कोरोना त्रास र कलंकबारे - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

कोरोना त्रास र कलंकबारे



–डिकेन्द्र ढकाल (समाजशास्त्री)/प्रा. डा. माधव भट्ट (जनस्वास्थ्य विज्ञ)

कोरोना टेस्टमा पोजिटिभ देखिएकोले आइसोलेशन (एकान्त)मा बस्न परेर अस्पताल वा स्वास्थ्य केन्द्रमा बसेर फर्केकाहरुले समाजलाई दिने एउटा महत्वपूर्ण संदेश भनेको कोरोना संक्रमणबारे आमजनमानसमा रहेको गलत धारणा, यसबारे मानिसले लगाउने कलंक वा लान्छना र अनावश्यक त्रास हटाउनका लागि आफ्ना अनुभव र सही जानकारी सुनाउने हो। यी व्यक्तिले कोरोना भाइरसको संक्रमण, कोभिड १९ रोग र रोग लाग्ने वा सर्ने प्रक्रियाबारे अरुलाई बुझाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछन्। यी व्यक्तिले यो नयाँ संक्रमण र रोगबारे अहिले विद्यमान रहेको अमानवीय व्यवहारलाई मानवीयकरण गरिदिन सक्छन्।

संक्रमण र रोगबारे मानवीयकरण गर्नु भनेको कुनै पनि व्यक्तिलाई संक्रमण हुँदा वा रोग लाग्दा त्यो व्यक्तिलाई अर्को व्यक्ति र समाजले मानवलाई जस्तै उचित व्यवहार गर्नु भनेको हो। रोग लागेको व्यक्तिलाई अछुत व्यवहार गर्नु, कुरा काट्नु, रोग सार्ने सम्भावना भएको भनेर चिनाउनु भनेको उक्त व्यक्तिलाई मानवसरह व्यवहार नगरेर अमानव ठान्नु हो। यो मानव सभ्यताविरुद्धको क्रुर कार्य हो। संक्रमित व्यक्ति र अन्य व्यक्तिलाई सही सूचना र जानकारी भएमा रोग सर्नबाट बचाउन सकिन्छ। एउटा पक्ष सुरक्षित हुने निउँमा अर्को पक्षलाई कलंकित पार्दा दुबै पक्ष वास्तवमा सुरक्षित भएको हुँदैनन्। मानवले मानवलाई मानवसरह व्यवहार गर्नु पर्दछ। अनि मात्र सभ्य र सबैका लागि सुरक्षित संसार निर्माण हुन्छ भन्ने बुझाइ नै मानवमा हुने संक्रमण र रोगबारे गरिनुपर्ने मानवीयकरण हो। मानवीयकरणले व्यक्तिमा लाग्ने कलंक हटाउन मद्दत पु-याउन सक्दछ। यसका लागि समाजमा चेतना ल्याउन संक्रमणमुक्त भएका व्यक्तिले आफ्ना कथा सुनाउन सक्दछन् जो कहिल्यै पनि कोभिड १९ रोग नलागेका पनि हुन सक्दछन्। उनीहरुको कथाको महत्वपूर्ण पक्ष के हुन सक्दछ भने कोरोना भाइरसबाट संक्रमितमात्र भएकालाई पनि कोभिड रोग लागेको भन्ने “लेबल” लाग्दा उनीहरुलाई कस्तो लाग्यो, भाइरस संक्रमित हुनु भनेको के हो र साँच्चिकै कोरोना बिरामी पर्नु भनेको के हो भन्ने फरकबारे सबैले बुझ्न पाउँदछन्। सँगसँगै उनीहरुले अस्पतालको बसाइमा कस्तो व्यवहार र उपचार पाए र अझ कस्तो सुधार भए हुन्थ्यो भन्ने अनुभव पनि बाँड्न सक्दछन्।

