धर्म दमन होइन आस्था हो, व्रत कर होइन रहर हो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

धर्म दमन होइन आस्था हो, व्रत कर होइन रहर हो



दिपक घिमिरे-

भारतको हैदराबादबाट आएर अमेरिकामा व्यवसाय गर्ने इमाद मुस्लिम समुदायका हुन । उनकै पसलमा काम गर्ने सरिफ पनि हैदराबादी मुस्लिम नै हुन । इमाद प्राय नवाज गर्दैनन्, तर सरिफ पसलमा “हामी पाँच मिनेट पछि आउनेछौ !” भन्ने ट्याग झुन्डाएरै भए पनि नवाज पढ्छन् ।

घण्टाको हिसाबले तलब दिने इमादले पसलै बन्द गरेर नवाज पढेको कारण कहिले प्रश्न उठाउँदैनन् । र तलब पनि काट्दैनन् ।

अमेरिकी जेलहरूमा सबै धर्मावलम्बीले मागेअनुसारको खाना उपलब्ध गराइन्छ । खाना मात्र होइन, भारतीय शिख धर्मावलम्बीहरूका लागी टाउकोमा बाँध्ने फेटा समेत उपलब्ध हुन्छ । प्रत्येक वार्डमा एउटा छुट्टै प्रार्थना कोठा उपलब्ध हुन्छ अनि धार्मिक धर्मग्रन्थहरू सजाएर राखिएका हुन्छन् । यो धर्म प्रतिको सम्मान हो ।

मुस्लिम देशहरूमा प्राय सबैले दैनिक पाँच पटक नवाज पढ्छन् तर धेरै सङ्ख्यामा त्यस्ता व्यक्तिहरू पनि हुन्छन् जो कहिल्यै नवाज पढ्दैनन् । ती नवाज नपढ्नेहरूले कहिल्यै पनि नवाज पढ्नेहरूलाई डिस्टर्ब गर्दैनन् । उनीहरूको आस्थामाथि व्यङ्ग्यात्मक टिप्पणी गर्दैनन् । यो पनि एउटा धर्म प्रतिको सम्मान हो ।

उमेरले पाँच वर्ष नपुगेको एउटा सानो बच्चालाई एक हुल मान्छेले खोलाको बिचमा पुर्‍याएर अमानवीय तरिकाले पानीमा चोबले । म हेर्न नसकेर अर्कै तर्फ मोडिएं । उनीहरू केही मन्त्र पढ्दै बच्चालाई उत्तानो पारेर पानीमा चोबलिरहे, बच्चा रोइरह्यो ।

पछि एक जनालाई सोधेँ “के गरेको यस्तो अत्याचार ?”

उनले भने “क्रिश्चियन धर्म भित्र यसलाई बापतिज्म भनिन्छ । जिससलाई विश्वास गर्नेहरू एक पटक बापतिज्म गरेर मात्र आफू शुद्ध क्रिश्चियन भएको स्वीकार गर्दछन् !”

कस्तो गाह्रो कुरा ! धर्मप्रति आस्था राख्न पनि परीक्षा नै दिनुपर्ने । तर पनि क्रिश्चियन समाजभित्र यो गलत छ भनेर कसैले औला उठाउँदैनन् । किनकि त्यो आस्था हो, कसैको आस्थामाथी कसैले औंला ठड्याउन उचित होइन भन्ने बुझेका छन् ।

अब हाम्रो नेपाली धर्म संस्कृतिसँग जोडिएको विवादित कुरा गरौँ !

म एउटा हिन्दु परिवार भित्र जन्में, हुर्कें । म आफू त्यति धेरै धर्ममा विश्वास त गर्दिन तर भगवानको मन्दिर देखेपछि मेरा हात आफै उठ्छन् अनि नमस्कार टक्र्याउँछु । कुनै कामना गर्नु परे “हे भगवान् !” भनेर पुकार्छु । सानोमा “भगवान् कसम” भन्ने कसम खाँदै ठुलो भइयो, त्यो बानी आज सम्म पनि छुटेको छैन ।

घरमा मेरा बा धर्मप्रति त्यति विश्वास गर्नु हुँदैन । परापूर्व कालमा धर्मको नामले समाजलाई अपराधीबाट जोगाउन सकिने भएकै कारण धर्म फस्टाउँदै गएको बताउनुहुन्छ । धर्मले गर्दा अपराधीभित्र एउटा डर उत्पन्न हुने अनि त्यही डरले गर्दा उ भित्र मानवता पलाउने भएकै कारण धर्मले समाजलाई बचाउँदै आएको बताउनुहुन्छ ।

तर आमा कट्टर हिन्दुवादी नारी हो । हरेक पर्वमा व्रत बस्नु, हिन्दु संस्कार र परम्परालाई पालना गर्नु आमाका दिनचर्या नै हुन । बिरामी हुँदापनि आमा व्रत बस्नु हुन्छ । बा यो कुराबाट रिसाउनु पनि हुन्छ, आमालाई व्रत नबस्न बारम्बार भन्नुहुन्छ ।

आमाले बा को कुरा सुन्नुहुन्न, बरु व्रत खोल्नुभन्दा पहिले बाको गोडा धोएर जल पिउनु हुन्छ अनि बल्ल खाना फलफूल खाएर व्रत सक्नुहुन्छ ।

बा ले आफ्नो आयु लामो होस भन्ने स्वार्थ राखेर आमालाई भोकै व्रत बसालेको होइन, र आफू निरोगी हुन आमालाई खुट्टाको जल खुवाएको पनि होइन । यो त आमाले धर्ममाथि आस्था राखेर अनि विश्वास गरेर आफ्नै रहरले गरेको हो ।

हिन्दु धर्ममाथि आस्था राख्ने नारीले धर्म माथिको विश्वासकै भरमा आफ्नो परिवारको सुख शान्तिको निम्ति व्रत बस्छ भने व्रत नबस्नेहरूको टाउको दुखाई किन ? भन्ने मेरो प्रश्न हो ।

एउटा नवाज नपढ्ने मुस्लिमले अर्को नवाज पढ्ने मुस्लिमलाई टिप्पणी गर्दैन, एउटा चर्च नजाने क्रिस्चियनले अर्को चर्चमा गएर रुने क्रिस्चियनलाई उडाउँदैन तर एउटा आस्थावान् हिन्दुलाई अर्को नास्तिकले किन हेप्ने ?

