असल मार्गमा लाग्ने बताए । एमाले नेताहरूलाई भोट दिएर व्यक्तिगत उनीहरू स्वार्थभन्दा माथि उठ्न नसक्ने भण्डारीले तर्क गरे । उनले भने, ‘एमाले नेताहरूको संस्कार बिग्रियो, पार्टी, गुट, उपगुट, समूह र परिवार बनाउने बाहेक केही काम नगर्ने नेता भए ।’

भण्डारीले ओलीले अझै पनि कुन मुखले भोट मागिरहेका छन् ? भन्दै प्रश्न समेत गरेका थिए । उनले जनताको अभिमतलाई नबुझ्नेलाई दण्डित गर्नुपर्छ भन्दै एमालेलाई सजाय दिन बन्दुक बोक्नु नपर्ने, मात्रै मत नदिए पुग्ने बताए ।

गुल्मीको विकाश निर्माणमा पनि एमाले र एमालेका नेताहरूले माखो नमारेको उनको तर्क थियो । उनले नेपालमा सबैभन्दा बढी पुल गुल्मीमा आफ्नो पहलमा बनेको बताए । उनले भने, ‘नेपालमा सबैभन्दा बढी पुल गुल्मीमा हाम्रै पहलमा बनेका हुन्, तर एमालेको सरकार आएपछि डिपिआर गरेका सडक र पुलको पैसा समेत रोकियो । उनीहरूको काम त मन्त्री बन्ने विदेशीसँग हात मिलाउने, देशलाई घात गर्ने, एउटा पुल एउटा बाटो पनि पनि नबनाउने । जितेपछि फर्केर नआउने, त्यस्तालाई अब के हैसियतले भोट दिने ?’