जनताका खास गुनासा र अपेक्षाबारे के भन्छन् धनेन्द्र कार्की ? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

जनताका खास गुनासा र अपेक्षाबारे के भन्छन् धनेन्द्र कार्की ?



अर्को कुरा गुल्मीले मलाई धेरै दिएको छ । मेरो पहिचान दिएको छ । यहीँका साथीहरूले मेरो टिकटको सिफारिस गर्नुभयो । मलाई विश्वास गर्नुभयो । त्यसैले मैले यहाँको विकाश र समृद्धिको नेतृत्व लिन खोजेको हुँ ।

गुल्मीको चुनावी माहोल अहिले उत्कर्षमा पुगेको छ । सत्ता गठबन्धन र एमालेबीच हुने प्रमुख प्रतिस्पर्धामा दुवै पक्षका उम्मेदवारहरू मतदाताको घरमा पुग्ने र आफ्ना एजेण्डा बुझाउने अभियानमा छन् । प्रतिनिधि सभा र प्रदेशसभा दुवै तहमा अहिले पहिलेको भन्दा फरक नतिजा आउने आंकलन गरिएको छ ।

यस्तैमा हामीले गुल्मी प्रदेशसभा क्षेत्र नम्बर १ को ‘ख’ बाट उम्मेदवार रहेका नेपाली कांग्रेसका महासमिति सदस्य धनेन्द्र कार्कीलाई चुनाव केन्द्रित पाँच प्रश्न गरेका छौँ । जसमा उनले धेरै प्रतिवद्दता गरेका छन् । गुल्मीको राजनीतिमा फरक पात्रको रूपमा परिचय बनाएका कार्की अघिल्लो निर्वाचनमा पराजित हुँदा पनि लगातार मतदाताको माझमा रहेर सेवा गरिरहेको बताउँछन् ।

कार्की व्यवसायमा पनि सफल भएका व्यक्ति हुन् । एउटा सफल व्यवसायी यस क्षेत्रको जनप्रतिनिधि बन्न चाहेकाले मतदाता पनि हौसिएको उनका सहयोगीहरू बताउँछन् ।

प्रस्तुत छ उनीसँग गरिएको रोचक संवाद

  • अहिले त धेरैले  राजनीतिलाई पेशा र व्यावसाय बनाउने गरेका छन्, एउटा सफल व्यवसायी भएर पनि तपाईं चैं किन राजनीतिमा लाग्नु भो ?

कतिपय व्यक्ति र परिपाटीलाई लिएर यो प्रश्न गर्नुभएको होला, सबैभन्दा पहिले त राजनीति कुनै पेशा र व्यावसाय होइन यो प्रष्ट हुनुपर्यो, यो कुनै आम्दानीको स्रोत पनि होइन, यो त निस्वार्थ सेवा हो । अर्को कुरा म पैसा कमाउन वा गुजारा चलाउन राजनीति गर्नुपर्ने व्यक्ति पनि होइन ।

अर्को कुरा म अहिले भर्खरै राजनीतिमा आएको व्यक्ति पनि होइन, मैले राजनीति जनताको सेवाको लागि राजनीति सुरू गरेको २०३६ सालबाट हो । मैले व्यावसाय गर्दैगर्दा पनि लगातार राजनीतिक गतिविधि, समाजको सेवा, जनताको सेवा र जिल्लाको विकाशमा निरन्तर लागिरहेको छु ।

मैले व्यावसाय गर्दै गर्दा पनि जिल्लाको विकाशसँग र जनतासँग जोडिएर पार्टीको राजनीतिमा खटिएको छु । पार्टीको क्रियाशील सदस्यता लिएर पार्टीका हरेक गतिविधिमा सहभागी हुदै आएको छु । पार्टीका हरेक चुनाव, संगठन निर्माण लगायतका गतिविधिमा निरन्तर लागेपछि पार्टीले टिकट दिएको हो । अघिल्लो पल्ट निर्वाचनमा पराजित हुँदापनि जनताको समस्या हल गर्न र यहाँको विकासका लागि खटिएको छु ।

  • चुनाव जितेपछि नेता हराउँछन्, गाउँ आउँदैनन् भन्ने धेरै मतदाताको गुनासो छ । तपाईं पनि नेता हो, जितेपछि हराउने त होला ?