हो, हिन्दु धर्मभित्र धेरै मान्यताहरू भेदभाव पूर्ण होलान् । तर ती भेदभावपूर्ण मान्यताहरूलाई दमन देख्नु या शोषण भन्नू चैँ गलत हो । मेरा बा ले आमालाई जबरजस्ती व्रत बस्न लगाउनु भयो अनि व्रत खोल्दा गोडा धोएको जल नखाएको निहुँमा कुट्नु पिट्नु भयो भने मानौला कि दमन छ, शोषण छ भनेर । होइन भने कसरी मान्नु ?

जीवनको आधा उमेर लगभग सकियो । धेरै अपत्यारिला अनि आश्चर्यजनक घटनाहरू समाचारका रूपमा पढ्न पाएको छु तर आजसम्म व्रतको निहुँमा भएको दमन अनि शोषणको समाचार पढ्न पाएको छैन । सुनेको पनि छैन ।

विश्वकै पुरानो मानिएको हिन्दु धर्मप्रति हिन्दु धर्मका सन्तानबाटै किन यसरी प्रहार हुन्छ ? हो उहाँहरूले असहमति प्रकट गर्न सक्नुहुन्छ, असहमतिले अरू आस्थावान्हरूको मनमा खोट नपुग्ने तरिकाले ।

धर्मले दिएका सन्देशहरू सकारात्मक हुन्छन् । त्यसैले दिने फल अन्धविश्वास होला । तर प्राचिनकालदेखि चलिआएको रितिलाई एक्कासि जरैबाट उखेल्छु भन्नू मूर्खता पनि हो ।

हामी अझै पनि आफ्नो टोलमा मन्दिर बनाउने योजना बनाइरहेका हुन्छौँ । कुलपुजामा आफन्त भेला भएर रमाउँछौ । कतिले त घरको छतमा सानो मन्दिर नै बनाएका छौँ । घरभित्रै एउटा सानो कोठालाई पुजा कोठा बनाएर बसेका छौँ । यसरी धर्ममाथि आस्थावान् भइरहँदा नास्तिक बताउने सानो झुण्डले बारम्बार प्रहार गर्नु उचित पक्कै होइन।

नास्तिक बन्न पाइयो, धर्म मान्दिन भन्न पाइयो तर विरोध गर्न कतै पाइँदैन ।

एउटा पसलको साहुले पैसा दिएको समयलाई पूजा पाठमा खेर फाल्दा आफ्नै कामदारसँग साहु रिसाउँदैन । एउटा अपराधीले जेल भित्रै धर्म सम्बन्धी माग राख्दा जेल प्रशासनले सजिलै पूरा गरिदिन्छ । तर एउटा नारीले आफू खुसी व्रत बस्दा अनेक टिका-टिप्पणी गरेर होच्याउने काम हुन्छ ।

धर्मले मानिसलाई सामाजिक बनाएको हुन्छ । धर्मकै कारण कति आपराधिक मानसिकताहरू पनि सामाजिक भएका हुन्छन् । धर्म कै कारण कति मान्छेले सहयोग पाएका हुन्छन् । भनेपछि किन यही धर्मको विरोधमा उत्रन्छ मान्छे ?

व्रत बस्नु महिला माथिको अन्याय, दमन, शोषण हो रे । शोषण दमन त त्यसलाई भनिन्छ जुन कुरा बल प्रयोग गरेर बाध्य बनाइन्छ । यदि कुनै श्रीमानले बलजफती व्रत बस्न निर्देशन दिन्छ भने त्यति बेला शोषण भन्दै विरोध गरौला, होइन भने कसैको आस्थामाथि किन प्रहार ?

स्वास्थ्यले साथ दिन्छ भने व्रत बस्नु वैज्ञानिक कारणले फाइदा छ भनेर विज्ञानले स्वीकार गरेको छ । हाम्रा हिन्दु धर्म भित्रका धेरै संस्कार र परम्परासँग विज्ञानको प्रभाव छ । यति हुँदा पनि शोषण र दमनको नाममा हिन्दु धर्मको संस्कार मास्न खोज्ने ?

त्यसैले ! सक्नुहुन्छ भने व्रत बस्नुस् । श्रीमानको लामो आयुको कामना अन्धविश्वास होला तर मनको शान्ति अनि परिवारभित्रको माया अझ गाढा हुनेछ । श्रीमानको नाममा व्रत बस्दा श्रीमान्-श्रीमती बिच माया अझ धेरै बढ्नेछ ।

धर्म संस्कृतिलाई जोगाउने हो, मास्ने होइन । व्रत नबस्दैमा गल्ती गरेको मानिँदैन तर व्रत बस्नेहरू माथि टिप्पणी गर्नु चैँ गलतै हो, शोषण दमन देख्नु झन् महापाप हो ।