धरहरा पुनर्निर्माण अलपत्र - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

धरहरा पुनर्निर्माण अलपत्र



काठमाडौं-

भूकम्पले ध्वस्त बनाएको धरहरा पुनर्निर्माणको योजना अलपत्र बनेको छ । नेपाल टेलिकमले हात झिकेपछि धरहरा पुनर्निर्माण अलपत्र बन्न पुगेको हो ।

टेलिकमले हात झिेलगत्तै सरकारले करिब दुई महिनाअघि धरहरा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको थियो ।तर, प्राधिकरणको प्राथमिकतामा धरहरा अझै पर्न सकेको छैन । धरहरा पुनर्निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।,नयाँ पत्रिकामा खबर छ

प्राधिकरणका प्रवक्ता यमलाल भुसालले धरहरा पुनर्निर्माण प्रक्रिया खासै अघि नबढेको बताए । उनले भने, ‘धरहरा पुनर्निर्माणबाट टेलिकम पछि हट्यो । त्यसपछि सरकारले यसको पुनर्निर्माण गर्ने जिम्मा प्राधिकरणलाई दियो । त्यसपछि यस सम्बन्धमा केही छलफल भने भएका छन् । तर, ठोस निस्कर्ष निस्कने गरी छलफल भएको छैन । अब हुने बैठकमा यसले प्राथमिकता पाउला ।’

पुरातत्व विभागसँग सहमति नजुटेपछि धरहरा पुनर्निर्माणबाट टेलिकम पछि हटेको थियो । विभागले बनाएको डिपिआर टेलिकमले परिमार्जन गर्न खोजेपछि दुईबीच सहमति जुट्न सकेको थिएन ।त्यसपछि सरकारले धरहरा पुनर्निर्माणको सबै अधिकार प्राधिकरणलाई दिएको थियो ।तर, प्राधिकरणले जिम्मा पाएको करिब दुई महिना बितिसक्दा पनि धरहरा पुनर्निर्माण आफैँ गर्ने या अरू कुनै निकायलाई जिम्मा दिने विषय टुंग्याउन सकेको छैन ।

प्राधिकरणका प्रवक्ता भुसालले भने, ‘धरहरा आफैँले बनाउने या अन्य निकायलाई यसको पुनर्निर्माणको काम दिने भन्ने अधिकार प्राधिकरणलाई छ । तर, अहिलेसम्म प्राधिकरणले न आफैँ बनाउने निर्णय गर्न सकेको छ न त अरूलाई जिम्मा दिने निर्णय नै । त्यसैले यो विषय अहिलेसम्म अन्योलपूर्ण नै छ भन्दा फरक नपर्ला । तर, अब यसले गति लिने छ । यस विषयमा प्राधिकरण गम्भीर छ ।’

पुनर्निर्माणमा रकम अभाव छैन
प्राधिकरणका अनुसार धरहरा पुनर्निर्माणका लागि पर्याप्त बजेट मौज्दात छ । तर, कम प्राथमिकताका कारण धरहरा पुनर्निर्माणले गति समात्न नसकेको हो ।

प्राधिकरणका अनुसार ‘मेरो धरहरा मै बनाउँछु’ अभियान अन्तगत नौ करोड रुपैयाँ जम्मा भइसकेको छ ।

त्यस्तै पुनर्निर्माणबाट पछि हटेपछि टेलिकमले एक अर्ब रुपैयाँ धरहरा पुनर्निर्माणका लागि दिने घोषणा गरिसकेको छ ।

यसबाहेक आवश्यक परे प्राधिकरणकै बजेट धरहरा पुनर्निर्माणमा खर्च गर्न सकिने प्रवक्ता भुसालको दाबी छ । तर, पनि धरहरा पुनर्निर्माण अघि बढ्न सकेको छैन ।

यस्तो थियो टेलिकमको योजना
टेलिकमले सात अर्ब ९१ करोड रुपैयाँमा धरहरा निर्माण गर्न चाहिरहेको थियो । उक्त लगानीमा टेलिकम धरहरालाई स्वरूप नबिग्रने गरी अत्याधुनिक ‘ल्यान्ड मार्क’का रूपमा विकास गर्न चाहन्थ्यो ।

यस अन्तर्गत धरहराभित्र ‘सुपर लिफ्ट’ राखिन खोजिएको थियो । धरहारा माथि २६ जना अट्न सक्ने गरी ‘भ्यू टावर’ निर्माण गर्ने तयारी थियो ।

धरहरा अगाडि ‘म्युजिकल फाउन्टेन’ बनाउने भनिएको थियो । सुन्धरामाथि स्वरूप नबिग्रने गरी कृत्रिम आकाश निर्माण गर्न खोजिएको थियो ।

साबिकको टक्सार भवन र नेपाल बैंकको कार्यालय भत्काएर परम्परागत शैलीको चारतले भवन बनाउन खोजिएको थियो । जसको डिजाइन भर्याङशैलीमा गरिएको थियो ।