कोरोना नियन्त्रण गर्न एड्सले सिकाएको पाठ « Himal Post | Online News Revolution
Logo

कोरोना नियन्त्रण गर्न एड्सले सिकाएको पाठ



डिकेन्द्र ढकाल, समाजशास्त्री

देशभित्रका केही तत्वले यतिबेला प्रधानमन्त्रीको कुर्ची ताकेका छन् । उता भाइभाइ घरझगडा गरेको समय पारेर हान्न पल्केको छिमेकीले पनि यही बेला छिर्की हानेको छ । यसरी सरकारमा बस्नेलाई यिनै असमयमा आइलागेका तत्वसँग जुध्नु पर्ने झन्झट आइलागेको छ । पछिल्ला ठिक ३० बर्षमा आ-आफ्नो सरकार भएको बेलामा भारतसँग के कति परिणाममुखी र स्वाभिमानी अडान लिइयो अरुले पनि ऐना हेरून् । प्रधानमन्त्री बन्न रहर लागेकाले चुनाव कुरून्, एक्लो शक्तिशाली अध्यक्ष बन्ने सपना देखेकाले महाधिवेशन कुरून् ।

कोरोना अहिलेको वास्तविक र समयले सुविधा नदिएको समस्या हो । तर नेपालमा महत्वपूर्ण मुद्दा सजिलै विषयान्तर भइदिन्छ । अहिलेलाई लड्ने कोरोनासँग नै हो । कोरोनाले कुनै दलको सदस्य भएकैले छुट दिँदैन । गुटलाई पनि चिन्दैन । त्यसैले अहिले कोरोनाको मुद्दा विषयान्तर गरिनु हुँदैन । हुँदै हुँदैन ।

मतलबी, स्वार्थी र स्वार्थपरायणहरुले सरकारलाई अल्मल्याउने, छक्याउने र आफ्नो दुनो सोझ्याउने गर्छन् नै । देशी हुन् वा विदेशी । राजनीति त जेमा पनि घुसाउन सकिन्छ । तर एउटा सत्य कुरो के हो भने कोरोनाको समस्या राजनीतिक नभएर वास्तविक र तत्काल प्रतिक्रिया दिनै पर्ने समस्या हो । समाजशास्त्रमा रुचि भएकोले समाजमा आइलाग्ने विषय र त्यसलाई व्यक्ति र समाजले कसरी प्रतिक्रिया जनाएको हुन्छ मलाई अध्ययन गर्न मन लाग्दछ । मेरो मेरो अब्जरभेसन र जन स्वास्थ्यविद्सँग भएका कन्भर्सेसन अनुसार नेपालमा कोरोनाको समस्या सुरु नै भएको छैन । यसलाई नियन्त्रण गर्न सरकारले सही समयमा सही कदम चालेको हो । तर अहिले सरकारले अपरिपक्व जनताको दवाव राजनीतिक खिचातानीले सिर्जेको विषयान्तर गर्ने निउँ आदिले संयमता र गम्भीरता गुमाउने संकेत देखाएइसकेको छ ।

जनसांख्यिकीय हिसाबले नेपालका अधिकांश ठाउँहरु घना बस्ती नभएको, त्यसै पनि सामाजिक दुरी कायम भइराख्ने प्रकृति रहेको, रहनसहन र संस्कार पनि घर बाहिरभन्दा परिवारमा नै रमाउने चलन भएको आदि कारणले गर्दा कारणबस अन्य देशबाट मुलुकभित्र भित्रिसकेको भाइरस लकडाउनले गर्दा थप महामारीको रुपमा फैलिन नपाएको पक्का हो । जनस्वास्थ्यविद् र एपीडिमिओलोजिस्टसँग यसबारे कुरा गर्दा उनीहरु एउटा धारणासँग सहमत छन् । त्यो हो ठूलो जनघनत्व भएको बस्तीमा यस प्रकारको रोग फैलियो भने महामारीको रुप लिन्छ र नियन्त्रण गर्न ज्यादै कठिन हुन्छ । केन्ट स्टेट युनिभर्सिटी अमेरिकाका एपीडिमिओलोजिस्ट प्रा.डा. माधव भट्ट भन्दछन्, “भाग्यबस नेपालमा यो भाइरस काठमाडौँ जस्तो अव्यवस्थित बाक्लो बस्ती र ठूलो जनसंख्या भएको ठाउँमा नभित्रिएकोले महामारीको रुप नलिएको हो । तर जब यो रोग यस्तो सहरमा भित्रिन्छ, नियन्त्रण गर्न हम्मे हम्मे हुन्छ र कम्तीमा यहाँको १-२ लाख मानिसमा पुग्न बेर लाग्दैन ।” यस्तै गरेर नेपालका अरु ठुला सहर पोखरा, बिराटनगर, बिरगन्ज, धरान, भरतपुर, जनकपुर, धनगढी, बुटवल, महेन्द्रनगर, हेटौडा, सुर्खेत र धनगढीमा पनि लागु हुन्छ । प्रदेशका राजधानीहरूमा फैलिए यो झनै भयानक हुन्छ किनभने यसबाट अरु जिल्लामा सजिलै फैलिन सक्छ ।