तपाइंले सोधेको प्रश्न अत्यन्तै सान्दर्भिक छ, नेताहरू चुनाव लागेपछि गाउँ आउने, धेरै नेताको हकमा र धेरै जिल्लामा जितेपछि हराउने भएको छ । मेरै जिल्लामा पनि धेरैले नेताहरूलाई धेरै पटक चुनाव जिताइयो चुनावपछि हराउँछन्, गाउँ आउँदैनन् भन्ने यस्ता गुनासा छन् । यसभन्दा पहिला जति नेताहरूले २०/२५ वर्ष लगातार चुनाव जित्नु भो, उहाँहरू जनतामा जानु भएन तर हामी जनताको माझमै थियौँ त्यसैले पनि हामीप्रति जनता सकारात्मक छन् । 

पछि पनि मेरो बारेमा जनताले यस्तो गुनासो गर्ने अवसर म दिन्न, मैले त चुनावमा पराजित हुँदा पनि लगातार मतदाताको बिचमा पुगेर सुख दुख बुझेको छु । जनताका समस्या समाधान गर्ने प्रयास गरेको छु । अघिल्लो निर्वाचनमा पराजित भएर पनि पाँच वर्ष समाज र जनताको सेवामा म तल्लिन छु । यो पाँच वर्ष मात्रै होइन म त राजनीति सुरू गरेपछि लगातार जनताको सम्पर्कमा छु, अर्को कुरा यो त मेरो  जन्मस्थान हो, केहि दिन आइन भने मलाई के छुट्यो जस्तो लाग्छ । मैले यहाँको लागि धेरै काम गर्नु छ । धनेन्द्र कार्की चुनाव जितेर गाउँमा आएनन् भन्ने गुनासो गर्ने अवस्था आउने छैन । यो मेरो बचन हो । यो पुरानो प्रवृत्तिको मैले अन्त्य गर्छु ।

पाँच वर्षमा गुल्मीलाई नमुना बनाउने हाम्रो अभियान हो, हाम्रो टिमले त्यो सम्भाव्यताको अध्ययन समेत गरिरहेको छ । टोलटोलमा, क्षेत्र क्षेत्रमा, सम्भावना भएका स्थानमा गर्न सकिने नमुना कामको अध्ययन भैरहेको छ । पाँच वर्षमा यो सबै पुरा गर्न पनि हामी जनतासँगै हुनुपर्छ ।

  • तपाई त पार्टीको महासमिति सदस्य, जहाँको पनि टिकट पाउन सक्ने नेता, शहरी क्षेत्र नरोजेर किन गुल्मीबाटै चुनाव लड्नु भो ?

हो, म पार्टीको लागि रुपन्देही, कपिलबस्तु, नवलपरासी, अर्घाखाँची लगायतका जिल्लामा लगातार काम गरेको छु । मैले अन्यत्र पनि पार्टीबाट अवसर पाउन सक्थेँ । तर मेरो रोजाईमा गुल्मी पर्नुको कारण ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ । यसैलाई मूल मन्त्र मानेर म गुल्मी झरेको हुँ ।

पहिलो त यो मेरो जन्मस्थान हो, जन्मस्थान सबैलाई प्यारो हुन्छ । मलाई पनि जन्मस्थानको औधि माया लाग्छ । मलाई यहाँको माटो पनि बसाउँछ । यहाँका जनता आफ्नै परिवारका सदस्य हुन् । सबैभन्दा पबिले मैले यहीँको लागि केहि गर्नुपर्छ । मानौं तपाईंको जन्मस्थान गुल्मी हो, तपाईं देशमै वा देश बाहिर जाँदा मेरो घर गुल्मी हो भनेर कसैले भन्यो भने कस्तो ‘फिलिङस’ आउँछ ? कति माया लाग्छ ? मलाई पनि यो ठाउँको धेरै माया लाग्छ ।