कलंक वा लान्छना जनस्वास्थ्यको लागि एक गम्भीर धब्बा

कुनै पनि संक्रमण भएको वा रोग लागेको व्यक्तिलाई त्यसबारे कलंक वा लान्छना लगाउनु नैतिक रुपले निन्दनीय र कानुनी हिसाबले दण्डनीय कार्य हो। यस्ता कार्यले लान्छना लागेको व्यक्तिको भावनात्मक, मानसिक र शारीरिक स्वास्थ्यमा असर पर्दछ। जनस्वास्थ्यको दृष्टिकोणले लान्छना अझ झनै खराब किन पनि छ भने रोग लागेका मानिसहरु यही कलंकित भइने डरले लुक्ने, अरुलाई आफूलाई संक्रमण भएको थाहा नदिने गर्दछन् र उनीहरुले स्वास्थ्य सावधानी अपनाउँदैनन्। झट्ट हेर्दा समाजले यिनीहरुलाई दोषी देख्ला तर वास्तवमा उनीहरुलाई यस्तो रोग लुकाउने खालका व्यवहार गर्ने बनाउनमा कलंक लगाउने समाज दोषी छ। परिणाम स्वरूप यी रोगी पहिचान भएमा यिनलाई कलंक लगाउन सक्ने समाजका अन्य व्यक्तिलाई नै यो रोग सर्ने डर हुन्छ। यिनीहरुबाट रोग नफैलियोस् भनेर नै यिनीहरुलाई पहिचान गरेर अलग्गै सुरक्षित र उपलव्ध भएका औषधी उपचार गरेर राख्नु आवश्यक हुन्छ।

बिभिन्न रोग लागेकालाई समाजमा लान्छना लाग्नु र लगाइनु नयाँ कुरो होइन। दुर्भाग्यवस मानव इतिहासभरि नै रोग र रोगीबारे यस्ता अमानवीय काम भएको पाइन्छ। उदाहरणको लागि विगतमा कुष्टरोग, एड्स आदि रोगका संक्रमित र बिरामीलाई पनि दुर्व्यवहार भएको पाइएको थियो। हाम्रै समाजमा कुष्टरोग लागेकालाई वनमा लगेर छोडिदिने, गाउँमा बस्न नदिने अमानवीय काम भएका थिए। काठमाडौँ उपत्यका शासकहरुले रोगी परिवारलाई उपत्यका छोड्न लगाउने, उपत्यका प्रवेश गर्न नदिने आदि क्रुर र अमानवीय काम गरेको ताजा इतिहास हाम्रो सामु छ ।

वास्तवमा यस्ता लान्छना लगाउने काम रोगबारे सही सूचना र ज्ञानको अभावमा डर र चिन्ताले गर्दा उत्पन्न हुन्छ। रोग लाग्ने कारण, सर्ने तरिका र यसका असरहरु थाहा नहुँदा रोगबारे यस्ता अविवेकी अवधारणा बन्दछन्। कतिपय अवस्थामा अन्धविश्वासले रोग उपचार बारेमा गलत अभ्यास सुरु हुन्छ। यसैका कारण कुनै व्यक्ति, समुह वा समुदाय नै यसका सिकार बन्न पुग्दछन्। यस्तै लान्छना बोक्ने संक्रमण र रोगको सूचीमा नोभेल कोरिना भाइरस संक्रमण र यो संक्रमण पछि हुन सक्ने कोभिड १९ थपिन आएको छ।

नोभेल कोरिना भाइरस संक्रमण, कोभिड १९ र कलंक

खासमा कुरो के हो भने यो नोभेल कोरिना भाइरस, संक्रमण र कोभिड १९ बारे समुदाय स्तरमा सही सूचना कम र त्रास बढ्ता छ। अझ यसलाई महामारी भनेर परिभाषित गरिएको हुनाले झनै डरलाग्दो भएर स्थापित भयो। नयाँ भाइरस र यसले ल्याउने रोग भएकोले मुलुक भित्र सामान्य जनस्तरमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा पनि यसबारे अन्यौलता छायो। जस्तै, संसारभरिमा कयौँ मुलुकले सिमा बन्द गरेर आफ्नै नागरिकलाई घर फर्किन प्रवेश नदिँदा यो रोगबारे कठोर र अमानवीय कार्य पनि भयो। विश्वभरका अधिकांश मुलुकहरुले लिएका यस्ता क्रुर नीति, नियमबारे भविष्यमा जनस्वास्थ्यका लागि अपनाउनु पर्ने सजगताका लागि गम्भीर छलफल हुनै पर्दछ।

