धोनीले भने: हामी सबैभन्दा कमजोर टिम हौँ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

धोनीले भने: हामी सबैभन्दा कमजोर टिम हौँ



काठमाडौं- शारजहाँ लगातारको खराव प्रदर्शनपछि चेन्नाइ सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले मानेका छन्, यसपल्टको इन्डियन प्रिमियर लिगमा अब आफ्नो टिमले केही गर्न सक्ने छैन र अब लिगमा बाँकी तीन खेल टिमका लागि अर्को सिजनका लागि अभ्यास हुनेछ ।

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले शुक्रबार राति चेन्नाइमाथि १० विकेटको जित निकाल्यो र यो पूर्णत: एकपक्षीय रह्यो ।

जितपछि मुम्बई १४ अंकमा शीर्ष उक्लिएको छ । मुम्बईसँगै दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरको पनि समान १४ अंक रहेको छ ।

रन रेटको आधारमा मुम्बई भने अगाडि रहेको हो । चेन्नाइ भने छ अंकमा अन्तिम स्थानमा छ । धोनीले खेलपछि भनेका छन्, ‘यसपल्ट हाम्रो टिम वास्वतमै कमजोर रह्यो, टिमको प्रदर्शन वास्तवमै पीडादायी छ ।’

मुम्बईले टस जितेर चेन्नाइलाई पहिले ब्याटिङको निम्तो दिएको थियो र उसले २० ओभरमा नौ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो । टिमले एक समय तीन रन बनाउँदा चार विकेट गुमाइसकेको थियो । पछि ३० रन बनाउँदा छ विकेट गुमाएको स्थिति थियो ।

उसका लागि साम कुरानले अन्त्यमा ५२ रन बनाए, जसको खासै अर्थ रहेन् । मुम्बईका लागि ट्रेन्ट बोल्टले घातक बलिङ गर्दै १८ रनमा चार विकेट लिए । अरू सबै बलरले उत्कृष्ट प्रदर्शन गरे ।

प्रत्युत्तरमा मुम्बईले विना विकेटको क्षति १२.२ ओभरमा १ सय १६ रन बनायो । त्यसमा क्विन्टेन डे ककले ४६ र ईशान किसनले ६८ रन बनाए । प्रतियोगितामा मुम्बईको यो पहिलो दस विकेट जित हो ।