अर्को कुरा गुल्मीले मलाई धेरै दिएको छ । मेरो पहिचान दिएको छ । यहीँका साथीहरूले मेरो टिकटको सिफारिस गर्नुभयो । मलाई विश्वास गर्नुभयो । त्यसैले मैले यहाँको विकाश र समृद्धिको नेतृत्व लिन खोजेको हुँ । मैले जिल्लामा लामो समयदेखि काम गरेको छु, जनताका समस्या समाधान गर्न, पार्टीका अधिवेशन, स्थानीय निर्वाचन लगायतका गतिविधिमा म गुल्मीमै खटिने गरेको छु । लामो समयसम्म खट्ने छु ।

  • जनतालाई पटकपटक भेटेको छु भन्नुभयो, जनताका खास गुनासा र अपेक्षा के रहेछन् ?

मैले जनतालाई निरन्तर भेटिरहेको छु, जनताले हामीलाई सुनाएका र नासुनाएका समस्याबारे म जानकार छु । जनताको नेता भएकैले पनि मैले जनताका समस्या र गुनासा बुझ्नुपर्छ, समाधान गर्नुपर्छ भन्ने मलाई लाग्छ । सबैभन्दा पहिले त जनताको सबैभन्दा गुनासो र सरोकार भएको विषय नेतासँग हो । यसअघि निरन्तर जितेका नेताहरूले गरेका बाचा नै उनीहरूका समस्या हुन् । चुनाव जितेपछि सम्पर्कबिहीन हुने नेताहरू पनि जनताका समस्या हुन् । चुनावमा जे पनि वाचा गर्ने पछि माखो नमार्ने नेताहरूको प्रवृत्ति पनि उनीहरूको मुख्य गुनासो हो । भवितव्य र महामारीमा पनि नेताले जनतालाई गरेको उपेक्षा पनि अर्को गुनासो हो । भोट दिएर जिताएको नेताले हाम्रा समस्या समाधान गरिदेओस भन्ने अपेक्षा सबैको हुन्छ । आफ्नो नेता सुख दुखमा साथमै होस् भन्ने उनीहरूको चाहना हुन्छ । यहाँ त चुनाव जितेपछि फोन पनि नउठाउने परिपाटी छ । तीन चार पटक चुनाव जित्दापनि नेताहरूको प्रवृतिमा परिवर्तन आएन । हामी जनताप्रति उत्तरदायी भएकाले यस्ता गुनासा आउन दिन्नौँ ।

समग्रमा, नेता गाउँमा आएनन्, बाचा पुरा गरेनन्, विकाशका काम गरेनन्, जनताका समस्या बुझेनन् भन्ने नै जनताको गुनासो छ । अब आउनेले यत्ति गरिदेओस भन्ने उनीहरूको अपेक्षा छ । त्यो अपेक्षा हामी पुरा गर्छौं ।

सालझण्डीको फास्ट ट्रयाक सम्पन्न गरेर मुक्तिनाथ जाने भारतीय पर्यटकका लागि निकै सहज हुन्छ । छोटो पनि हुन्छ । गुल्मी दरबारबाट रेसुङ्गा जानका लागि पनि यो सजिलो हुन्छ । यसलाई छिट्टो निर्माण गरेर रेसुङ्गा, श्रीङगेश्वर, रूरू र गुल्मी दरबारलाई पर्यटनको केन्द्र बनाउने हो ।

  • चुनाव जितेपछि तपाईंको क्षेत्र समृद्ध बनाउने योजना के छन् ?