यस्ता आफ्नै देशका नागरिकलाई आफ्नै मुलुक फर्किन नदिनेसम्मका कठोर र दुर्भावनापूर्ण कार्यले कोभिड १९ बारे जनमानसमा अविवेकी एवं तर्कहीन त्रास र यसबारे अतिरन्जित भ्रम फैलाउने काम भयो। यसले गर्दा यो रोगका सम्भाव्य संक्रमित, संक्रमित र रोगीलाई कलंकित बनाउने काममा आगोमा थप घिउ थपियो। हाम्रै मुलुकका सिमानामा हाम्रा दाजुभाइ, दिदीबहिनी र दूधे बालबालिका भोकभोकै खुला आकासमुनि बस्नु परेको, रोजगारी गुमाएर भोकभोकै बस्नुपरेका मानिसहरु कयौँ दिन लगाएर देशकै एक ठाउँबाट अर्को ठाउँ हिँड्नु परेको र यसरी असाध्य दु:ख खेपेर गाउँमा पुग्दा गाउँलेले गाउँ प्रवेशमा रोक लगाएको, पुल भत्काएर, बाटो छेकेर, सडकमा तगारो र बार लगाएर आफ्नै गाउँर टोलकालाई आफ्नै घर भित्रिन नदिनु, काठमाडौँ सहरका सुविधा सम्पन्न ठूला कहलिएका अस्पतालले विरामीलाई अस्पतालमा नजाँच्नु, सिकिस्त बिरामीले भर्ना नपाउनु, सुत्केरीले सेवा नपाउनु, मर्नेले मलामी नपाउनु र एम्बुलेन्सले बिरामी नबोक्नु यो रोगले ल्याएका कलंकका केही थोरै उदाहरण मात्र हुन्।

यसरी कोरोना संक्रमण र कोभिड १९ रोगबारे सही सूचना र जानकारी दिन जिम्मेवार पक्षपूर्ण रुपमा असफल भएकै हो। परिणाम स्वरूप मानिसहरुमा अनावश्यक त्रास फैलियो र यसका सम्भावित संक्रमित, संक्रमित एवं रोगीहरुलाई घृणा गरिने, दुर्व्यवहार गर्ने काम भयो र मानिसहरुले मानवोचित व्यवहार पाएनन्। कतिपय ठाउँमा क्वारेन्टिनको नाममा यातना शिविर जस्ता संरचनामा राखीए। यतिसम्म भयो कि कतिपय अवस्थामा केही व्यक्तिहरु रोगलेभन्दा पनि समाजमा लगाइएको थुनछेकको कारणले उपचार, खाना, पानी र बास नपाएर मरे भने कति मानसिक बिरामी परे र कतिले डरले नै आत्महत्या सम्म गरे ।

