अम्पाएरले भने : विश्वकप फाइनलमा म बाट गल्ती भयो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अम्पाएरले भने : विश्वकप फाइनलमा म बाट गल्ती भयो



एजेन्सी । इंग्ल्याण्डमा सम्पन्न १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आफूबाट गल्ति भएको अम्पाएर कुमार धर्मसेनाले स्वीकार गरेका छन् ।
लर्ड्समा इंग्ल्याण्ड र न्युजिल्याण्डबीचको फाइनल खेलको अन्तिम ओभरको चौथो बलमा इंग्ल्याण्डले ओभर थ्रोका कारण ६ रन प्राप्त गरेको थियो ।

उक्त ओभरमा थ्रो मार्फत एक अतिरिक्त रन अम्पाएरको गल्तीका कारण भएको थियो । सोहि एक रनका कारण इंग्ल्याण्ड र न्युजिल्याण्डको खेल बराबरी भएको थियो ।
स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको थियो । रोमान्चक बनेको फाइनलको सुपर ओभर पनि बराबरी भएपछि सर्वाधिक बाउन्ड्रीको आधारमा इंग्ल्याण्ड च्याम्पियन बनेको थियो ।
खेलपछि धर्मसेनाको उक्त निर्णयको चौतर्फी विरोध भएको थियो । तर, श्रीलंकाका पूर्व क्रिकेटर समेत रहेका अम्पाएर धर्मसेनाले आफु मैदानमा रहेका कारण रिप्लेमा ब्याट्सम्यान क्रस गरेको वा नगरेको हेर्ने सुबिधा नहुँदा त्रुटि भएको बताएका छन् ।

‘टिभीमा रिप्ले हेर्दा अम्पाएरको गल्ति भएको देखिएको छ र यसलाई स्वीकार गर्छु,’ धर्मसेनाले भने ।
उक्त खेलमा धर्मसेनाले दक्षिण अफ्रिकी अम्पाएर मारिस इरास्मससँगै अम्पाएरिङ गरेका थिए ।
धर्मसेनाले आफुले म्याच अफिसियलसँग छलफल गरेर रन दिएको बताउँदै उक्त निर्णयमा आफुलाई कुनै पछुतो नरहेको समेत बताए ।

‘हामीसँग रिप्ले हेर्ने सुबिधा नभएका कारण मलाई यसमा कुनै पश्चताप छैन,’ धर्मसेनाले थपे ।