देउवा किन संवेदनशील घडीमा दिल्ली गईरहन्छन् ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

देउवा किन संवेदनशील घडीमा दिल्ली गईरहन्छन् ?



दिल निसानी मगर

शेर बहादुर देउवा र भारतको सम्बन्ध जे सुकै भएपनि भारत र नेपाली कांग्रेसको सम्बन्ध ऐतिहासिक पृष्ठभूमिको आधारमा खडा छ । जसको व्या ख्या गरिरहन आवश्यक छैन, यो समयमा उपयुक्त छैन । तर सोहि पार्टिका नयाँ सभापति देउवा र दिल्लीको हिमचिमलाई लिएर अनेक थरिका टिका-टिप्पणी हुँदै आएका छन् ।

सामाजिक सञ्जाल होस् वा मिडिया नै किन नहोस्, देउवाले दिल्लीलाई दिएको प्राथामिकता तथा विभिन्न बाहनामा हुने उनको दिल्ली भ्रमणको सन्दर्भमा गरिने बहसहरु चाखलाग्दा देखिन्छन् ।

गत फागुनमा सम्पन्न कांग्रेसको १३ औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवाले त्यसको लगत्तै वैशाखमा ओली सरकारलाई ढाल्ने पहिलो असफल प्रयास गरेका थिए । दिल्लीबाट फर्केपछि अस्वभाविक रुपमा उनले प्रचण्डलाई ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन हौसाएका थिए ।

हौसिने स्वभाव भएका प्रचणडले आफू समेत सहभागी भएको ओली सरकारलाई समर्थन फिर्ता लिन सक्ने आशयको पत्र सार्वजनिक नै गरेका थिए । भलै बिचैमा सुईको पाएपछि केहि हप्ताको लागि प्रचण्ड ‘ब्याक’ हुन पुगे । ब्याक भएपछि सत्ता साझेदार एमाले र माओवादी केन्द्रको सम्बन्ध कुकुर बिरालोको जस्तै हुन पुग्यो ।

किनभने देउवाको रणनीति बुझेको एमाले झस्किसकेको थियो । राजनैतिक खेलाडी देउवालाई एमालेले धेरै पटक ब्यहोरेको छ । आलोपालोको रुपमा सत्ता सञ्चालन गर्ने गरि ओलीलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेको हो भन्ने प्रचण्डको आवाज बिस्तारै फितलो बन्दै थियो भने ओली साविकको भन्दा झन् उचालिदै थिए ।

भारतीयहरुसंग निकट सम्बन्ध छ भनिएका बिमलेन्द्र निधि शेर बहादुर देउवाको नजिकका विश्वासिला पात्र हुन् । ओली सरकार ढाल्नका लागि निधिको विशेष भूमिका थियो भन्ने थाहा पाएकै कारण एमालेका भिम रावल जस्ता नेताहरू सामुहिक बैठकमा झै-झगडा गर्न थाले । हातपात नै गर्न लागे भन्ने समाचारहरु बाहिर आयो ।

सत्तामा जानुको उन्मात र सत्ताबाट बाहिरिनु पर्दाको पिडा मात्र थिएन त्यो, नेपालको सत्ता परिवर्तनको लागि शक्ति केन्द्रको कति ठूलो भुमिका छ भन्ने कुराको बलियो उदाहरण थियो । आफ्नो सभापति देउवाले ओली सरकार ढाल्ने सन्दर्भमा अपरिपक्क कदम चालेको भन्दै उनको पार्ट भित्रै आलोचना भएको थियो । यद्दपि आलोचनाबाट आत्तिने मानिस हैनन् देउवा । उनलाई आलोचना सहने बानी परेको छ ।

पत्नीको उपचारका लागि दिल्ली पुगेका उनले महत्वपूर्ण राजनीतिक भेटवार्ताहरु सम्पन्न गरेर नेपाल फर्के लगत्तै नयाँ सरकार गठनको प्रयास थालेका थिए । जब कि उनी फर्केको २० दिन पुरा भएको थिएन । अन्तत: देउवाको यो टाइमिङ पनि गलत साबित भयो । तर उनलाई लाज लागेन । दोश्रो पटक ओली सरकार ढाल्न फेरि प्रयास गरे । जतिखेर एमाले माओवादीको सम्बन्ध टकरावको उच्च चरणमा थियो ।

