धुर्मुस-सुन्तलीको 'ठगी यात्रा' : सम्पत्ति जोडे, रंगशाला छोडे ! - Himal Post Himal Post
  • ५ चैत्र २०८०, सोमबार
  •      Mon Mar 18 2024
Logo

धुर्मुस-सुन्तलीको ‘ठगी यात्रा’ : सम्पत्ति जोडे, रंगशाला छोडे !



गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणमा अनियमितता भएको भन्दै धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीपश्चात सिताराम कट्टेल उर्फ धुर्मुस र कुन्जना घिमिरे उर्फ सुन्तली तनावमा छन् ।

आयोजना बीचमै अलपत्र पारेको र पारदर्शी खर्च सार्वजनिक नगरेको भन्दै अख्तियारमा वागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक अनिल अधिकारीले उनीहरूविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । उजुरीमा उनीहरूलाई पक्राउ गरेर छानबिन गर्न माग गरिएको छ ।

धुर्मुस-सुन्तलीविरुद्ध अख्तियारले के एक्सन लिन्छ, त्यो भविष्यले बताउला । तर विगतमा जसले धुर्मुस-सुन्तलीलाई ‘भगवान’ माने, आज उनीहरूले नै ‘ठगी गरेको’ आरोप लगाइरहेका छन् ।

एक दशकभन्दा बढी नेपालीमाझ लोकप्रिय कलाकारका रूपमा रहेका धुर्मुस सुन्तलीलाई ‘समाजसेवाको भूत’ २०७२ सालको वैशाखमा गएको भूकम्पपछि चढेको थियो । उनीहरूले भूकम्पपीडितका लागि नेपालीहरूबाट नै पैसा उठाएर काभ्रेपलाञ्चोकमा पहारी बस्ती, सिन्धुपाल्चोकको गिरानचौरमा सामूहिक आवास हुँदै महोत्तरीको बर्दिबासमा मुसहर बस्ती र रौतहटको सन्तपुरमा एकीकृत नमुना बस्ती निर्माण गरेका थिए।

यद्यपि यी सबै आयोजनाहरूको खर्च पारदर्शी देखिएका थिएनन् । उनीहरूमाथि प्रश्न पनि कसैले उठाउन सकेको थिएन । सामाजिक सञ्जालमा सेलिब्रेटी बनेका धुर्मुस-सुन्तलीमाथि कसैले प्रश्न उठाउने हिम्मत गरेन । आफूमाथि कुनै प्रश्न नउठेको सुविधा प्रयोग गर्दै धुर्मुस-सुन्तली एकपछि अर्को गर्दै विवादमा फँस्न थालेका छन् ।

भूकम्प पीडितलाई आवास बनाइदिने विषय बढी इमोशनल थियो, त्यही कारण उनीहरूले प्रश्नको सामना गर्नुपरेन । तर ३ अर्ब भन्दा बढीको क्रिकेट रंगशालाको प्रोजेक्ट मागेकै रकमबाट सम्पन्न गर्छु भन्दै अघि सरेपछि धुर्मुस-सुन्तलीमाथि प्रश्नहरू उठ्न थाले ।

प्रश्नहरू उठेपछि उनीहरूले त्यसको सही र ठोस जवाफ दिएनन् बरू आँशु देखाएर भाग्न खोजे । राति राति युट्युबेहरूलाई बोलेर आफूहरूले काम गरिरहेको भन्दै रुन पनि पछि परेनन् धुर्मुस-सुन्तलीहरू ।

चितवनमा बन्दै गरेको क्रिकेट रंगशालामा हालसम्म ५० करोड भन्दा माथि खर्च भइसकेको धुर्मुस-सुन्तलीको दाबी छ । त्यसरी गरिएको खर्चको लेखापरीक्षण अहिले हुँदैछ । ५० करोड भन्दा माथि खर्च गर्दा आफूमाथि १७ करोड ऋण लागेको उनीहरूको दाबी छ । ३५ प्रतिशत काम सम्पन्न भएको उनीहरूको दाबीसमेत झुटो रहेको समाचारहरू बाहिर आइरहेका छन् ।

तर भरतपुरकी मेयर रेणु दाहालले महानगर, प्रदेश, स्थानीय सरकारसमेतको सहभागितामा भएका कार्यक्रममा करिब २७ करोड रुपैयाँ फाउण्डेसनलाई आएको दाबी गरेकी छन् । धुर्मुसले पनि फाउन्डेसनको तर्फबाट १९ करोड भन्दा बढी पैसा उठेको बताउने गरेका छन् । त्यसमाथि ऋण १७ करोड भएको धुर्मुसले बताएका छन् । खर्च ऋण र उठेको रकम जोड्दा ६३ करोड बढी हुन्छ ।

