टेलिकमलाई प्राधिकरणले भन्यो : धरहरा बनाउने कि नबनाउने ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

टेलिकमलाई प्राधिकरणले भन्यो : धरहरा बनाउने कि नबनाउने ?



काठमाडौं, भदौ २३ –

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल टेलिकमलाई पाँच दिनभित्र धरहरा पुनर्निर्माणबारे आफ्नो आधिकारिक प्रस्ताव एवं धारणा तयार गरी पेश गर्न निर्देशन दिएको छ ।

गएको भदौ १२ गते प्राधिकरणले टेलिकमलाई धरहरा पुनर्निर्माण सम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव पेश गर्न पत्राचार गरेको थियो । तर पत्रको जवाफ नआएपछि प्राधिकरणले शुक्रवार पुनः टेलिकमलाई पत्राचार गरि आफ्नो आधिकारिक धारणा पेश गर्न निर्देशन दिएको हो ।

प्राधिकरणको कार्यकारी समितिको साउन २३ गतेको बैठकले ‘नेपाल सररकार मन्त्रीपरिषद्को निर्णय बमोजिम धरहरा पुनर्निर्माणका सम्बन्धमा अहिले सम्मको प्रगति सहित नेपाल टेलिकमले आफ्नो आधिकारिक प्रस्ताव एवं धारणा तयारी गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समक्ष पेश गर्ने निर्णय गरेको थियो ।

निर्णय अनुसार प्राधिकरणले भदौ १२ गते टेलिकमलाई प्रगति सहित प्रस्ताव पेश गर्न आग्रह गरेको थियो । पुरातत्व विभागलाई बोधार्थ पठाइएको शुक्रबारको पत्रमा प्राधिकरणले पत्र प्राप्त भएको मितिले पाँच दिनभित्र प्राधिकरणमा आइपुग्ने गरी जवाफ पठाउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । नेपालको सबैभन्दा ठूलो दूरसंचार प्रदायक नेपाल टेलिकमले भूकम्प गएलगत्तै धरहरा पुनर्निर्माणमा चासो देखाए पनि त्यो अगाडि बढ्न सकेको छैन ।

यसैबीच प्राधिकरणले शुक्रवारै काष्ठमण्डप संरक्षण र पुनर्निर्माण सम्बन्धमा भएको प्रगतीवारे जानकारी दिन काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ । प्राधिकरणको गत साउन १८ गते बसेको बैठकबाट भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणका विषयमा काठमाण्डौ महानगरपालिकाले स्थानीय तथा सरोकारवाला सवै पक्षलाई समेटेर स्थानीय समुदायलाई सहभागी गराई पुनर्निर्माणको नेतृत्व लिने निर्णय भएको थियो ।