प्राध्यापक राजेन्द्र सुवेदीको 'धितो कोख' बजारमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्राध्यापक राजेन्द्र सुवेदीको ‘धितो कोख’ बजारमा



काठमाडौं- वरिष्ठ भाषासेवी, समालोचक तथा साहित्यकार प्राध्यापक राजेन्द्र सुवेदी फरक शैलीको उपन्यास सार्वजनिक भएको छ । नयाँ विषय, नयाँ शिल्प र शैलीको उपन्यास ‘धितो कोख’ एक कार्यक्रमका बिच शुक्रबार सार्वजनिक भएको हो ।

कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्राध्यापक वासुदेव त्रिपाठी प्रमुख आतिथ्यता रहेको थियो भने बौद्धिक जगतको बाक्लो उपस्थिति रहेको थियो ।

ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डेका अनुसार, धितो कोख राजेन्द्र सुवेदीको वृहत् ज्ञान र खोजको नौलो विषय, नयाँ शिल्प र नयाँ शैलीको उपन्यास भएको र प्राध्यापक राजेन्द्र सुवेदीको लामो समय, उत्कृष्ट खोज र कडा मिहिनेत ले यो कृति जन्मेको र उपन्यासमा नेपालको वर्तमान राजनीतिक विचलन, क्रान्तिका नाममा भएका भ्रस्टपन, आम जनतामात्र हैन आफ्नै कार्यकर्ता र लडाकु कमान्डरसम्मले पाएको सास्तीलाई यति धेरै यथार्थपरक र मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ कि कतिपय ठाउँहरूमा पाठकले मुटु दह्रो बनाएर पढ्नुपर्ने बताइएको छ ।

कार्यक्रममा नेकपाका नेता साहित्यकार दिनानाथ शर्मा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य, प्राज्ञ डा. देवी नेपाल, साहित्यकार डा. रामप्रसाद ज्ञवालीसहित साहित्यकार रमेश शुभेच्छुसहित मुर्धन्य व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

ऐरावती प्रकाशनका प्रवन्धक आनन्द तिवारीले स्वागत मन्तब्य राखेको कार्यक्रममा प्राज्ञ डा. देवी नेपालले उपन्यासकार सुवेदीको व्यक्तित्व माथि प्रकाश पारेका थिए भने डा. रामप्रसाद ज्ञवालीले पुस्तकमाथि समीक्षा गरेका थिए । रमेश शुभेच्छुले सञ्चालन गरेको कार्यक्रम ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डेले अध्यक्षतामा सम्पन्न भएको थियो ।

ऐरावती प्रकाशनले प्रकाशनमा ल्याएको २५६ पृष्ठको यस पुस्तकको मूल्य ३३० रुपैयाँ रहेको छ । यही असोज ३ गते सार्वजनिक भएपछि पुस्तक देशभरका साहित्यिक पुस्तक पसलहरुमा उपलब्ध छ ।

झण्डै चार दशक प्राध्यापन सेवामा संलग्न एवं तीन दशकजति त्रिभुवन विश्वविद्यालयमा नेपाली भाषा र साहित्य अध्यापन गराएका प्राध्यापक राजेन्द्र सुवेदी त्रिविको नेपाली केन्द्रीय विभागका विभागीय प्रमुख समेत थिए । हाल त्रिवि सेवाबाट निवृत्त सुवेदी नेपाली भाषा र साहित्यको सेवा र सिर्जनामा सक्रिय रहँदै आएका छन् । केही दर्जन पुस्तकहरूका सम्पादक प्राध्यापक सुवेदीका महाकाव्य, निबन्ध, समालोचना, कविता, आख्यान आदिका तीन दर्जनजति पुस्तकहरू प्रकाशित रहेका छन् ।