धोनीको क्रिकेट करियर सकियो, बीसीसीआईले भन्यो: निरन्तरता दिन सकिन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

धोनीको क्रिकेट करियर सकियो, बीसीसीआईले भन्यो: निरन्तरता दिन सकिन्न



एजेन्सी– भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बिहीबार खेलाडीहरुसँगको सम्झौता सार्वजनिक गर्‍यो। जसमा भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको नाम समावेश गरिएको छैन।

विगत केही महिनादेखि भारतका लागि क्रिकेट नखेलेका धोनीलाई बीसीसीआईले सम्झौतामा समावेश नगरेपछि ‘के धोनीको क्रिकेट करियर सकिएको हो?’ भन्ने प्रश्न उठेको छ।

गत जुलाईमा इंग्ल्याण्ड र वेल्समा सम्पन्न १२ औँ एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्धको खेलपछि धोनीले भारतका लागि कुनै पनि प्रतियोगिता खेलेका छैनन्।

यस्तो अवस्थामा धोनीसँगको सम्झौतालाई निरन्तरता दिन नसकिने बीसीसीआईको तर्क छ।

धोनीलाई बोर्डले पहिले नै सम्झौताबाट बाहिरै राख्ने जानकारी दिइसकेको बीसीसीआईलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

धोनी भारतीय क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान हुन्। उनको कप्तानीमा भारतले सन् २००७ मा टी–२० विश्वकप र सन् २०११ मा एकदिवसीय विश्वकप क्रिकेटको उपाधी हात पारेको थियो।

धोनीले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा खेलेका ९० टेस्ट क्रिकेटमा ६ शतक र ३३ अर्धशतकसहित ४ हजार ८ सय ७६ रन, ३ सय ५० एकदिवसीय खेलमा १० शतक र ७३ अर्धशतकसहित १० हजार ७ सय ७३ रन र ९८ टी–२० खेलमा दुई अर्धशतकसहित १ हजार ६ सय १७ रन बनाएका छन्।

बीसीसीआईले बिहीबार सार्वजकि गरेको सम्झौतामा २७ जना खेलाडीको नाम अटाउँदा धोनीसहित दिनेश कार्तिक, अवांति रायुडू र खलिल अहमदको नाम भने छैन।

२७ जना खेलाडीमध्ये तीन खेलाडीलाई ‘ए प्लस’ ग्रेड, ११ जना खेलाडीलाई ‘ए’ ग्रेड, पाँच जना खेलाडी ‘बी’ ग्रेड र आठ जना खेलाडीलाई ‘सी’ ग्रेडमा राखिएको छ।

‘ए प्लस’ ग्रेडमा कप्तान विराट कोहली, रोहित शर्मा र जसप्रीत बुमराह सामेल छन्। उनीहरुले बीसीसीआईबाट सात–सात करोड भारु पाउनेछन्।

‘ए’ ग्रेडमा रविचन्द्रन आश्विन, रवीन्द्र जेडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिन्क्या रहाणे, केएल राहुल, शिखर धवन, मोहम्मद शमी, इशान्त शर्मा, कुलदीप यादव र रिषभ पन्त रहेका छन्। उनीअरुले बीसीसीआईबाट पाँच–पाँच करोड भारु पाउने छन्।

यस्तै ‘बी’ ग्रेडमा रिद्धिमान साहा, उमेश यादव, युजवेन्द्र चहल, हार्दिक पाण्ड्या र मयंक अग्रवाल छन्। उनीहरुले तीन–तीन करोड रुपैयाँ पाउने छन्।

केदार जाधव, नवदीप सैनी, दीपक चाहर, मनीष पाण्डे, हनुमा विहारी, शार्दुल ठाकुर, श्रेयस अय्यर र वाशिंटन सुन्दर ‘सी’ ग्रेडमा परेका छन्। उनीहरुले एक करोड रुपैयाँ पाउनेछन्।

यो सम्झौता २०१९ को अक्टोबरदेखि २०२० को सेप्टेम्बरसम्मका लागि लागु हुनेछ।

धोनी तत्काल सम्झाैतामा नपरे पनि बीसीसीआईकाे मापदण्डमा ताेकिए अनुसार खेल खेलेको खण्डमा कुनै पनि बेला बीसीसीआईले उनलाई राष्ट्रिय टोलीमा सामेल गर्नसक्ने बताइएको छ।

बीसीसीआईसँगकाे सम्झाैतामा पर्नका लागि कुनै पनि खेलाडीले जारी सिजनमा कम्तिमा तीन वटा टी–२० खेल खेल्नुपर्ने प्रावधान छ।