यस प्रकारले नेपालमा मात्र होइन, कोभिड १९ बारे राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरमा सम्वन्धित जिम्मेवार पक्षबाट गम्भिर त्रुटी भएको छ। नयाँ रोग भएकोले यस रोगबारे लगातार उही एकरुपको सूचना र जानकारी प्रसार भएको पनि पाइएन। यो रोग कसरी सर्दछ र कसरी सर्दैन भन्नेबारे लामै समयसम्म भ्रमपूर्ण समाचार आइरहे। अझै आइरहेका छन्। कोरोनाबाहेक अरु रोगबाट पनि अझ धेरै मानिस दिनहुँ मरिरहेका छन् भन्ने थाहा नपाएका मानिसहरुले कोरोनाबाट हाल लाखौं संक्रमित भएको र हजारौँ मानिसहरु मरेको कुरा एक्कासि थाहा पाउँदा यो रोग झनै भयानक डरलाग्दो भयो। खासमा कोरोनाबाट भन्दा अरु रोगबाट बर्सेनी अझ धेरै मानिसहरु मरिरहेका छन्। खासमा के हो भने यो रोग लाग्न नदिन खोप बनेको छैन र उपचार पनि छैन। त्यसैले सम्पन मुलुकका सुविधासम्पन्न ठाउँमा बस्ने धनीहरु पनि यो रोग लाग्दा मर्न सक्ने सम्भावना भएकोले पनि यो रोगबाट विकसित ठानिएका मुलुकहरु पनि अताल्लिए र यसको असर पखाला लाग्दा पनि औसधी नपाएर मर्ने ठाउँका लागि पनि डरलाग्दो बन्यो। यसरी यसको परिणाम यति भयानक भयो कि यस रोगबारे “अमानवीय” अवधारणा नै विकास भयो। समाजमा मानिसले मानिसलाई गर्नु पर्ने मानवीय गुणसहितको चेत पनि गुमाएको पाइयो।

संक्रमित हुनु र रोग लाग्नु अर्थात् रोगी हुनु भनेको के हो?

कुनै पनि मानिस भाइरस वा अन्य किटाणुले संक्रमित हुन सक्दछ। तर संक्रमित हुने बित्तिकै सबैजना रोगी भइहाल्छन् भन्ने हुँदैन। मानिसमा कुनै अस्वस्थताका संकेत वा लक्षण देखिएपछि मात्र त्यो व्यक्ति ‘रोगी’ हुने हो। संक्रमण (इन्फेक्सन) को प्रभाव नपरेसम्म रोग लाग्दैन। अर्थात् व्यक्ति रोगी हुँदैन। शरीरमा भाइरसले प्रवेश गर्दैमा व्यक्तिलाई जोडदार प्रभाव पारेर रोग लगाउन सक्छ भन्ने हुँदैन। संक्रमण भनेको खासमा एउटा प्रक्रिया हो, जसमा भाइरस, ब्याक्टेरिया, जीवाणु आदिले मानिस वा जनावरको शरीरमा प्रवेश गरेर प्रजनन गरेर आफ्नो संख्या बढाइरहेको हुन्छ। यस्तो हुँदा प्रतिक्रिया स्वरूप हाम्रो शरीरले भाइरस वा जीवाणुसँग लड्न एन्टीबडी उत्पादन गर्न सुरु गर्दछ। यसरी एन्टीबडीले भाइरसलाई थप भाइरस बनाउन रोक्न सक्दो प्रयास गर्दछ। सजिलै रोक्न सक्यो भने उक्त व्यक्तिको शरीरमा कुनै पनि लक्षण देखा नपर्न सक्दछ तर जब घमासान लडाइँ चल्दछ शरीरमा तापक्रम बढ्ने, अंग दुख्ने खोकी लाग्ने, पखाला चल्ने, सरिर कमजोर हुने आदि लक्षण देखा पर्न सक्छ। यो अवस्था भनेको रोग लागेको लक्षण हो। हाम्रा शरीरका अंगलाई आक्रमण भएर क्षति पुग्न सुरु भएको अवस्था हो।

अहिले नोभेल कोरोना भाइरसले संक्रमण गर्दा लाग्न सक्ने रोग अर्थात् कोभिड १९ को परिभाषा र ‘उपचार’ अल्लि फरक छ। लक्षण नै नदेखिएका तर संक्रमण हुन सक्ने सम्भावना भएकालाई समेत परिक्षण गर्ने चलन छ । यसरी परिक्षण गर्दा कोरोना पोजिटिभ भएमा कोरोना संक्रमित भनेर आइसोलेसन (अस्पताल, उपचार केन्द्र वा घरमै एक्लै बस्ने ठाउँ)मा राख्ने प्रावधान छ। एउटा बुझ्नै पर्ने कुरा के हो भने कोरोना टेस्टमा पोजिटिभ देखिएका सबैमा कोभिड १९ रोगका लक्षण देखिएको हुँदैन। हाल कोभिड १९ को औषधी र खोप नभएकोले यी व्यक्तिले स्वास्थ्यका हिसाबले संवेदनशिल व्यक्तिलाई रोग सार्ने सम्भावना हुन सक्ने भएकोले यिनीहरुबाट अरुलाई रोग नसरोस् भनेर रोग नलागे पनि कोरोना टेस्टमा पोजिटिभ देखिएका सबैलाई सावधानीपूर्वक अरुसँग घुलमिल नभैकन एक्लै बस्न घरमा वा अस्पतालमा बस्न सचेत गरिएको हो। त्यसैले एकदमै महत्वपूर्ण र बुझ्नै पर्ने कुरो के हो भने संक्रमित हुँदैमा रोग लाग्ने होइन र रोग लाग्दैमा मृत्यु हुने झनै हुँदै होइन।

