दिदी ! यसपालि पनि फोटोमा टीका लगाईदिनु । - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

दिदी ! यसपालि पनि फोटोमा टीका लगाईदिनु ।



-दीपक घिमिरे

तिहार सुरु भैसकेको खबर सामाजिक सञ्जालले दिन थाले पछि डिउटी गर्न तिर खास्सै मन लागेन । घरमा पक्कै पनि मिठा रसिला अनि लोभलाग्दा रोटी पाके होलान् भन्ने कल्पना गरे । बिहान फेसबुकमा अपडेट नभएर डिउटी नजाने एक किसिमको लत मलाई लागि सकेको छ सायद यो लत म जस्ता परदेशी सबैको हुनु पर्छ । त्यसैले होला बिहान धेरैलाई अनलाइन मै देख्छु ।

मखमली फुलले ढपक्क ढाकेको त्यो आगँनलाई यही मरुभुमी बाटै सम्झिए । बाहिर धुवा उड्ने गर्मी भए पनि त्यो बेलौतीको छाया सम्झिए जहाँ बसेर तिहारको बेला बेलौती खाईन्थ्यो । तिहार सुरु हुनुभन्दा पैला किनेर ठिक्क पारेको त्यो बारुले मादललाई सम्झिए । सायद अब त फुटे होला ।

फेसबुकमा स्टाटस पोष्टिन मन थियो , तर दिमागमा केही फुरेन । घरको याद , तिहारको रमझम अनि रमाइलो भैलोलाई याद गर्दै उठे । आज डिउटी जादिन भन्ने सोच पाल्दै थिए , फोरम्यानको फोन आयो । मैले हेल्लो भन्न नपाउदै उसले भन्यो ” काम पे आएगा या नहि ? ए तेरा बापका घर नहि हे , तनखा चाइए तो जल्दी आजा ! ”

उ सँग को झगडा गरोस , उसै त हिन्दु भनेर हेप्छ । केही बोलिन , फोन काटेर कुदे । बाटोमा जाँदै थिए , दिदीले फोन गरी । दुई पटक सम्म काटे । उसले गरिरही , बाध्य भएर उठाए । अनि हस्याङ फस्याङकै आवाजमा भने ” पछि कल गर्छु है दिदी । ”

उसले हस नभन्दै मैले फोन काटिदिए ।

कम्पनीको गेटमा पुग्दैथिए , बंगाली स्टाफले भन्यो ” आज फोरम्यान गरम हे , बचके चल्ना । ”

मन डराएको थियो , तै पनि हिम्मत लिदै भने “साला बुढ्ढे से कौन डरेगा बे । गाण्डु से नहि डरनेका । ”

भित्र छिरे , फोरम्यानले आलु गोलभेडा जत्रा आँखा बनाउँदै भन्यो ” अपना बापका नोकरी सम्झा हे क्या ? जब मन चाहे तब आनेका ! ”

झ्याम्म गालामा लगाएर सुताईदिन मन थियो , तर बाध्यता छ त्यस्तो गर्न सकिन्न यो परदेशमा । चुप्प लागेर काममा खटिए ।

हातमा कामको चटारो छ तर दिमागमा उहीँ नेपाल , उहीँ तिहार अनि उहीँ साथीभाई सँगको रमाइलो भैलोको सम्झना । मन नलागेरै भए पनि कामना खटीईरहे ।

बंगाली र पाकिस्तानी मात्र भएको मेरो कम्पनीमा नेपाली म मात्र छु । कहिले काहीँ नेपाली साथी भाइको याद आउँछ अनि छुट्टी लिएर अबुधाबी या दुबई पुग्छु । घरबाट फोन आउँदा नेपाली बोल्छु नत्र उहीँ बंगाली बोल्ने भैसके । यहाँ सबैले मलाई बंगाली या पाकिस्तानी नै ठान्छन ।

एक हजार भना बढी कुरा मनमा खेल्न थालेपछि काममा ध्यान जाने कुरै भएन । मेरो लोसेपन देखेर फोरम्यान रिसायो , गोरो अनुहार कालो बनाउँदै भन्यो ” काम पे दिल नहि हे तो मुलुक चलाजा ! नहि तो अच्छे से काम पे लग । ”

साला गाण्डु मेरै पछि परेको हुन्छ । उसका बंगालीहरू काम नगर्दा केही बोल्दैन तर म एक छिन बसेको देखि सहदैन । लास्टै खडुस छ बुढो , त्यसैले उसको नाम पनि मैले बंगालीमै राख्देको छु ” दोरीचोदन । ”

उसले पाएको उपनामको अर्थ अलिकति खतरा छ । कोही बंगाली भेटिए सोध्नुहोला । उसले जति गाली गरे पनि मलाई आज काममा फिटिक्कै मन छैन । तिहारको रमझमले मन र मस्तिष्कमा नराम्रो सँग लोभ्याएपछी के काममा मन जानू । उठेर फोरम्यानलाई भने ” प्लिज सर ! आज छुट्टी देदो , हमारा दिवाली चल रहा हे । “

