कांग्रेस महाधिवेशन थप रोचक: धनराज गुरुङले पनि गरे महामन्त्री लड्ने घोषणा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कांग्रेस महाधिवेशन थप रोचक: धनराज गुरुङले पनि गरे महामन्त्री लड्ने घोषणा



काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशन निकै रोमाञ्चक बन्ने भएको छ । पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङले महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेपछि महामन्त्रीको टक्कर झनै रोमाञ्चक बन्ने भएको हो ।

उनले आफू महामन्त्रीको पदमा लड्ने तयारीमा व्यस्त रहेको बताएसँगै पार्टी नै तरंगित बनेको छ । पार्टीका प्रभावशाली युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले समेत महामन्त्रीको उम्मेद्वारी घोषणा गरिसकेका छन् । पार्टीका अर्का प्रभावशाली नेता गुरुङले पनि उम्मेद्वारी दिने घोषणा गरेपछि कांग्रेसको एउटा तप्का तनावमा परेको छ ।

पार्टीको आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उमेदवारी दिने गुरुङले तयारी गरेका छन् । गुरुङले आफू महामन्त्रीको स्वाभाविक उमेदवार हुने समेत बताए ।

उनले आफू महामन्त्रीको उमेदवारबाट जस्तोसुकै परिस्थितिमा पनि आफू पछि नहट्ने बताएका छन् । आफ्नो पद र उमेदवारीको विषयलाई लिएर शीर्ष नेताहरूसँग कुरा राखिसकेको उनले बताए ।

१३औँ महाधिवेशनमा पौडल समूहबाट गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । ०५२ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति बनेका गुरुङ ०७० मा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेका थिए । अहिले संस्थापनइतर समूहबाट उमेदवार बन्ने उनको तयारी छ ।