के कुरा चाहिँ सत्य हो भने खास खास स्थितिमा कोरोना भाइरस सजिलै सर्न सक्दछ र धेरै मानिसलाई संक्रमित बनाउन सक्दछ । तर भाइरसको प्रभाव सबैलाई बराबरी र एकै खाले हुँदैन। ८०% सम्म व्यक्तिलाई कुनै लक्षण नै देखा पर्दैन अथवा देखापरे पनि हल्का लक्षण हुन्छन् र यस्ता लक्षण लागेका व्यक्तिले चालै पनि नपाउन सक्छन्। यो भनेको भाइरस शरीरमा भए पनि रोग नलागेकै अवस्था हो। १५-२०% व्यक्तिमा भाइरस शरीरमा पसेको लक्षण देखिन्छन् र यिनै व्यक्ति कोभिडका बिरामी हुन्। र संक्रमित मध्ये ५ प्रतिशतलाई मात्र यो रोगले सिकिस्तै पार्ने सम्भावना हुने हो। यिनै सिकिस्तै परेका बिरामी पनि धेरै जसो सघन उपचार पाएमा निको हुन्छन् । मृत्युको खतरा त अरु गम्भीर दीर्घ रोगी र बुढेसकालको ओछ्यान च्यापिसकेकालाई हुने हो र हामीहरुले जोगाउन मेहनत गर्नु पर्ने थप माया गर्नुपर्ने यिनै समुहलाई हो। कुनै पनि रोगबारे के बुझ्नु पर्दछ भने जति बढी उमेर छ उति मृत्युको सम्भावना बढी हुन्छ जुन स्वभाविक हो।

गलत सूचना र तर्कहीन त्रास

कोभिड १९ बारे गलत सूचना र तर्कहीन त्रासले रोग नियन्त्रण र उपचारकै लागि हानी भैरहेको छ। एउटा गाउँ वा ठाउँमा एउटा कुनै मानिसलाई संक्रमण भएको छ वा बिरामी पर्ने बित्तिकै त्यो पूरा गाउँ संक्रमणको खतरामा पर्ने र त्यो गाउँमा बस्ने वा त्यहाँ जानेलाई खतरा हुने हुँदै होइन। यो अमानवीय कृत्य हो। यो सँगसँगै नेपालमा अर्को स्वास्थ्य सुरक्षासम्वन्धि गलत अवधारणा र अविवेकी तर्क पनि अघि सारिए: यो रोगसँग लड्न सकिने भनेर नेपालीमा विशेष क्षमता छ। यी सबै अवैज्ञानिक तर्कहीन अविवेकशिल प्रतिक्रिया हुन्। रोगप्रतिरोधात्मक जडिबुटी, योग, सकारात्मक सोच, पुग्दो आराम, पोषिलो खानपिन, उच्च मनोवल, विषादिरहित खानेकुरा र संक्रमणबाट जोगिने उपाय सबै रोगबाट बच्न र रोग लागिहाले पनि रोगलाई जित्न उपयोगी हुन्छन्। कोरोनालाई मात्र लागु हुने गरी प्रसार गर्दा समाजमा कुतत्वले “व्यापारी” फाइदा लुट्ने मौका पाउँछन्।