देउवाकै कारण संगै सरकारमा भएर पनि सत्ता पक्ष र प्रति पक्ष जस्तो तर्क बितर्क हुन थालेको थियो । देउवालाई दाउ पर्यो । दोश्रो पटकको रणनीति देउवाको थियो वा थिएन तर ओली सरकार ढल्ने रणनीति देउवाको नै थियो । रणनीति कहाँ बन्यो, कस्ले बनायो त्यो यसै भन्न सकिन्न । प्रचण्डलाई प्रधानमन्त्री बनाउन देउवा सफल भए । देउवाका कारण दोश्रो पटक प्रधानमन्त्री बन्न पुगेका प्रचण्डलाई भारतका कारण बन्यो भन्नुका पछाडि केहि रहस्य त पक्कै होलान् ।

तर एमालेका तिनै जना नेतालाई प्रचण्डले प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेका थिए । लगभग, लगभग सकिएको माधव नेपालको राजनीति टिकाउने प्रचण्ड थिए । झलनाथ खनालको सरप्राईज एट्याक गरेर प्रचण्डले भारतलाई चुनौति पेश गरेका थिए । पछिल्लो समयमा पनि एमालेसंग नजिक भइ वाम एकतालाई अगाडि बढाउनको लागि ओलीलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरे प्रचण्डले । खसगरी मधेसी, जनजातीहरु मागलाई सम्वोधन गर्न प्रचण्ड सरकार आवश्यक थियो ।

देउवाको दिल्ली डौडाह

भारतको गोवामा आयोजना हुने एक सेमिनारमा भाग लिन यही कात्तिक १९ गते फेरि दिल्ली जाँदैछन्- देउवा । उनको पार्टी अधिवेशन हुनु भन्दा पहिले गए, अहिले लोकमानलाई महाअभियोग लगाउने बारेको संसदीय काम कारबाही पुरा हुन नपाउदै दिल्ली जाँदैछन् ।

बिगतमा पनि यस्ता धेरै संवेदनशील समयमा उनि दिल्ली डौडाह गएको कुरा कतै छिपेको छैन । दिल्ली गएको समयमा उच्चस्तरीय भेटवार्ता स्वभाविक हुनेभयो । काग्रेसको प्रतिनिधि गएर पनि हुन सक्ने इण्डिया फाउण्डेशनले आयोजना गर्न लागेको सेमिनारमा उनि आफै किन जान खोज्छन् ? त्यो रहस्यमय छ ।

प्रश्न उब्जिएको छ-“के उनि यो देशको सबैभन्दा ठुलो दलको प्रमुख नेता होइन”?

यतिबेला निलम्बित भईसकेका अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा संसदमा छलफल भईरहेको छ । छलफलले नतिजा हासिल गर्न बाँकि नै छ । प्रकृया सुरु मात्र भएको हो तर कारबाही गर्ने कि नगर्ने भन्ने बारेमा कांग्रेस अनिणिर्त छ ।

उसका सभासदहरु संसदमा बाघ जस्ता गर्जेका छन् तर नेताहरु चिर निद्रामा जस्तै चुपचाप छन् । लोकमानको सन्दर्भमा महत्वपुर्ण निर्णय लिने बेलामा देउवाको दिल्ली भ्रमण तय भएको छ । यस्लाई पुर्व निर्धारित कार्यक्रम भन्ने शब्दले मात्रै ढाकछोप गर्न सक्दैन । सबै कुरा बुझ पचाएर पनि देउवा दिल्ली जान छाडेका छैनन् मानौ कि दिल्ली मा देउवाको पुर्खौली घर छ ।

भारतीय उच्च नेतृत्वको चाहनामा देउवाको भ्रमण हुन लागेको स्रोतले जनाएको छ । नेपालको संविधान संशोधनमा चासो दिएको भारतले देउवालाई आमन्त्रण गर्नु अर्थपूर्ण छ । यतिखेर गम्भिर प्रश्न जन्मिन्छ- संवेदलशील समयमा किन देउवाले दिल्ली भ्रमण गरिरहन्छन् ?