महानगरले रंगशालाको भौतिक प्रगति मूल्यांकन गर्न सघन शहरी विकास आयोजना र आर्थिक प्रगति मूल्याकंन गर्न नेपाल चार्टड् एकाउन्टेड संस्थालाई जिम्मा दिएको थियो । प्रारम्भिक मूल्याकंन प्रतिवेनदअनुसार रंगशालाको भौतिक प्रगति १४ प्रतिशत छ । रंगशाला निर्माणमा हालसम्म ५१ करोड बढी खर्च भएको देखिन्छ । दुई वटै प्रतिवेदन भरतपुर महानगर प्रमुख रेणु दाहालले युवा तथा खेलकुद मन्त्रालयमा बुझाएकी छन् ।

मागेर रंगशाला सम्पन्न हुन नसक्ने देखेपछि धुर्मुस-सुन्तली सरकारसँग हारगुहार गर्न थाले । संघीय सरकारले प्रदेश र प्रदेशले स्थानीय सरकारसँग जान भने । विशेष परिस्थिति सिर्जना भएका कारण रंगशाला निर्माण हुन नसके त्यसको स्वामित्त्व सरकारले लिने सम्झौता शुरुमै भएको थियो । त्यही सम्झौताका आधारमा भरतपुर महानगरले समग्र मूल्यांकनपश्चात रंगशाला निर्माणको जिम्मा लिने भएको छ ।

ऋण होइन, जोडियो सम्पत्ति

धुर्मुस-सुन्तलीले आफूमाथि यतिबेला १७ करोड ऋण रहेको दाबी गरिरहेका छन् । तर स्रोतका अनुसार उनीहरूले काठमाडौँ र चितवनमा करीब एक रोपनी भन्दा बढी जग्गा जोडेका छन् । रंगशाला निर्माणका क्रममा आर्थिक अभाव भए आफ्नो घरसमेत बेच्ने घोषणा गरेका धुर्मुस-सुन्तलीको नाउँमा काठमाडौँ र चितवनमा जग्गा रहेको स्रोतको दाबी छ ।

यसअघि उनीहरूको सातदोबाटोमा एउटा घर थियो । ‘रंगशाला निर्माणका क्रममा चितवन नै बस्नुपर्ने भएपछि सातदोबाटोको घर बेच्नुभएको हामीले सुनेका हौँ,’ धुर्मुस-सुन्तलीका एक छिमेकीले भने, ‘अहिले यो घर बेचेर उतै चितवनमा जग्गा जोड्नुभएको छ । काठमाडौँमै पनि अर्को ठाउँमा जग्गा जोड्नुभएको छ ।’ उनका अनुसार धुर्मुस सुन्तलीले करीब ८/१० करोड बराबरको सम्पत्ति जोडेका छन् ।

रंगशाला निर्माण शुरू भएपछि दुवैको जीवनस्तर पनि उकासिएको छ । दुवै यसअघि सस्तो गाडी चढ्ने गर्दथे । अहिले दुवैको एक/एक वटा महँगो गाडी छ । सुन्तली करीब ६० लाख पर्ने हुन्डाईको क्रेटा चढ्ने गर्छिन् । तर रंगशाला निर्माण शुरू भएयता दुवैको देखिने गरी आयस्रोत केही पनि छैन ।

बीचमा आफ्नो कलाकारिता यात्रालाई निरन्तरता दिने भन्दै केही म्यूजिक भिडियो र एउटा चलचित्रसमेत बनाएका थिए । म्यूजिक भिडियो र चलचित्रमा राम्रै लगानी थियो तर दुवै फ्लप भए । यो बीचमा उनीहरूले स्टेज प्रोग्रामसमेत गरेका छैनन् ।

केही देशहरूमा आयोजित कार्यक्रममा गए पनि उनीहरूले त्यसमा उठेको सबै रकम रंगशाला निर्माणमै खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सरकारी पैसामा वीर अस्पतालको सफाई, मागेको पैसा झ्वाम

२०७५ सालको वैशाखमा वीर अस्पताल सफाईका नाममा लाखौँ उठाएर झ्वाम पारेको आरोप धुर्मुस-सुन्तलीलाई लागेको थियो । तत्कालीन स्वास्थ राज्यमन्त्री पदमा अर्याललाई रिझाएर उनीहरूले अस्पताल सरसफाईको काम हत्याएका थिए ।

अस्पताल सरसफाई गर्न भन्दै उनीहरूले आफ्नो फाउन्डेसनमार्फत सहयोग गर्न देश विदेशमा रहेका जनतालाई अपील गरेका थिए । त्यसक्रममा करीब ३० लाख उठेको स्रोतको दाबी छ । अस्पताल सरसफाई भइसकेपछि धुर्मुसले ४७ लाख खर्च भएको जानकारी दिएका थिए ।