संयोगबस हाम्रो देशमा समुदायमा संक्रमण पुगेता पनि तुलनात्मक हिसाबले कम जनसंख्या भएको भेगमा पाइएको छ र संक्रमितहरु लक्डाउनकै बेला पत्ता लागेका छन् । नियन्त्रणको हिसाबले लक्डाउनमा संक्रमित भेटिनु र घनाबस्ती भएका सहरमा नपाइनु धेरै सुखद कुरो हो । त्यसैले हामीसँग अझै समय छ । सरकार र जनसमुदाय यसमा सचेत हुनै पर्दछ । अब सरकारले टेस्ट तिब्र पार्नै पर्छ र जहाँ भेटिन्छन् त्यहीँ नियन्त्रण गर्नै पर्छ । संक्रमित इलाकाबाट लामै समयसम्म संक्रमण नभएका ठाउँमा आउजाउ खोलिनु हुँदैन ।

नयाँ रोग भएकोले नै कोरोना महामारीबारे वैज्ञानिकहरुसँग पनि सिमित ज्ञान छ र थोरै कुराहरु सैद्धान्तिकीकरण भएका छन् । जस्तै, १०० जनामा ८० जना जतिमा लक्षण नै नदेखिकन यो रोग निको हुन्छ । तर यी लक्षण नहुनेहरुले पनि रोग सार्न सक्छन् । २० जना जतिलाई लक्षण देखिन सक्छ तर यिनीमध्ये पनि १५ देखि १८ जनालाई सामान्य औषधी उपचार वा स्वास्थ्य सजगताले पूरै निको हुन्छ । २ देखी ५ जनालाई अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ र यिनीहरुको मृत्यु पनि हुन सक्छ । यो सिद्धान्त अनुसार सोझो हिसाबले यो लेख लेख्दै गर्दा नेपालमा अहिलेसम्म १३४ जनामा यो रोग देखिई सकेकोले २ देखी ५ जनालाई भेन्टिलेटरमा राखेर उपचार गर्न परेको वा कसैको मृत्यु भएको हुनुपर्ने हो । तर कुरो यसो होइन । तथ्यांकशास्त्रको नियमले यो सिद्धान्त लागु गर्न नेपालमा यथेष्ट संख्या पुगेकै छैन । संक्रमित कम्तिमा ५ – १० हजार पुगेको बेलामा यो नियमको कुरा गर्न सकिएला ।

त्यसकारण अहिलेको घडीमा हामी निकै सावधान हुन आवश्यक छ । हामीसँग अझै समय छ । ठूला जनसंख्या भएका सहर र बस्तीमा अब झनै सावधानी अपनाउनु पर्दछ । किनभने हाम्रो जनसंख्यामा यो भित्रिसकेको छ र यसलाई फैलिनबाट जोगाउन बाहिरबाट थप व्यक्ति आउन दिनु हुँदैन र जहाँ छ त्यहाँ पूरा नियन्त्रण गरेर निमिट्यान्न पार्नैपर्छ ।

कोरोना भाइरसले ल्याउने रोग चिकित्साशास्त्रको मात्र कुरा नभएको र जनस्वास्थ्यको पनि विषय भएकोले सरकारमात्र सचेत भएर पुग्दैन । त्यसो त जनतालाई सजग बनाउने काम पनि सरकारको हो । तर जनता आफ्नो स्वास्थ्य जोगाउने कामप्रति बढी चनाखो हुनै पर्दछ ।

