धरान नेकपाको निष्कर्ष: कर बढाएको कारण चुनाव हारियो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

धरान नेकपाको निष्कर्ष: कर बढाएको कारण चुनाव हारियो



काठमाडौं । चुनावमा अनपेक्षित पराजय बेहोरेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धरान उपमहानगर कमिटीले त्यहाँको संसदीय दललाई करको दर घटाउन निर्देशन दिएको छ ।

भारीमात्रामा करको दर बढाएपछि त्यसको असर जनस्तरमा परेको र उपनिर्वाचनको परिणाम नेपाली कांग्रेसको पक्षमा गएको निष्कर्ष निकालेको छ ।

धरान उपमहानगर निर्वाचन परिचालन कमिटी सचिवालय बैठकले करका दर पुनरावलोकन गर्न निर्देशन दिएको नेकपाले बताएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धरान उपमहानगर निर्वाचन परिचालन कमिटी सचिवालयको बैठक पार्टीका नेताहरू समेतको उपस्थितिमा सम्पन्न भएको छ ।

निर्वाचनका सन्दर्भमा जनताको घरदैलोमा जाँदा विभिन्न तहबाट लागु गरिएका करहरू प्रति जनताको व्यापक गुनासाहरू र असन्तुष्टिहरू पाइएकाले जनताको अभिमत तथा सुझावको उच्च सम्मान गर्दै धरान उपमहानगरपालिकाबाट आर्थिक वर्ष २०७६–०७७ का लागि लागु गरिएका करका दर पुनरावलोकन गरी तत्काल करका दर घटाउने कार्य सुरू गर्न नेकपा धरान उपमहानगर संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको छ,” नेकपा धरानले भनेको छ ।

धरान उपमहानगरपालिकाले घरबहाल कर १२ प्रतिशत पुर्‍याएको थियो । अन्य कर पनि छिमेकी स्थानीय तहको तुलनामा बढेको थियो ।

यही कारणले चुनावमा पराजय बेहोर्नुपरेको निष्कर्ष नेकपाको छ ।