धनुषा-३, दुई हेभिवेटका लागि टर्निङ पोइन्ट - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

धनुषा-३, दुई हेभिवेटका लागि टर्निङ पोइन्ट



काठमाडौं-

दुई हेभिवेट नेताकै राजनीतिक भविष्यको टर्निङ पोइन्ट हुन सक्छ, धनुषा ३ को यसपटकको प्रतिनिधिसभा चुनावको परिणाम। विमलेन्द्र निधिले १८ वर्षअघि पनि चुनाव हारेका थिए। तर ६२ वर्षको उमेरमा यसपालि हारे उनको राजनीतिक ‘करिअर’ मा ठूलो ‘सेटव्याक’ हुने अनुमान विश्लेषकहरु गर्छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

अर्कोतिर राजेन्द्र महतोले पनि दोस्रो संविधानसभा चुनाव (२०७०) मा आफ्नै घर भएको क्षेत्रमा हारेका थिए। त्यसपछि २ वर्षअघिको मधेस आन्दोलनमा सक्रिय भएर उनले मधेसमा एकचोटि आफूलाई उचाइमा पुर्‍याएका थिए। चुनाव हारे राजपाको अध्यक्षमण्डलबाट अध्यक्ष हुने उनको दाबेदारीलाई कमजोर बनाउने अनुमान जानकारहरु गर्छन्। जित्दा कांग्रेसका हेभिवेटलाई उनकै गृहनगरमा बाहिरिया भएर जित्दा राजपाका साथै राष्ट्रिय राजनीतिमा उनी ‘हेभिवेट’ सावित हुनेछन्।

केही दिनअघि जनकपुर ३ को मत बुझ्ने प्रयास गरेका पूर्वअर्थसचिव रामेश्वर खनालले यहाँको मत अनिर्णीत पाएका थिए। दुई घन्टा पैदल हिँडेर कुराकानी गर्दा मतदाताले कसलाई भोट हाल्ने निर्णय गरिनसकेको बताएका थिए। हुँदाहुँदा कांग्रेसकै कार्यक्रममा झन्डा बोकेका व्यक्तिले समेत भोट कसलाई हाल्ने निर्णय अघिल्लो दिन (२० गते ) गर्ने बताएका थिए।

बुद्धिजीवी सुरेन्द्र लाभका अनुसार पनि जनमत अनिर्णीत छ, यसैले तस्बिर अस्पष्ट छ। ‘चुनावको दुई दिनअघि स्पष्ट चित्र देखिएला’, उनी भन्छन्। उनका अनुसार, अन्तिम समयमा जातीय समाजले पनि कसलाई भोट हाल्ने भनेर निर्णय गर्नेछन्। ‘समाजले भन्दैमा शतप्रतिशत भोट पर्ने होइन तैपनि माहोल बनाउन त्यसले सघाउने छ’, उनी भन्छन्-‘धनुषा ३ मा मैथिल ब्राह्मण र स्थानीय भाषामा साहुजी भनिने सुडी, कलवार र तेली समाजले जसलाई चाह्यो उसले चुनाव जित्ने अवस्था छ।’

देशमै १ लाखभन्दा बढी मधेसी ब्राह्मण रहेकोमा २४ हजारभन्दा बढी त यसै क्षेत्रमा छन्। उल्लेख्य संख्यामा रहेका साहुजी जनकपुरका वास्तविक साहुजी पनि हुन्। यहाँको व्यापारमा यिनकै वर्चस्व छ। पैसा, बुद्धिका साथै भोटको संख्या पनि उल्लेख्य भएकाले दुई जातले समर्थन गर्दा अरूले आसै गर्न नपर्ने अवस्था बनेको हो, लाभ टिप्पणी गर्छन्।