८०को दशकमा एउटा अर्को खाले भाइरस ‘एच्आइभी’को संक्रमणले लाग्ने रोग ‘एड्स’को पहिचान हुँदा यस्तै सन्त्रास थियो । अहिले ४० बर्षको समयमा हामी ‘एड्स’बारे राम्रै सचेत र सजग छौँ । हामी एड्ससँग डराउँदैनौं । यसबाट हामीले धेरै कुरा सिक्न सक्दछौँ । यस्ता रोगबाट बच्न चिकित्सकीय र गैरचिकित्सकीय दुवै विधि अति महत्वपूर्ण हुँदो रहेछ ।

कोभिड १९ बाट जोगिन एड्सबाट जोगिन जस्तै हामीले आफ्ना आनीबानी बदलेर सावधानी अपनाउन सक्दछौँ । जसरी एड्सबाट बच्न जथाभावी यौनसम्पर्क नगर्ने, एचआइभी संक्रमितको रगत नलिने, सुई तथा सिरिन्जको साझा प्रयोग नगर्ने, शंका लाग्ने पार्टनरसँग यौनसम्पर्क गर्दा कन्डमको प्रयोग गर्ने गरेर महामारीलाई लगभग पूरा नियन्त्रणमा राखिएको छ, त्यसरी नै कोभिड १९ बाट जोगिन अहिले स्वास्थ्यविद्हरुले सुझाएका तरिकाहरु जस्तै हात धुने, मास्क लगाउने, नाकमुखबाट निस्किने तरल पदार्थ जहाँतहीं नफाल्ने, हातले बढी छोइने सतह सधैँ निर्मलीकरण गर्ने र सामाजिक दुरी कायम राख्ने विधिलाई हामीले सधैंको लागि जारी राख्नैपर्छ । किनभने जसरी एड्सको भ्याक्सिन अझै पत्ता लागेको छैन र पूरै निको हुने औषधी पनि पत्ता लागेको छैन, त्यसरी नै कोभिड १९ को भ्याक्सिन र पूरै निको हुने औषधी पनि केही बर्ष अझै पत्ता नलाग्न सक्छ ।

त्यसकारण प्रभावकारी आनीबानीका माध्यमबाट रोगबाट जोगिन सावधानी अपनाउनु अब जनस्वास्थ्यको महत्वपूर्ण काम हो । कोभिड १९ रोग सर्ने माध्यम र बच्ने उपायबारे पनि एड्सविरुद्ध अपनाइएको जस्तै व्यापक स्वास्थ्य शिक्षा र जनचेतना प्रसार गर्न अति आवश्यक छ । जसरी एड्स रोग एड्स संक्रमित व्यक्तिको रगत र विर्यबाट सर्न सक्छ भनेर बुझाउँदा यो रोग महामारी हुनबाट नियन्त्रण भयो त्यसरी नै नोभेल कोरोना भाइरस (SARS-CoV-2) ले लाग्ने कोभिड १९ रोग संक्रमितको नाकमुखबाट निस्किने ससाना थोपा हाम्रा नाकमुखबाट भित्र छिर्दा लाग्न सक्छ; यी थोपा चुहिएर टाँसिएका सतहमा छुँदा लाग्न सक्छ आदि कुरा सबै जनसाधारणलाई बुझाउन आवश्यक छ । रोग लाग्ने कारण बुझे/बुझाएमा रोगबाट बच्ने विधि बुझाउन सजिलो हुन्छ । तथ्यहरुले के देखेका छन् भने एड्समा जस्तै संक्रमितव्यक्तिमा लक्षण देखिनुभन्दा पहिल्यै नोभेल कोरोना भाइरसका संक्रमितले पनि अरुलाई रोग सारिसकेका हुन्छन् । यस्तो अवस्थामा स्वास्थ्य चेतना र जनस्वास्थ्यको ठूलो भूमिका हुन्छ ।

