धार्मिक महत्वको शिवथान ओझेलमा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

धार्मिक महत्वको शिवथान ओझेलमा



तेह्रथुम, फागुन १५ 

तेह्रथुममा रहेको पौराणिक धार्मिक महत्वको शिवथान मन्दिर आवश्यक संरक्षण, संवद्र्धन र प्रचारप्रसारको अभावमा ओझेलमा रहेको छ । मन्दिरको धार्मिक महत्वलाई प्रचारमा ल्याउन नसक्दा ओझेलमा परेको हो ।

म्याङ्लुङ नगरपालिका–६, अम्फुवा र लालीगुराँस नगरपालिका–११, सोल्माको सीमास्थित पिंगुवा खोलामा अवस्थित शिवथान किराँत धर्मावलम्बीहरुको विशेष पूजाआजा गर्ने स्थल हो ।

ऐतिहासिक धार्मिक महत्व बोकेको सो शिवथान हाल स्थानीयवासीको नजरमा छ । तर स्रोत साधन नहुँदा संरक्षण र संवद्र्धन भनेजति गर्न नसकिरहेको उनीहरु बताउँछन् ।

उक्त थानमा विशेषगरी हरेक वर्षको महाशिवरात्रि, श्री पञ्चमी र साउन महिना साथै अन्य विभिन्न अवसरमा धर्मावलम्बीहरुको घुइँचो लाग्ने गर्दछ । सो थानमा वार्षिक २० हजार बढी भक्तजनले दर्शन गर्ने गरेका छन् । उक्त थानमा २५ वर्षदेखि मुख्य सेवासाँवाको रुपमा पूजा गर्दै आएका डम्बरबहादुर थेगुवाले भन्नुभयो – “यो नदीको बीच भागमा भएको र महादेव र पार्वतीको ऐतिहासिक धर्म कथासँग जोडिएको ऐतिहासिक धार्मिक सम्पदा हो । हामीले देख्दादेखि नै यहाँ दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।”

उनले शिवथानमा दर्शन गर्नाले थुप्रै मनोकाङ्क्षा पूरा भएको उदाहरणसमेत सुनाए । थानमा पुगेर विद्यार्थीले पढाइमा प्रगति माग्छन् । दम्पतीले सन्तानको खुसी र सुखद भविष्य माग्छन् । रोगव्याधी लागेकाले निरोग रहन आशीर्वाद माग्छन्, सेवासाँवा थेगुवाले भन्नुभयो । शिवथान पिंगुवा खोलाको बीच भागमा छ ।

शिवथान रहेको ढुङ्गाको आकृतिसमेत आश्चर्यजनक छ । झट्ट हेर्दा मानव निर्मित जस्तै देखिने सो ढुङ्गाको मुख्य भागमा दुईवटा गुफा छन् । किंवदन्तीअनुसार महादेव र पार्वतीबीच द्वन्द्व भएपछि महादेव रिसाएर भाग्दै सो थानको माथिको गुफामा बसेको र खोज्दै गएकी पार्वती तल्लो गुफामा बसेको किराँती इतिहासका ज्ञाता सामबहादुर लिम्बू बताउनुहुन्छ ।

“झट्ट हेर्दा खोलामा रहेको यो ढुङ्गाको आकृति नै दैविक शक्तिबाट उत्पत्ति भएको जस्तो लाग्छ, उहाँले भन्नुभयो, तर यो खोलामा भएका कारण पानीले खोपेर यस्तो गुफा बनेको हो पनि भन्न सकिन्छ ।” उहाँले गुफा जसरी बने पनि गुफासँग जोडिएको धार्मिक आस्थाको कुरा महत्वपूर्ण भएको बताउनुभयो । तर पछिल्लो पुस्ताले त्यसको महत्वलाई बुझ्न नसक्दा मेला मासिएर गएको जिरीखिम्ती युवा क्लबका अध्यक्ष श्रीप्रसाद कार्कीले बताउनुभयो ।

उहाँले महादेवथानसम्म पुग्ने सडक विस्तार गरी महाशिवरात्रिकै अवसरमा परापूर्वकालदेखि लाग्दै आएको मेलालाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।
मन्दिरको पूर्वाधार व्यवस्थापन गरेर धार्मिक महत्वलाई प्रचारप्रसारमा ल्याउन सके जिल्लाकै उत्कृष्ट गन्तव्य बन्ने जिरीखिम्तीबजारका सुवीन्द्र थेगुवा दाबी गर्नुहुन्छ । हाल जिरीखिम्तीबजारबाट करिब ४५ मिनेटको पैदल यात्रापछि मन्दिर पुगिन्छ । सो स्थान जान मोटरबाटो निर्माण गरिएको भए पनि हाल व्यवस्थित छैन ।

व्यवस्थित गर्न बजेट माग गरिए पनि चासो नदिँदा समस्या भएको स्थानीयवासी बताउँछन् । शिवथानको धार्मिक महत्वलाई चर्चा र प्रचारप्रसार गर्दै जिरीखिम्तीमा हरेक वर्ष खोरन्डे मेलासमेत लाग्दै आएको छ । मेलाको माध्यमबाट यस क्षेत्रका सम्भावित क्षेत्रको प्रचारप्रसार र विकासमा सहयोग पु¥याउने लक्ष्य राखिएको जिरीखिम्ती युवा क्लबका अध्यक्ष कार्कीले बताउनुभयो । यो वर्ष पनि मेलाको तयारी भइरहेको उहाँले बताउनुभयो ।

शिव थानसहित यस क्षेत्रका पर्यटकीय सम्भावना भएका ठाउँको प्रचारकै लागि यो वर्ष पनि फागुन २१ देखि चैत २ गतेसम्म खेलकुद, सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमसहित खोरन्डे मेला सञ्चालन हुने क्लबका सचिव लासिकहाङ लिम्बूले बताउनुभयो । रासस