लोकमान प्रकरणमा समेत देउवा फर्किएपछिमात्रै कांग्रेसले आफ्नो धारणा तय गर्ने हो भने सोहि पार्टीका संसद गगन थापाले भने जस्तै हामीको संग हारिरहेका छौ ? को संग पराजित भई रहेका छौ ? यसको जवाफ त केवल देउवाले दिन सक्छन् । इतिहासको कठघरामा देउवा नै उभिन सक्छन् ।

अघिल्लो पटकको देउवाको दिल्ली भ्रमणमा नेपालमा धर्म निरपेक्षता, हिन्दु राष्ट्र लगायतका विषयमा भैरहेको विरोध र विवादबारे भारतको विदेश मन्त्रि सुष्मा स्वराजले चासो राखेको कुरा खलासा भएको थियो । त्यसो त नेपालका हरेक नेतासंग भारतको तर्फबाट हुने छलफल आन्तरिक मामलाको सन्दर्भमा हुने गर्छ ।

गणतन्त्र आए पश्चात अब हरेक कुरा जनताले निर्णय गर्ने भनेको हो । तर नेताहरुको आत्मसमर्पणवादी चिन्तनका कारण हरेक कुरामा भारत हावी भैरहेको छ, खासगरि निर्णायक कुरामा । हामी हरेक पल हारिरहेका छौँ । स-सानो कुरा पनि हाम्रो हातमा छैन ।

नेपालको संविधान संसोधनको लागि भारतले अनेक दबाब दिएको छ । छिमेकी देशको हैसियतमा कतिपय साझा हितका बिषयहरुमा छलफल हुनु स्वभाविक भएपनि मौसम अनुसार दिल्ली गएको छ, केवल गएको छ । के यो स्वाभिमानी नेपालीको लागि सैह्य हुन सक्छ ? कतिन्जेल सहने हो चुपचाप ?

चेलिबेटिलाई बर्षमा १ पटक माइती घर गए हुने, शेर बहादुर देउवालाई चाँहि १० पटक दिल्ली जानुपर्ने । देशको संवेदनशीलता यिनलाई थाहा भएको भए त्यो नाथे ‘पूर्व निर्धारित कार्यक्रम’ स्थगित गर्थे होलान् ।

दिल्लीमा हुने उच्च स्तरिय भेटघाटमा के कुरा हुन्छ लाटागाँणालाई नि थाहा छ । उहि त हो, घुमाउरो शैलीमा धेरै हिन्दु भएको देशमा सबैले सबैको अपनत्व महसुस गर्ने गरी सविधान संसोधन होस् । रोटिबेटिको सम्बन्धलाई ख्याल होस् । सिमा सुरक्षाका कारण बिशेष सम्बन्ध हाम्रो । धार्मिक, भाषिक सम्बन्धको कुरा यस्तै । अनि यो पनि कि शान्ति र स्थायित्वको लागि, नेपालको विकासको बाटो खेल्न असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउ, बाइपास नगर ।

नेपालमा संविधान जारी गर्नका लागि अन्तिम प्रयासको बेलामा १५ दिनको अवधिमा नेपालका ३ जना पूर्व प्रधानमन्त्रीले भारतको राजनीतिक तीर्थयात्रा गरिसकेका थिए । अब त अपच भयो होला, लाज मान्लान् भन्यो फेरि नि जान्छन् । अब त हस्तक्षेप अति भयो, सुझबुझ पलायो होला हाम्रो नेतामा भन्यो फेरि पनि दिल्ली नै जान्छन् ।

त्यतिखेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको ५ दिने भ्रमण गरेर फर्किएको १५ दिन पनि नवित्दै देउवा दिल्ली गएका थिए । दिल्लीमा झलनाथ खनाल र क, ख, ग, घ, ङ को स्वास्थ्य परीक्षण कति पटक भयो होला त्यसको कुनै लेखाजोखा छैन ।र फेरि यहि कार्तिक १९ गते देउवा दिल्ली जाँदैछन् ।

source nepaliheadlines