तर त्यसपछि मन्त्रिपरिषदको निर्णयबाट फाउन्डेसनलाई ६९ लाख अनुदान दिने निर्णय भयो । धुर्मुस आफैंले ४७ लाख खर्च भएको र लाखौँ रकम चन्दाबाट उठाएको अवस्थामा पनि उनीहरूले ६९ लाख सरकारबाट अनुदान लिए । फाउन्डेसनलाइ मोटो रकम प्राप्त भयो । यसको लेखापरीक्षण अझैसम्म पनि सार्वजनिक गरिएको छैन ।

हिसाब सोधेपछि सुन्तली ‘अक्क न वक्क’

क्रिकेट रंगशाला आर्थिक अभाव देखाउँदै अलपत्र छोडेपछि धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष ‘धुर्मुस’ र ‘सुन्तली अहिले जवाफविहिन भएका छन् । देश विदेशबाट पैसा उठाएर रंगशाला अलपत्र पारेका उनीहरूसँग अहिले सर्वत्र हिसाव माग्न थालिएको छ ।

रंगशालामा अहिलेसम्म गरेको काम र खर्च भएको रकमबारे पनि गोलमटोल जवाफ दिएर उम्किन खोजेका उनीहरू अहिले थाल खाउँ कि भात खाउँको अवस्थामा पुगेका छन् । उनीहरूले पैसा उठाएर खाएको भन्दै पक्राउ गर्न समेत माग गरिएको छ । यस्तै विभिन्न आरोप लागिरहेका बेला फाउण्डेसनकी उपाध्यक्ष कुन्जना घिमिरे (सुन्तली)सँग हिसाबको प्रश्न सोध्दा अक्क न वक्क बनेकी छन् ।

आफूले अभिनय गरेको ‘जाला जोवन’ बोलको म्युजिक भिडियोबारे फेसबुक लाइभमार्फत जानकारी दिने क्रममा सुन्तलीलाई रंगशाला निर्माणको आर्थिक पक्ष र ऋणबारे धेरैजसोले प्रश्न गरेका थिए । सुरुमा अक्क न वक्क बनेकी सुन्तलीले पछि भने सरकारका तर्फबाट जाँचबुझ र मूल्याङ्कन भइरहेको भन्दै गोलमटोल जवाफ दिइन्।

लाइभमा सहभागी सबै जसोले रंगशालाबारे प्रश्नको वर्षा गरेका थिए । उनीहरूको प्रश्नको जवाफमा उनले केही दिनपछि पत्रकार सम्मेलन गर्न लागेको भन्दै कुरा मोडिन ।

म्युजिक भिडियोको प्रचार गर्न फेसबुक लाइभ गरेकी उनलाई कमेन्टमा रंगशालाबारेको मात्रै प्रश्न गरेपछि उनी अस्वाभाविक बनेकी थिइन् । त्यसपछि उनले रंगशालाबारे सबैजसोले सोधेको र यसबारे केहिदिनमा जानकारी दिने बताइन ।

उनले सरकारबाट एक किसिमको मूल्याङ्कन हुँदै गरेको र सरकारी नीति, नियमअनुसार चल्नुपर्ने भएकाले केही समय लाग्ने बताईन । ‘तपाईंहरूलाई जे हो त्यो स्पष्ट पार्नेछौँ । हामी सबै कुरा जानकारी गराउने छौँ । हामी प्रेस मिटमार्फत नै सबै विवरणबारे जानकारी दिने नै छौँ’, उनले भनिन् ।

करिब ३५ प्रतिशत काम भएपछि १७ करोड ऋण लागेको र अपेक्षाअनुसार रकम नउठेको भन्दै गत साउनयता फाउण्डेसनले रंगशाला निर्माणको काम रोकेको छ । तर सरकारले गरेको प्रारम्भिक अध्ययनमा भने उनीहरूले भनेको जति काम पनि नभएको र खर्च पनि नभएको भेटिएको छ ।

फाउण्डेसनले रंगशाला बनाउँदा लागेको ऋण तिरेर यसको स्वामित्व लिन लिखित आग्रह गरेपछि सरकारले भरतपुर महानगरपालिकामार्फत रंगशालाको आर्थिक पक्षबारे अध्ययन गरिरहेको जनाइएको छ । भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले फाउण्डेसनले देखाएको आर्थिक विवरण सरकारी निकायबाट बुझ्ने काम भइरहेको बताए ।

रंगशाला निर्माणका क्रममा भएको आर्थिक विवरण पारदर्शी नभएको भन्दै धुर्मुस सुन्तलीविरुद्ध अख्तियारमा उजुरीसमेत परेको छ ।