उ कठोर मुस्लिम हो , उसले हिन्दु देख्ने बित्तिकै अनुहार बटार्छ । उसले मेरो चाडवाडमा छुट्टी दिनु सपना जस्तै हो । उ मेरो कुरै नसुनी गयो , म फेरि काममा लागे ।

अघि काममा आउँदा दिदी ले फोन गर्दा म पछि गर्छु भनेको मैले भुलेछु तर दिदी कुरेर बसेकी रैछे । दुई पटक मिसकल आयो । उ भाइ सँग गफिन चाहन्थी ।

मोबाइलमा ब्यालेन्स चेक गरे , पन्द्र दिराम बचेको रैछ । सुटुक्क दुकानमा गएर बिस दिरामको रिचार्ज गरे अनि पार्किङ एरियामा गएर फोन गरे । एक घण्टि पनि पूरा जान नपाउदै दिदीले फोन उठाई । ” कति व्यस्त छस मेरो भाइ ! तिहारमा दिदी सँग गफिने सम्म फुर्सद छैन है तलाई ? ”

दिदीले एकै स्वरमा गुनासो सुनाई । मैले सुनिरहे । उसले फेरि भनी ” यो पटक त आउछस भन्या थिए , निधार खाली भएको तीन वर्ष भयो । तलाई अत्यास लाग्दैन जेठु ? ”

दिदीको प्रश्नले आँखा रसाए । के भन्नू ? अत्यास कति लाग्छ भन्ने दिदी ले कल्पना सम्म गर्न सक्दैने । तर उ सोच्छे म यतै खुसी छु । तर यस्तो कदापि होइन , साँच्चै हरेक परदेशी बाध्यताले परदेशमा छन् । ठुलो सहर , चिल्लो बाटो अनि हसिलो चेहराले हामी परदेशी खुसी देखिएपनि मनको पीडा कस्लाई सुनाउनु ? दिदी बोल्दै गै ” बाबु ! मिल्छ भने टीकाको दिन सम्म आइज , एक थोप्लो टीका लगाएर जालास । ”

कसले सम्झावस मेरो सोझी दिदी लाई । म काठमाडौँ भएको जस्तै सजिलो सँग आइज भनी । उसले आफ्नो कर्तव्य पूरा गरी । नेपाली परम्परा अनुसार तिजमा चेलिबेटी सम्झिने अनि तिहारमा दाजुभाइ सम्झिने संस्कृति हो । आज उसले आफ्नो कर्तव्य पूरा गरी , मैले बुझे । तर केही बोलिन ।

म चुप भएको उसलाई मन परेन सायद ” किन चुप ? कि फोन कट्यो र ? हेल्लो ! हेल्लो ! ”

उसले दुई पटक सम्म हेल्लो भनेपछि मैले भने ” सुनिराछु दिदी । मलाई तेरो आवाज सुन्न मन लागेको छ तेरो धेरै याद आएको छ । आज त मात्र बोल दिदी ! ”

मेरा आँखाबाट आँसु चुहिदै थिए । उता दिदी हिक्का छाडेर रुन थाली । अब यता म रुने अनि उता दिदी रुने । रुदा रुदै फोन कट्यो , म आँसु पुछेर काममा फर्किए ।

काममा लागेको थिए , उतैबाट फोन आयो । उठाए ” ब्यालेन्स सकियो है बाबु ? गफ गरम , मैले राखेकी छु पैसा । ” दिदीले माया देखाई ।

म सँग शब्दै थिएन । उ भट्याई रही । उसको मायालु आवाज सुनिरहे । फोन राख्नै लाग्दा उसले भनी ” तेरो निधार रङ्ग्याउन कहिले पाउछु बाबु ? ”

मैले भन्दिए ” यो वर्ष पनि फोटामै टीका लाईदेउ दिदी । अर्को वर्ष समयले साथ दिए आउनेछु । ”

मैले अरू केही भन्न सकेन अनि फोन काटे ।

नजिकै उभिएको फोरम्यानले रिसाउदै भन्यो ” तेरा कम्प्लेन अरबाप के साथ करुङ्गा । ”

मलाई पनि रिस उठेको थियो , रिसाउदै भन्दिए ” हम बाप से नहि डर्ते , अरबाप से कौन डरेगा बे गाण्डु ? ”

भिजेका आँखा पुछेर फेरि काममा जोतिए , सोच्दै थिए सायद चिल्ला रोटी खादै मादलको तालमा गाउँ घरमा भैलो खेल्दै होलान् , म चैँ यता खुसी किन्न पसिना बेच्दैछु ।

(यस हिमाल पोस्ट डटकमबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘हिमाल पोस्ट डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकोले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, विना अनुमति हाम्रा सामग्री प्रयोग गरेमा विद्युतिय ऐन अन्र्तगत कानुनी दायरामा जान हामी बाध्य हुने छौ ।)