सबैभन्दा पहिले त पार्टीका ठूला ठूला नेताहरूले लगातार जित्दा पनि गुल्मीको विकाश हुन सकेन । करिव ४० वर्ष पहिले बनेको तानसेन-तम्घास सडक खण्ड अहिले पनि अव्यवस्थित छ । पहिले त यसलाई व्यवस्थित बनाउनुपर्ने, चौडा गराउने, स्तरोन्नति गर्नुपर्ने छ । गुल्मीकै २ नम्बर क्षेत्रमा बाटोहरू पक्की हुँदा हाम्रो क्षेत्रमा भने विकाशले मुख नै देख्न पाएको छैन । कहिं पनि पक्की बाटो बनेको छैन । पछिल्लो गठबन्धन सरकार बनेपछि हामी आफै डेलिगेसन गएर २/३ वटा सडकहरू टेण्डर गराएर काम गर्न सुरू गरेका छौँ ।

जनताको घरमा पानीको समस्या छ, लिफ्टिंङबाट पानी पुर्याउने काम व्यवस्थित हुन सकेको छैन, त्यसलाई व्यवस्थित गरेर एक घर, एक धाराको अभियान पुरा गर्नु छ । धेरै वर्ष पुराना पाइपहरूलाई स्तरोन्नति गर्नुपर्ने छ । दौंघामा धेरै पहिले चन्द्र भण्डारीले पानी खुवाउने योजना ल्याउनु भो त्यसलाई हामीले थप व्यवस्थित बनाउने ट्यांकी थप्ने काम गर्नु छ ।

गुल्मी धार्मीक हिसाबले पनि अत्यन्तै पर्यटनको सम्भावना भएको ठाउँ हो । धार्मिक पर्यटन प्रवर्दनको लागि रूरू-रेसुङ्गा करिडोर सम्पन्न गर्नुपर्ने छ । मुक्तिनाथदेखि रुद्रबेणी, रिडीसम्म सालिग्राम पाइने नेपालको एकमात्र ठाउँ यसलाई पर्यटनको केन्द्र बनाउनु पर्नेछ । सालझण्डीको फास्ट ट्रयाक सम्पन्न गरेर मुक्तिनाथ जाने भारतीय पर्यटकका लागि निकै सहज हुन्छ । छोटो पनि हुन्छ । गुल्मी दरबारबाट रेसुङ्गा जानका लागि पनि यो सजिलो हुन्छ । यसलाई छिट्टो निर्माण गरेर रेसुङ्गा, श्रीङगेश्वर, रूरू र गुल्मी दरबारलाई पर्यटनको केन्द्र बनाउने हो ।

गाउँमा विकाश नभएका कारणले गाउँबाट शहरमा बसाईसराई गर्ने समस्या समाधान गर्न कृषि प्रवर्दनको आधुनिक कार्यक्रम ल्याउने योजना छ । विज्ञहरूको परामर्शमा यहाँ सम्भावना भएका कृषिसम्बन्धि काम गर्ने योजना छ ।

स्थास्थ्यमा १५ शैयाको अस्पताल निर्माण गर्ने, स्वास्थ्य चौकीहरूलाई व्यवस्थित गर्ने, बिस्तारै निशुल्क गर्ने योजनामा हामी छौँ । त्यस्तै यहाँको शिक्षा क्षेत्रमा पनि निकै सुधार गर्नुपर्ने छ । प्राविधिक शिक्षा, युवा स्वरोजगार, बजार व्यस्थापन, महिला लक्षित कार्यक्रम र वृद्धहरूको व्यावस्थापनका लागि विभिन्न कार्यक्रम ल्याउने हाम्रो योजना छन् ।

पानी, बाटो, बिद्युत, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतको विकाशमा नमुना जिल्ला बनाउने योजना छ । 

धनेन्द्र कार्की- प्रदेशसभा उम्मेदवार गुल्मी क्षेत्र नम्बर १ ‘ख’