संचारका माध्यम रेडियो, टिभी पत्रिका र अनलाइन मिडियाको सही सूचना प्रसार गर्न महत्वपूर्ण भूमिका हुन्छ। कतिपय मिडियाले पनि सुझबुझ ढंगले काम गरेनन् र आसभन्दा त्रास फैलाउने काम गरे। असल उद्देश्यले स्थापित गरिएका संरचनाहरुमा जनस्वास्थ्यसम्वन्धि ज्ञान र व्यवस्थापकीय पक्ष अत्यन्त कमजोर रह्यो र ती सेवाहरुले अपेक्षित परिणाम दिन सकेनन्। खासमा मानवीय हिसाबले क्वारेन्टिन व्यवस्थापन नेपालमा लगभग असफल नै भयो। धेरैजसो संक्रमणको फैलावट र केही संक्रमितको मृत्यु क्वारेन्टिनमा भएका लापरवाही र अति कमजोर व्यवस्थापनले गर्दा नै भयो। यसका वास्तविक कथा र भोगाइ यी चरण गुजारेर अस्पतालबाट फर्किएकाले सुनाउनै पर्दछ। यसले कोभिड १९ रोगको सम्भावना र कोरोना भाइरसको सङ्क्रमणलाई मानवीयकरण गर्न धेरै मद्दत पु-याउँदछ।

अस्पतालबाट फर्किनेहरुले कोरोनालाई जितेर नै फर्केका हुन्?

खासमा मिडियाले कोरोनालाई जितेर आएका भनेर प्रसार गरेका मध्ये सबैजसोले कोरोनालाई जित्न नै परेको हुँदैन। अधिकांश संक्रमितलाई कोभिड १९ रोग नै लागेको हुँदैन। अथवा लडाइँ नै परेको हुँदैन, अनि के जित्नु ! रोग लागेर मृत्यु हुन सक्ने कै कुरा गर्ने हो भने १००० जनामा ६ जनाको मृत्यु हुन सक्ला । तथ्याङ्कको हिसाबले यो अरु रोगले मर्ने संख्याको तुलनामा अहिले निकै निकै सानो संख्या हो। यसो भन्दै गर्दा कोभिड १९ गम्भीर रोग हुँदै होइन भन्न खोजिएको होइन। कुनै पनि रोग र यसबाट हुने मृत्यु कुनै पनि समाजको लागि दु:खद घटना हो। तर यहाँ ध्यानाकर्षण गर्न खोजिएको कुरा के हो भने यसबारे व्याप्त तर्कहीन त्रास र यसबारे फैलिएको अफवाह नै अहिले रोग नियन्त्रण, उपचार र दिनचर्यालाई नै असहयोगी र बेकार भएको छ भने कतिपय अवस्थामा मृत्यु कै कारण बनेको छ।

अब कोभिड १९ आउँदा थुप्रै बर्षसम्म समाजमा यसरी नै रहने छ तर कतिपयले भने झैँ अब हामी कोरोना भाइरससँगसँगै बाँच्ने होइन। सँगै बाँच्ने हुँदै होइन।कोरोना भाइरसलाई टाढा र अलग्गै राखेर बाँच्ने हो। यसको लागि मास्क लगाउने, हात धुने, सरसफाइमा ध्यान पु-याउने र अनावश्यक रुपमा अरुसँग ननजिकिने नै हो।

अन्त्यमा
संक्रमित भएर अस्पतालको आइसोलेसनबाट घर फर्किनेहरुले समुदायलाई दिने सन्देश महत्वपूर्ण हुन्छ । विशेषत: उनीहरुले समुदायलाई बुझाउनु पर्ने भनेको कोरोना भाइरस संक्रमित हुनु र कोभिड १९ रोगी हुनु भनेको फरक कुरा हो भन्ने नै हो। कोरोना भाइरसबाट संक्रमित भएका सबै व्यक्तिलाई कोभिड १९ रोग लाग्दैन र कोभिडका रोगी नै हुँदैनन्, मृत्यु त टाढाको कुरा भयो!