दुःख लाग्दो कुरा, समाजशास्त्रको एउटा अब्जरभेसन छ: घरपरिवार, मेलापात, स्कुल, विद्यालय, बजार, कार्यालय, राजनीतिक दल, राष्ट्रिय र अन्तरराष्ट्रिय अखडाहरुमा जहाँसुकै होस्, निर्धो र कमजोरलाई हेप्ने, दबाउने, हिर्काउने र ढालिदिने गरिन्छ । अझ स्पष्ट भन्दा जहिले व्यक्ति वा संस्था कमजोर देखिन्छ त्यही बेला उसलाई हान्न आउने । यो नियम रोगलाई पनि लागु हुन्छ । हाम्रो शरीर कमजोर भएको बेला नोभेल कोरोना भाइरसले पनि सजिलै ढाल्न सक्दछ । त्यसो त कोभिड १९ भन्दा डरलाग्दा, धेरै जनालाई छिट्टै र सजिलै सर्ने धेरै रोग छन् । जस्तै दादुरा । तर आज ती रोगसँग डराउन नपरेको तिनीहरुको खोप र औषधी पत्ता लागेको हुनाले हो । नोभेल कोरोना भाइरसको अहिले खोप र औषधी छैन । खोप र औषधी पत्ता नलागुन्जेल सावधानी अपनाउनुको विकल्प छैन ।

पश्चिमी उपचार पद्धति बाहेक हाम्रो नेपाली समाजमा हामीसँग अर्को फाइदा छ आयुर्वेद । आयुर्वेदले रोगको रोकथाममा ठूलो जोड दिन्छ । आयुर्वेदले जीवनमा सही सोच, सही आहारविहार सही जीवनशैली र जडिबुटीहरूको प्रयोगमा ध्यान दिएर स्वास्थ्य सुरक्षालाई प्रोत्साहित गर्दछ । रोग लाग्नुभन्दा पहिल्यै रोकथाम गर्नु निश्चय पनि रोग लागेपछि उपचार गर्नुभन्दा उत्तम हुँदै हो । अहिले कोरोनाको प्रभावकारी औषधी उपचार नभएको बेला रोकथाम झनै महत्वपूर्ण भएकोले आयुर्वेदलाई पनि यो रोग नियन्त्रणका लागि जोडेर थप प्रचारप्रसार गर्नु अति आवश्यक छ । किनभने अहिले हाम्रो शरीरलाई बलियो बनाइ राख्न जरुरी छ र यसको लागि आयुर्वेदले सिकाएका विधि निकै प्रभावकारी छन् ।

१९७६ मा इबोला भाइरस पत्ता लगाएका वैज्ञानिक पिटर पिअट एच्आइभी एड्स र कोरोना भाइरस विशेषज्ञ पनि हुन् । उनी नै अहिले कोरोना भाइरसबाट संक्रमित भए र भर्खरै निको भएका छन् । रोचक कुरो के छ भने उनले आफै भनेका छन्, “सुरुमा टेस्ट गर्दा मलाई शंका लागे झैं टेस्ट पोजिटिभ देखियो, म निकै थलिएर र अस्पतालमा भर्ना हुन प-यो तर रोगले झनै गलाएको बेला फेरि टेस्ट गर्दा मेरो रिपोर्ट नेगेटिभ आयो । त्यसैले यो खास खालको छ, भाइरस देखिन्छ, हराउँछ तर यसको परिणाम हप्तौँ रहिरहन्छ।” वैज्ञानिक पिअटका अनुसार यसको भ्याक्सिन नै यसबाट उम्किने एकमात्र गतिलो उपाय हो तर यो सजिलो काम भने छैन । यसको अरबौं डोज उत्पादन गर्नु, उत्पादनको सवालमा ठूलो चुनौती हो । र सम्पूर्ण प्रयासको बावजुद यो पत्ता लगाउन नै सकिन्छ भनेर अहिल्यै ठोकुवा गर्न पनि सकिंदैन ।

त्यसैले फेरि दोहो-याऊँ, हामीसँग एड्स् नियन्त्रण गरेको गतिलो पाठ छ, अनुभव छ । आफ्ना व्यवहारमा परिवर्तन ल्याएर कोरोनालाई दबाइराखौँ । सरकारले पनि जनस्वास्थ्य र आयुर्वेदमा विशेष ध्यान पु-याओस् ।